Comments Add Comment

बस्तीमा छिरेको कोरोना र ‘कन्ट्याक ट्रेसिङ’

विश्व कोरोना भाइरस (कोभिड–१९) भाइरसको आतंकले आक्रान्त भएको अवस्था छ । अहिलेको अवस्थामा हाम्रो पहिलो प्राथमिकता भनेको रोगलाई देश, क्षेत्र र समुदायका बस्तीमा छिर्न नै नदिनु हो । छिरेको खण्डमा दोस्रो प्रयास कन्ट्याक ट्रेसिङको माध्यमबाट यसलाई नियन्त्रणमा राख्ने प्रयास गर्नुपर्छ । यसले महामारीको रुप लिनुभन्दा पहिले नै सामाजिक दुरी, आइसोलेशन, क्वारेन्टाइनको माध्यमसमेत अपनाउन सकिन्छ ।

कन्ट्याक ट्रेसिङ्गका बारेमा हामीलाई थाहा हुनु जरुरी छ ।

कुनै पनि गम्भीर प्रवृत्तिका रोग महामारीको रुप लिने सामथ्र्य राख्दछ । त्यसले सो रोगको उत्पत्ति र त्यसको सम्भाव्य असरप्रति पहिले नै जानकारी लिनुपर्छ । यसका साथै यो रोग कहाँबाट कसरी फैलियो जान्नुसमेत जरुरी हुन्छ ।

संक्रमित व्यक्तिको संक्रमण स्रोत पहिचान गरेर सो व्यक्तिको सम्पर्क तथा व्यवहारलाई पूरा रुपमा अध्ययन गरेर थप सम्भाव्य संक्रमितलाई चाँडोभन्दा चाँडो पहिचान गरेर उपचार गर्दै अन्य क्षेत्रमा थप संक्रमण फैलिन नदिने प्रक्रिया नै कन्ट्याक ट्रेसिङ्ग हो ।

प्रारम्भिक परिवेशमा गहन खोज गर्न सकिएको खण्डमा यो नै महामारी रोक्ने सबैभन्दा बलियो उपाय हो । तर, यो प्रक्रिया जटिल हुनुका साथै आर्थिक तथा मानव स्रोतको रुपमा अत्यन्तै खर्चिलो हुन्छ ।

जसरी संक्रमित व्यक्तिको संख्या थपिँदै जान्छ यो प्रक्रिया जटिल बन्नुका साथै असम्भव प्रायः बन्दै जान्छ । पहिलो बिरामीको पहिचान भएलगत्तै सो व्यक्तिको सम्पर्क कोसँग भयो ? सो व्यक्तिको यात्रा कहाँ–कहाँ भयो अनि ती स्थानमा रोग सर्ने सम्भावना रहेको समयमा अरु को–को पुगे भनेर पहिल्याउने काम गरेर ती सम्भावित संक्रमितलाई संक्रमण फैल्याउने स्थितिमा पुग्नु अगाडि नै रोक्न सक्नुपर्छ।

समय बित्दैजाँदा यी दोस्रो तहका संक्रमित व्यक्तिहरुको समेत यही प्रक्रियाले पहिचान गर्नुपर्नेहुन्छ । समय गुज्रिँदै जाँदा यो प्रक्रिया असम्भव र महामारी रोक्न औचित्यहीन बन्न पुग्छ । किनकि त्यतिबेलासम्म महामारीले जरा गाडिसकेको हुन्छ । कोरोनाको संक्रमण भएको खण्डमा भने उपचार गर्ने वा निवारण गर्ने उपाय नभएको हुँदा आइसोलेसन क्वारेन्टाइन वा गम्भीर परिवेश मा अस्पताल भर्ना गर्नपर्ने हुन्छ ।

जब त्यो उपाएले समेत काम गर्दैन । त्यसपछि आइसोलेसन, क्वारेन्टाइनका साथ–साथै उपचारका विभिन्न उपायहरु समेत अवलम्बन गर्नुपर्ने हुन्छ । साथसाथै स्वास्थ्य चेतना फैलाउने, सुरक्षित व्यवहार गर्ने, स्वास्थ्यकर्मीहरुको संख्या बढाउने, स्वास्थ्य सेवाको क्षमता तथा तालिम बढाउने, परीक्षणलाई जति सक्यो त्यति धेरै ठाउँमा विस्तार गर्ने र नयाँ–नयाँ उपचार पद्दति तथा वैज्ञानिक अनुसन्धानहरु तत्काल लागू गर्न हरपल सजग रहने कार्य गर्नुपनि उत्तिकै जरुरी हुन आउँछ ।

सरकारको भूमिका

अहिलेको समय हाम्रो लागि अत्यन्त संवेदनशील घडी भएकोले पनि नेपाल सरकारले यसमा पूर्ण रुपमा केन्द्रित हुनु अति–आवश्यक छ । यो अवस्थामा देशको धेरैभन्दा धेरै बजेट कोरोना विरुद्दको लडाइँमा लगाउन जरुरी छ ।

संघीय सरकारले प्रदेश सरकार र स्थानीय सरकारलाई अत्यन्त महत्वका साथ प्राथमिकतामा राखी कोरोना भाइरसविरुद्ध सशक्त, आक्रामक र प्रभावकारी कार्यान्वयनमा जानुपर्छ । साथै, सरकारले चालेका सकारात्मक कदमको समर्थन र विश्व स्वस्थ्य संगठनले दिएका सुझावहरु पालना गर्न जरुरी छ ।

नेपालको वर्तमान संरचनाअनुसार तीन तहका सरकार छन् । जसमा महत्वपूर्ण एवं अभिभावकत्वको जिम्मेवारी बोकेको संघीय सरकारको भूमिका पक्कै पनि सबैभन्दा बढी हुन्छ । संघीय सरकारले उपयुक्त समयमा सही निर्णय गर्नुसक्नु पनि एउटा महत्वपूर्ण जिम्मेवारी हो ।

अहिलेको यस आपतकालीन परिस्थितिमा संघीय सरकारले धेरै राम्रो कामहरु गरेर प्रशंसा पनि पाएको छ भने कोरोनाविरुद्धको लडाइँका लागि अतिआवश्यक सामग्रीहरुमा समयमा काम गर्न नसकेको कारण उत्तिकै आलोचित पनि हुनुपरेको छ ।

तीनवटै सरकारसँगको समन्वयमा पर्याप्त बजेट, स्वास्थ्य सेवा केन्द्रहरुका लागि अतिआवश्यक उपकरण तथा स्वास्थ्यकर्मीहरु, सुरक्षाकर्मी तथा अन्य प्रभावितहरुको लागि खटनपटनमा खटिने जोखिममा हुने व्यक्तिहरुको लागि व्यक्तिगत सुरक्षा सामाग्रीहरु, पर्र्याप्त दैनिक उपभोग्य वस्तुहरुको जोहो, लकडाउन सँगसँगै भारत लगायत अन्य देशहरुबाट हाम्रो देशमा प्रवेश गर्ने नाकामा नै क्वारेन्टाइमा राख्ने व्यवस्थाका साथै सो स्थानमा कोरोना परीक्षण गर्ने व्यवस्था मिलाउने, दुःखमा परेका दैनिक ज्याला मजदुरी गर्ने तथा लकडाउनका कारण अप्ठ्यारोमा परेका नागरिकका लागि उचित व्यवस्था मिलाउने लगायतका कार्यमा सरकारले विशेष ध्यान दिनु जरुरी छ ।

त्यसैगरी, संघीय सरकारले गरेका निर्णयहरु कार्यान्वयन गर्न लागिपर्नुका साथै आफूले पनि प्रदेश सरकारको तर्फबाट सम्बन्धित प्रदेशका लागि स्वास्थ्यकर्मीको सुरक्षालाई ध्यानमा राखेर आवश्यक निर्णयहरु लिने, महामारी रोकथाम तथा नियन्त्रणका लागि प्रदेशस्तरीय कार्ययोजना बनाउन, आवश्यक निर्देशिका बनाउन र एउटै साझा उद्देश्य लिएर अगाडि बढ्न जरुरी हुन्छ ।

प्रदेशका मुख्य–मुख्य नाकाहरुमा क्वारेन्टाइनको व्यवस्था, परीक्षणको व्यवस्था, प्रदेशका सबै सरोकारवालाहरु, विभिन्न मन्त्रालयहरु, विभिन्न संघसंस्थाहरु, सञ्चार जगत, जनप्रतिनिधिका बीचमा असल समन्वय, रोकथामका लागि जिल्ला स्तरीय विभिन्न सचेतनामूलक क्रियाकलापहरु गर्ने, सबै नागरिकको उपचार पाउने अधिकारको सुनिश्चतता, विपद व्यवस्थापन कार्यदल लगायत विभिन्न कार्यदलको परिचालन लगायतका कार्यहरुमा प्रदेश सकारको भूमिका रहन्छ ।

त्यसैगरी, जनतालाई प्रत्यक्ष अनुभूति हुनेगरी सेवा दिने कार्यार्थ परिकल्पना गरी स्थापना भएको स्थानीय सरकारले पनि आ–आफ्नो ठाउँबाट जनतालाई प्रत्यक्ष रुपमा लाभ तथा राहत हुने खालका गतिविधिहरु गर्नुपर्ने भूमिका अहिलेको अवस्था हो ।

कोरोना भाइरसविरुद्धको लडाइँमा महामारी रोकथाम तथा नियन्त्रणमा विभिन्न जनचेतनामूलक क्रियाकलापहरु गर्ने, महामारी फैलिन नदिनका लागि क्वारेन्टाइनको प्रभावकारी व्यवस्थापन तथा अनुगमन गर्ने कार्य महत्वपूर्ण हुन जान्छ ।

नागरिकको जिम्मेवारी

कोरोना भाइरसले हाम्रो आर्थिक, सामाजिक, सांस्कृतिक क्षेत्रमा विविध नकरात्मक प्रभाव पार्ने निश्चित छ । केही हदसम्म परिसकेको छ । त्यसैले कोरोनाको रोकथाम र यसले पार्ने प्रभावलाई न्यूनीकरण गर्न हाम्रा सबै निकायहरु, निजी क्षेत्र, तिनमा कार्यरत कर्मचारी र सबै सचेत नागरिकहरुले आ–आफ्नो सामाजिक उत्तरदायित्व गम्भीरतापूर्वक पालना गर्नुपर्ने देखिन्छ ।

संकटको यस्तो घडीमा केही व्यक्ति तथा संस्थाहरु भने असामाजिक र गैरजिम्मेवार कार्यहरु गर्दैछन । विभिन्न मिडिया तथा सामाजिक सञ्जालमा कोरोना भाइरस सम्बन्धी विभिन्न अफवाह तथा भ्रामक हल्लाहरु फैलाउने समय होइन ।

अपुष्ट समाचारहरु फैलाएर मानिसलाई आतंकित गर्ने समय पनि होइन । यो कालोबजारी गर्ने, सामानको स्टक लुकाउने वा थुपारेर राख्ने समय पनि होइन । चीनमा कोरोना भाइरस प्रभावित क्षेत्रका जनताले लकडाउनलाई आफ्नो सामाजिक उत्तरदायित्वका रुपमा लिँदै त्यसलाई निर्ममतापूर्वक पालना गरे भने इटालीका कोरोना भाइरस प्रभावित क्षेत्रका जनताले गैरजिम्मेवार हुँदै पर्याप्त सावधानी अपनाउनतिर लागेनन् ।

त्यसैले चीनमा यो नियन्त्रणमा आयो भने इटाली यसको चरम चपेटामा प‍र्‍यो । त्यसैले यो संकटको घडीमा हामीले जिम्मेवारीपूर्ण सामाजिक व्यवहार देखाउने कि नदेखाउने भन्ने कुराले नै हाम्रो भावी दिशा र दशा दर्साउने निश्चित छ ।

हामीलाई थाहा छ, हाम्रो राज्यको क्षमता । हाम्रा स्वास्थ्य जनशक्ति, स्वास्थ्य सामग्री, स्वास्थ्य पूर्वाधार तथा साधन स्रोतहरु सबै सीमित छन् । विकसित देशहरुले त कोरोना भाइरसविरुद्ध लड्न सकिरहेका छैनन् भने हाम्रोमा यो भाइरस फैलियो भने यति सीमित स्रोत साधनले केही पनि गर्न सक्ने छैनौं ।

तर पनि सामाजिक एकता र सामाजिक दायित्व बोधमा यस्तो शक्ति हुन्छ । जसले ठूलो संकटको घडीसँग लड्ने अभूतपूर्व सामथ्र्य दिन्छ । तसर्थ, सरकार र सरोकारवालाहरुले भनेका साना ठूला सबै कुराहरु दृढतापूर्वक पालना गरौं । त्यसैमा हामी सबैको हित छ । यो नै कोरोना भाइरसविरुद्ध लड्ने हामीसँग उपलब्ध एउटै मात्र भरपर्दो हतियार हो ।

अन्त्यमा, आउनुस् हामी सबै मिलेर यो महामारीविरुद्धको लडाइँमा एकमत भएर लडाइँ गरौं हाम्रो जीत निश्चित छ । अस्वस्थ बानी हटाएर जोखिम कम गरी स्वस्थ्यवर्धक खानपिन र शारीरिक व्यायाममा ध्यान दिने असल नागरिकको हैसियतले आ–आफ्नो ठाउँबाट जिम्मेवार भूमिका निभाएर लडौं । आफू पनि घरमै बसौं र अरुलाई पनि घरमै बस्न प्रेरित गरौँ ।

सुझावहरु

–वर्तमान अबस्थामा बिपन्न तथा दैनिक ज्याला मजदुरी गर्ने हरुको लागि राहत वितरण गर्न अल्मलिएको स्थानीय सरकारले तुरुन्तै वडा अध्यक्षको अगुवाइमा कार्यदल बनाएर सशक्त रुपमा परिचालन गर्न जरुरी छ ।

–भारत तथा अन्य मुलुकहरुको अवस्था, हाम्रो देशको क्षमतासँगै अहिलेसम्मका सबै जोखिम समूहहरुको नमुनाहरुको नतिजा हेरेर लकडाउन समय बढाउनु आवश्यक छ ।

–सरकारले विपन्न वर्गलाई तुरुन्त न्यूनतम एक महिनाको राहत प्रदान गरोस् र अन्य व्यवसायीहरुलाई राहत महसुस हुनेखालका प्याकेजहरु ल्याउनु जरुरी छ ।

–विभिन्न सीमामा अलपत्र परेका नागरिकहरु तथा देश भित्र एक ठाउँबाट अर्को ठाउँ जाने नागरिकहरुको उचित सावधानी अपनाएर उनीहरुको समस्या समाधान गर्नुपर्छ । उनीहरुलाई दुई हप्ता ‘क्वारेन्टाइन’ को शर्त र अनुगमनमा पठाउनु उपयुक्त हुन्छ।

–कोरोना भाइरस परीक्षणको दायारा बढाउने तथा समुदायमा व्यापक परीक्षण गरेर आइसोलेसन गर्न जरुरी छ ।

–खुल्ला सीमानाका कारण भारतसँग हामीले लकडाउनलाई समानान्तर रुपमा लैजानु पर्छ । यसमा हामी अधैर्य र अपरिपक्व हुनुहुँदैन ।

–हामीसँग अस्पतालमा साधनस्रोत, दक्ष जनशक्ति र लाइफ सपोर्ट प्रणाली पर्याप्त छैन । समयमै आवश्यक जोहोमा ध्यान दिनु जरुरी छ । साथै, व्यक्तिगत सुरक्षाका सामग्रीहरु लगायत गुणस्तरीय उपकरणको आपूर्ति गर्न जरुरी छ ।

–आवश्यक परेमा सबै निजी अस्पताललाई सरकारीकरण गर्ने ग्रहकार्य समयमै गर्न जरुरी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment