Comments Add Comment

चीनद्वारा बेलायतलाई तीन सय भेन्टिलेटर सहयोग

२३ चैत, काठमाडौं । चीनले बेलायतलाई तीन सय भेन्टिलेटर सहयोग गरेको छ । कोरोना रोग (कोभिड–१९) विरुद्ध प्रताडित बनेको बेलायतले चीनबाट तीन सय भेन्टिलेटर आइपुगेको जानकारी दिएको छ ।

भेन्टिलेटर शनिबार बेलायत पुगेको छ । डेलीमेलका अनुसार बेलायतका विदेशमन्त्री डोमिनिक राबले सामाजिक सञ्जाल ट्वीटरमार्फत् चीनबाट खरिद गरिएका उक्त भेन्टिलेटरहरु आएको पुष्टि गरे ।

उनले आगामी सातासम्म उल्लेख्य मात्रामा भेन्टिलेटरहरु बेलायत आइसक्ने समेत जानकारी दिएका छन् । उनले उल्लेख्य मात्रामा मास्क र पीपीईजस्ता स्वास्थ्य सामग्री पनि आएको बताएका छन् ।

यसअघि बेलायतको नेशनल हेल्थ सर्भिसले बेलायतमा अबको केही दिनमा नै मुलुकमा भेन्टिलेटरको अभाव हुनसक्ने बताएको थियो । बेलायतमा कोरोना भाइरसको संक्रमण उत्कर्षमा पुग्दा ३० हजार भेन्टिलेटर आवश्यक पर्न सक्ने बताइएको छ ।

अहिले एनएचएससँग २१ हजार आठ सय २५ भेन्टिलेटर छ । पछिल्लो समय बेलायतमा भाइरसबाट मृत्यु हुनेको संख्या पनि बढिरहेको अवस्थामा स्वास्थ्य उपकरणको भने अभाव भएको समाचार सार्वजनिक भएको थियो ।

बीबीसीले उल्लेख गरे अनुसार बेलायतमा पीपीईको अभाव चुलिएपछि स्वास्थ्यकर्मीहरुले प्लाष्टिकको झोला प्रयोग गर्न थालेको बताएको थियो ।

बेलायतमा कोरोना भाइरसको कारण अहिलेसम्म चार हजार तीन सय २० जना मानिसको मृत्यु भइसकेको छ । साथै यसबाट संक्रमित हुनेको संख्या पनि ४२ हजार चार सय नाघेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment