Comments Add Comment

लकडाउनपछि निकुञ्ज क्षेत्रमा अवैध गतिविधि बढ्यो, ९० जना पक्राउ

चितवन राष्ट्रिय निकुञ्ज क्षेत्रमा गस्ती गरिरहेका नेपाली सेना

२३ चैत, चितवन । लकडाउन उल्लंघन गर्दै चितवन राष्ट्रिय निकुञ्ज र त्यसवरपर निषेधित गतिविधि गर्ने ९० जना पक्राउ परेका छन् ।

निकुञ्ज सुरक्षार्थ खटिएको बटुकदल गणले निकुञ्ज र त्यसवरपर निषेधित कार्य गर्नेहरुलाई नियन्त्रणमा लिएकाे हाे ।

पक्राउ पर्नेमा राप्ती नगरपालिका ६ बस्ने ५४ वर्षीय आइतराम राई (चतुरे) लगायत छन् । राई गैंडाको खाग तस्करी कसूरमा १० वर्ष कैद सजाय भुक्तान गरेका व्यक्ति हुन् ।

पक्राउ परेका सबैलाई निकुञ्ज प्रशासनमा बुझाइएको छ ।

निकुञ्जका प्रमुख संरक्षण अधिकृत नारायण रूपाखेतीले राज्यको ध्यान एकातिर मोडिएको बेला अपराधीहरूको ध्यान अपराधमा केन्द्रित देखिएको बताए ।

उनका अनुसार, निषेधित गतिविधि बढेपछि सतर्कता अपनाइएको छ । यही सतर्कताका कारण लकडाउनपछिको अवधिमा दैनिक मानिसहरू पक्राउ परिरहेको उनले जानकारी दिए ।

त्यसैगरी, नेपाली सेनाले पनि एरिया डोमिनेशन तथा शंकास्पद स्थानमा चेकिङ्ग गर्दै स्विप, सर्च, स्पेशल एण्टिपोचिङ्गलगायतका अपरेसनमा तीव्रता दिएको जनाएको छ । निकुञ्ज सुरक्षाको लागि ड्रोनको समेत अधिकतम प्रयोग गरेर निरन्तर निगरानी गरेको सेनाको भनाइ छ ।

साथै समुदायसँग सहकार्य गरी कोरोना भाइरसको संक्रमणबाट जोगिन के गर्ने भनेर सचेतनाका कामसमेत गरिरहेको बटुक दलले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment