Comments Add Comment

भैरहवामा सुरु भयो कोरोना भाइरसको परीक्षण

२३ चैत, बुटवल । रुपन्देहीको भैरहवामा स्थापना गरिएको प्रदेशस्तरीय प्रयोगशालामा कोरोना भाइरसको परीक्षण सुरु भएको छ ।  राष्ट्रिय गहुँबाली अनुसन्धान केन्द्रको बिउ बिजन कार्यालय भवनको माथिल्लो तलाका सातवटा कोठामा प्रयोगशाला स्थापना गरिएको हो ।

आइतबार दिउँसो मात्रै कोरोना जाँच गर्ने मुख्य उपकरण बायोसेफ्टी क्याबिनेटमा एयर सर्कुलेसनको सफल परीक्षण भएपछि सुरु भएको हो । प्रयोगशालाबाट एक घन्टामा एकजनाको नमूना परीक्षण गर्न सकिने छ ।

सुरुमा बायोसेफ्टी क्याबिनेटमा एअर सर्कुलेसनमा समस्या भएपछि लुम्बिनी प्रादेशिक अस्पतालबाट अर्को मेसिन ल्याएर परीक्षण गर्दा सफल भएको प्रदेश जनस्वास्थ्य प्रयोगशालाका निमित्त प्रमुख डा. राजेन्द्र गिरीले जानकारी दिए ।

‘केही घण्टा बायोसेफ्टी क्याबिनेटमा एअर सर्कुलेसन नभएर समसया भएको थियो,पछि बुटवलबाट अर्को ल्याएर राखेपछि क्वालिटि कन्ट्रोल (क्यूसी) सफल भयो,’ डा. गिरीले भने, ‘अब आज साँझदेखि नै कोरोना भाइरसको जाँच यहीँबाट हुन्छ ।’

कोरोना जाँचका लागि स्थापना गरिएको प्रयोगशालामा पोर्टेबल पीसीआर मेसिन संघीय सरकारले उपलब्ध गराएको हो । कोरोना जाँचका लागि रियलटाइम पीसीआर मेसिन मुख्य उपकरण हो ।

प्रयोगशालामा बाहिरी हावा समेत पस्न नसक्ने, प्रयोगशालामा कार्यरत प्राविधिकको पनि सुरक्षा र त्यहाँ प्रयोग गरिएका नमूनाहरु पनि हानिकारक तत्वबाट जोखिम नहुने प्रविधि बायोसेफ्टी लेबल समेत तयार भएको डा. गिरीले बताए ।

पीसीआर र किटसहितको सामग्री चैत २० गते आए पनि मेसिन जडान लगायतका सबै काम आइतबार आज मात्रै सकिएको हो । कोरोना जांचका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंका माईक्रोबायोलोजिष्ट बिष्णु रायमाझी, रामबहादुर खड्का र खेमध्वज बस्नेतको टोली आएको छ ।

संघबाट उनीहरु तीनजनालाई तीन महिनाका लागि काम गर्न पठाइएकोमा सामाजिक विकास मन्त्रालयले खड्का र कार्कीलाई एक हप्तासम्म सम्पर्क नै नगरी चैत २२ गते प्रयोगशालाका लागि ५ जना जनशक्तिको लागि आवेदन माग गरेको छ ।

२०७७ असार मसान्तसम्मका लागि करार सेवामा काम गर्ने गरी निवेदन आव्हान गरिएको प्रति खड्का र कार्कीले आश्चर्य प्रकट गरेका छन् । ‘खोइ के चलखेल हो,हामीलाई पत्र पनि दिइएको छैन, काम गर्न बोलाइएको पनि छैन,’ खड्काले भने, ‘हामीले कुरा बुझ्न सककेा छैनौं ।’ दुईजनालाई आइतबार मात्रै सल्लाह गर्न बोलाइएको थियो ।

यहाँ प्रयोगशाला नहुँदा स्वाबहरु संकलन गरी काठमाडौं पठाउनुपर्ने वाध्यता थियो । दैनिक ५-६ वटा स्वाब संकलन हुने गरेको डा. गिरीले बताए । यो बाहेक प्रदेश ५ सरकारले दाङ र नेपालगन्जमा पनि प्रयोगशाला स्थापना गर्दैछ । तर त्यहाँ भने संचालनमा आउन केही दिन लाग्ने छ ।

रुपन्देहीमा प्रयोगशाला स्थापना भएपछि रुपन्देहीसँगै कपिलवस्तु, पश्चिम नवलपरासी, पाल्पा, अर्घाखाँची र गुल्मी जिल्लाका कोरोना शंकास्पद बिरामीको स्वाब परीक्षण र रिपोर्ट छिटो आइ उपचार सहज हुने अपेक्षा गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment