Comments Add Comment

रोग प्रतिरोधी क्षमता बढाउने भन्दै जर्मनीका मेयरले आफैंलाई लगाए कोरोना

अहिले कोरोना भाइरस भन्नेबित्तिकै सबै डराउनुपर्ने अवस्था आएको छ । कोरोना भाइरसबाट बच्नका लागि मानिसहरूले अनेकखालका सावधानीहरू अपनाइरहेका छन् मानिसहरू । तर यो दुनियाँमा एकजना यस्ता मानिस पनि छन्, जसले आफ्नो शरीरको रोग प्रतिरोधी क्षमता बढाउने भन्दै आफैंलाई कोरोना भाइरसबाट संक्रमित बनाएका छन् ।

जर्मनीको बर्लिन सहरका मेयर स्टिफन भान डसेलले गत बुधबार सञ्चारमाध्यममा दिएको अन्तर्वार्ताका क्रममा यस्तो खुलासा गरेका हुन् ।

उनले भने, ‘म कोरोना भाइरसबाट संक्रमित भएको थिएँ ।’

त्यसपछि प्रश्नकर्ताले निकै अचम्म मान्दै उनलाई संक्रमण कसरी हुनपुग्यो भनेर सोधे । त्यसपछि ती मेयरले जे जवाफ दिए, त्यसले सबैलाई तीनछक बनायो ।

मेयरका अनुसार, जब उनकी श्रीमतीलाई कोरोना भाइरस संक्रमण भयो तब आफूलाई पनि रोग सर्छ भन्ने उनलाई लाग्न थाल्यो । तर रोग कहिले सर्ने हो भनेर डराउँदै बस्नुभन्दा आफैंले आफैंलाई संक्रमित बनाएर रोगविरुद्धको प्रतिरोधी क्षमता बढाउनु ठीक होला भन्ने उनलाई लाग्यो । त्यसपछि उनी जानीजानी पत्नीसँग नजिकिए र आफूलाई कोरोना भाइरसबाट संक्रमित बनाए ।

तर कोरोना भाइरस संक्रमणपछिको अवस्थाचाहिँ दर्दनाक रहेको उनी बताउँछन् ।

बर्लिन मित्ते जिल्लाका मेयर भान डसेलले स्थानीय आरबीबी रेडियोसँगको अन्तर्वार्तामा भनेका छन्, ‘मैले आफ्नो रोग प्रतिरोधी प्रणालीलाई मजबुत पार्नका लागि जानीजानी यो रोगबाट संक्रमित भएँ । मलाई पहिले त लाग्यो कि ३ दिनमै ठीक हुन्छु । तर रोग भन्ने कुरा जो कोहीको कल्पनाभन्दा परको कुरा हुन्छ । यो रोग यतिधेरै खतरनाक होला भन्ने मैले कल्पना पनि गरेको थिइनँ ।’

आफ्नो गल्ती महसुस गर्दै उनले भनेका छन्, ‘विश्वका सबै मेडिकल विज्ञ तथा डाक्टरहरूले कोरोना भाइरसका विषयमा दिएका सल्लाहहरू पालना गर्नुहोस् ।’

ती मेयरले आफू कोरोनाबाट बिरामी भएसँगै आफ्नो ट्विटर हण्डिलबाट एक ट्विट गर्दै आफ्नी पत्नीलाई कोरोना भाइरसको संक्रमण देखिएका कारण आफू पनि होम क्वारेन्टाइनमा बसेको बताएका थिए । तर आफू नै बिरामी परेको भन्ने कुरा त्यतिबेला लुकाएकोमा उनले अहिले माफी मागेका छन् ।

अन्ततः ती मेयरले कोरोनाविरुद्धको संघर्षमा जित हात पारे र पत्नीसहित नै निको भएका छन् । आफू अहिले स्वस्थ हुनुका साथै बढी जिम्मेवार पनि बनेको उनले बताएका छन् ।
एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment