Comments Add Comment

के नेपाल इटाली र न्युयोर्कजस्तो हुनसक्छ ?

महामारीको रक्षक समुदाय नै थियो र हुनेछ

निश्चित थियो – हवाई नाका बन्द भएपछि तराईका सीमा मुख्यतः सुदूरपश्चिमका सीमाका करिडोरहरु नै भाइरस छिर्नसक्ने नाकाहरु रहेका थिए। तथापि यी क्षेत्रहरुबाट भाइरसवाहकलाई ओहोरदोहोर गर्न नदिन सर्वसाधारण सतर्क एवं जागा थिए र नेपाल भारत दुबै सरकारले सीमा बन्द गरेका थिए।

तर, मातृभूमिका काखमा भित्रिनेहरुले सीमा तोडेर कोही सुरक्षा दलको घेरा तोड्दै र कोही खोलामा डुबुल्की मार्दै नेपाल भित्रिए। जो, त्यस क्षेत्रका विभिन्न क्वारेन्टाइनस्थलहरुमा बसिरहेका छन्।

अब हेर्ने त्यहीँ हो। देखिँदैछ, समुदाय त्यहाँ आँखा झिमिक्क नगरी बसेको छ। सरकार पनि पुगेको रहेछ। किनकि अघिका संक्रमित पुष्टि संख्याहरु आफैँ अस्पताल पुगेका थिए। यसपटक सेनाहरुले परीक्षणका लागि स्वाब नमुना प्रयोगशालामा पुर्‍याएका छन्। लाग्छ, सरकार आफ्नो साधनस्रोतको उपलब्धताका आधारमा सेवा दिन बाध्य हुँदैछ र समुदाय आआफ्ना क्षेत्रमा भाइरसलाई पस्न नदिने तथा पसेकालाई दायाँबायाँ गर्न नदिने गरी जागा छ।

आयातितबाट एकाघरमा संक्रमण हुनसक्छ र भारतमा संक्रमितको बढ्दो संख्याले नेपालमा समस्या भित्रिन्छ। चैत्र २२ मा संख्या थपिनुका साथै स्थानीय संक्रमण देखिएको छ। अब हामीले हेर्नुछ, ती थप संख्याले हामीलाई के सन्देश दिएका छन्।

सुदूरपश्चिमका संक्रमितका पुष्टि संख्याका सन्देशहरु

नेपालमा संक्रमित पुष्टिको समाचार ब्रेक यसअघि प्रथम सगरमाथा आरोही बने जसरी ठूला गर्जनाका साथ हुने गरेका थिए। यसपटक चैत्र २२, २०७६ गते स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आफ्नो वेबसाइटमा राखेर सूचना दियो। त्यसले तीन नयाँ संक्रमितहरु जसमा दुई आयातित र एक स्थानीय संक्रमितहरु पत्ता लगाइएको जानकारी दियो। त्यसपछि चिकित्सा जगत अत्तालियो र भन्यो ‘अलिकति कमजोरी भए नेपाल न्यूयोर्क र इटाली बन्दैछ।’

के त्यस्तो हुन्छ ? यसको जवाफ नेपालको समुदायमा पसेर खोज्नुपर्ने हुन्छ।

अब न्युयोर्क र इटाली बनाउने गरी देखिएका संख्याहरुबीच तुलना गरौँ। त्यसले के सन्देश दिँदैछ ? (यहाँ विज्ञप्तिमा राखेको क्रमअनुसार संक्रमित पुष्टि संख्या ७, ८ र ९ राखिएको छ)

१. सबभन्दा पहिला संक्रमित पुष्टि संख्या नौ बारेको कुरा छोटकरीमा सक्छु। यो संख्या दुबईमा हुर्केको भाइरसबाट संक्रमित पुष्टि संख्या चारको स्थानीय संक्रमण हो। स्थानीय संख्याले महामारीको प्रवृत्तिलाई पहिलो चरणबाट दोस्रो चरणमा पुगेको बताउँछ।

यो शुभ संकेत होइन। तर, परिवारका अन्य सदस्य हालसम्म नेगेटिभ देखिनुले उनीबाट समुदायमा सरेको छैन जस्तो लाग्छ। यस (१) ले अब स्थानीय प्रजनन संख्या जसरी विस्तार हुननदिन सरकारको तादरुकतालाई बढाएको छ र समुदाय अझ जागा भएका छन्। (२) सरकारले हालसम्मका संक्रमितहरुबाट भएका हुनसक्ने क्षेत्रमा र संसर्गमा आएका व्यक्ति र भारतबाट प्रवेश गरेकाहरुको कैलालीलगायत कञ्चनपुर र बागलुङमा द्रूत–जाँच गर्ने भएको छ। यस्तो अवस्थामा स्थानीय संक्रमित संख्याले अर्को प्रजनन संख्या बढाउँदैन। यो तुहुन्छ, तुहुन्छ। यसले “धनगढी क्लस्टर” बन्न पाउँदैन।

२. संक्रमित संख्या सातबारे आश्चर्य कुरा छ। यो संख्या उत्तराञ्चलको चम्पावतमा चैत २ (मार्च १५) गते पुगेको थियो । त्यही दिन उत्तराखण्डमा पहिलो संक्रमित पुष्टि भएको थियो। त्यहाँको संक्रमित स्पेनमा हुर्केका भाइरसवाहक थियो । जो स्पेन, फिनल्याण्ड र रुसहुँदै फर्केका वनअधिकृतहरूमध्ये एक थियो (लाइभ मिन्ट मार्च १६)। यो आश्चर्यपूर्ण छ कि ४१ वर्षीय जवान चैत्र १३ (मार्च २६) मा फर्कने दिनमा उत्तराञ्चलमा जम्मा छ मात्र र भारतमा छ सय ३३ मामला सक्रिय थिए। (विकिपिडिया)। यहाँनेर उत्तराञ्चलमा खासगरी चम्पावत जिल्लामा संक्रमितहरु पहिचान भएका छैनन् कि शंका छ।

भारतको लकडाउनपछि नेपाल प्रवेश गरेका संख्या सात भाइरसबाहक क्वारेन्टाइन छल्न खोज्दै थिए। तर, सशस्त्र प्रहरीका १२ जवानले खतरा मोलेर पक्डे। क्वारेन्टाइन स्थल पुर्‍याएर टेस्ट नमुना लिए।

यसले भारतबाट प्रवेश गरेकाहरुको क्वारेन्टाइन स्थलमा सरकार र समुदायको निगरानी बढेको देखाउँछ। यसलाई नेपाल सरकारको साथै सुदूरपश्चिम सरकारको अनुक्रियाको सकृयतालाई दर्शाउँछ।

लकडाउन अवधिको दोस्रो तर महत्वपूर्ण कार्य सम्भावित संक्रमितको खोजपहिचान तथा निदान गर्नु हो । यसका लागि मुख्यतया हाल चालु रहेका भारतीय सीमा नाका खासगरी गड्डाचौकी र दार्चुला नाका तथा तिनीहरुका कोरिडर वरपरको मानवको चलायमानताका आधारमा सम्भावित संक्रमितहरुलाई खोज्नु हो

(३) संक्रमित पुष्टि संख्या ८ (जो मुम्बई सरहदको थाने र कल्याण नगरमा पानी ओसारपसार गर्ने ट्याङ्करमा काम गर्थे) को कथा अलिक भिन्न खालको छ। यिनले साउदी मूलको भारतीय सन्तान भाइरस बोकेर आइपुगे जस्तो लाग्छ। कल्याणमा २१ मार्चमा सबभन्दा पहिला दुबईबाट फर्केका एक युवकलाई देखिएको थियो (इन्डिया टुडे २१ मार्च)। थानेमा संक्रमित कसरी प्रसार भयो हालसम्म डिस्प्ले गरिएका वेबपेजमा देखिँदैनन्। यसैले यो दुबइको नाति भारतीय छोरा हो, अनुमान गर्न सकिन्छ, या के हो ? खोजौँ।

यी भाइरसवाहक सीमा प्रवेश गर्ने जुलुसमा १० जनाको हुलसहित थिए ! यिनका सहयात्रीहरुको अधिकांशको टेस्ट भइसकेको छ। अरु भागेकाहरुलाई पक्रन सुरक्षा दल सक्रिय छ।

यसरी हेर्दा नेपालमा विभिन्न मूलका कोरोनाभाइरस–२ हरू भित्रेका देखिन्छन्। त्यसमा चीन, फ्रान्स, बेल्जियम, दुबइका हवाइजहाज चढेर आए भने दुबइ र स्पेन मावली भएका भाइरसहरु भारतबाट थलमार्गबाट आइपुगेका छन्। हवाइजहाजबाट आएको एकले स्थानीय प्रजनन नै गरिसक्यो।

नेपाल विश्वका भाइरसहरु हुने भेट हुने थलो नै हुने हो कि? नडराउनुस् ! सामाजिक विज्ञानको दृष्टिबाट महामारीलाई हेर्दा र बुझ्दा अत्तालिहाल्नु पर्दैन ।

यो पनि पढ्नुहोस हामीले त नजरबन्द स्वीकार गर्‍यौं, सरकार के गर्नुहुन्छ ?

इटाली र न्युयोर्क हुँदैन

‘सामाजिक दुरी पालनामा अमेरिकाभन्दा नेपाल धेरै माथि’ (देश सञ्चार चैत्र २१) भएको गुगलले नै देखिसकेको छ। यसकारण अरु प्रमाण दिइरहनु नपर्ला। यो अहिलेमात्र दुनियाँले गौर गरी हेरेका हुन्। तर, हामी “सामाजिक दुरी” कायम गर्नमा अभ्यस्त नै थियौँ। हाल सजग भएकामात्र भएका हौँ।

इटाली विश्वको महान सभ्यता र संस्कारको प्रवाहक र अनेकन सभ्यताहरुको मार्ग हो। हामीले सुन्दै आएका हौँ। रोम एकदिनमा बनेको होइन। रोम शहरको सुरु कहाँ छ र कहाँ अन्त छ, त्यो थाहा पाइँदैन। त्यस्तै सन्नाटा नेपालमा हुने सञ्चार गरिँदैछ। तर, त्यस्तो हुँदैन। अहिले त्यो शोकमा छ। यसकारण त्यो सभ्यताको नाशसँग तुलना गरेर हामी उत्कृष्ट भन्न आत्माले मान्दैन तथापि केही विशेषताका कारण इटाली भूमरीमा पर्‍यो।

इटाली विश्व र युरोप यात्राको एक व्यस्त यात्रा मार्ग हो। ऐतिहासिक, धार्मिक, प्राकृतिक छटायुक्त पर्यटकीय केन्द्र हो। विश्व सम्पदा धेरै भएको र विश्वको पाँचौं पर्यटकीय केन्द्र हो। घनायुक्त सहरहरुका भिडभाड भइरहने व्यापारिक महल तथा बजार छन्। इटालियनहरु आलिङ्गनसहित आतिथ्य सत्कार गर्छन् र ज्यादै मन परेमा ‘किस” पनि साटासाट गर्छन्। आत्मीयताका साथ एकै प्लेटमा खानानास्ता गर्छन्। सुन्दरता प्रदर्शन गर्छन्। सडक व्यस्त भएपनि मास्क लगाएका मानिसहरु देखिँदैनन्।

भ्याटिकनको प्रभाव छ। हरेक आइतबारे प्रार्थनाका लागि अनुयायीहरु चर्चमा भेला हुन्छन्। पुँजीवादको केन्द्र हो। समुदाय कमजोर भइसकेको छ र कुनै पनि विपदको सामना व्यक्तिहरुले आफैँ गर्नुपर्छ। यातायात सुविधा छ र बहुयात्रीयुक्त रेल र बसहरुमा ओहोरदोहोर गर्ने गर्छन्।

मान्छेहरुलाई पुँजीवादले यन्त्रवत बनाइसकेको छ। जीवन भौतिक सुविधाले सुचारू छ। तर, मनमा सुख छैन। नागरिकहरु बेपर्वाह दिनचर्याका लागि भागदौड गर्छन्। मनका विरह र खुसी पोख्ने र सुनिदिने कसैलाई फुर्सद छैन। व्यक्ति–व्यक्तिबीच हुने सञ्चार छैन अनौपचारिक बात मारिँदैन। झन् यस्ता विपतमा रोइदिने र समस्याका बारे बुझाउने कोही हुँदैनन्।

माथिका कुरा बुझेपछि अब न्युयोर्कका बारेमा केही भनिरहनु पर्दैन। यो कुनै सभ्यताको उद्गमस्थल पनि होइन र संस्कार विकसित भएको स्थान पनि होइन। अझ यो धार्मिकरुपमा छरपष्ट भएको मुलुक तर त्यहाँ पनि आइतबारे प्रार्थना चाहीँ हुने गर्छ। विश्वका सबै अन्तर्राष्ट्रिय संस्थाका कार्यालय भएकाले अझ बढी भागदौड हुने केन्द्र हो– न्युयोर्क। न्यूयोर्क दुनियाको श्रम र पसिनाले ठडिएको शहर हो।

नेपाल गरिब मुलुक हो। यसले चिल्ला सडक र मोटर देख्न पाएको छैन। जनताले बल्ल हेर्दैछ र देख्दैछ विश्वको झिलिमिली। सुन्दैछ, त्यहाँका झिलिमिलीका कथाहरु आफ्ना छोराबुहारी नातिनातिनीहरुबाट, सामाजिक सञ्जालहरुका पर्दाबाट। त्यसो त पश्चिमी शिक्षा प्रणालीले पनि पश्चिम हेर्न सिकाएको छ। हामीले हिजो असल मात्र देख्यौँ आज उसैमा आएको विपद हामीमा आइपर्छ भनेर कहालीलाग्दाे अवस्थामा छौं। तर, त्यस्तो हुने छैन।

नेपाल गजबसँग बँच्दै थियो र बच्नेछ

नेपाल सरकार कोभिड–१९ प्रकोपकाविरुद्ध चुपचाप थियो। यो आफ्नै दलका प्रतिस्पर्धीहरुलाई सिध्याउन व्यस्त थियो। तर, प्रधानमन्त्री अस्पतालमा पुग्नपर्ने भयो। यसैबीच पुष २० गते (जनवरी ५) मा वुहानबाट ३२ वर्षीय एक युवा भाइरस बोकेर भित्रिएछन्। जसले करिब आठ दिनमा केही लक्षण देखिए पनि यसको पुष्टिका लागि उनले माघ १० (जनवरी २४) सम्म कुर्नुपर्‍यो। त्यो पनि हङकङ पठाएर। कोभिड–१९ को परीक्षणका लागि प्रयोगशाला र सेवा दिन वागमती कालमोचनघाट स्थित एक अस्पताल तयारी अवस्थामा नै थिएन।

नेपालमा यस्तो किन भयो जनतालाई सोध्ने अधिकार छ। तर, शासक दल र पटकपटक शासनमा पुगेका ठूलासाना दलहरुलाई कुनै नैतिक अधिकार छैन। यसमा स्वास्थ्य सेवासम्बद्ध विभिन्न पेशागत संस्थाहरु लगायत नेपाल चिकित्सक संघहरु समेत पर्छन्। चिकित्सा शिक्षा त यसका लागि पूर्ण जिम्मेवार नै हो। शिक्षाबारे नेपालमा मात्र होइन विश्वमा व्यापक छलफल हुनेछ।

यो वुहानबाट पसेको भाइरसको दस्तकलाई नेपाल सरकारले बेवास्ता नै गरेर बस्यो। तर, विश्व स्वास्थ्य संघले चीन थाइल्याण्ड र जापानका यात्रीहरुको स्क्रिनिङ्ग गर्न दिएको सुझावलाई सरकारले पुष १ (जनवरी १७) देखि लागू गर्‍यो।

संयोगले सरकारका हस्तक्षेपहरु नहुँदा नै पनि ४५ दिनसम्म नेपालमा भाइरस पसेको थाहा पाइएन। बरु विमानस्थलमा थर्मल गन राखेको भोलिपल्ट चैत्र ४ (मार्च १७) मा नै कतार एअरवेज हुँदै तीन भाइरसवाहकहरु प्रवेश गरिसकेको पत्तो नै पाइएन।

यसैबीच, विश्वको आहतसँगै भारत र नेपाल सरकारसमेत एकाएक जागा भए। भारतले चैत्र ९ मा त्यहाँ तीन सय ९६ जना संक्रमित पुष्टि हुँदा राष्ट्रव्यापी लकडाउन गर्‍यो। नेपालले चैत्र १० मा चीन र भारतबीचका स्थलमार्गहरु बन्द गर्‍यो। यसैदिन नेपालमा दोस्रो संक्रमित पुष्टि भयो। यसैदिन नेपाल सरकारले चैत्र ११ बाट कडा लकडाउन गर्ने घोषणा गर्‍यो भने कैलाली र अर्घाखाँची जिल्लाहरुले लकडाउन नै सुरु गरे।

यसबेलासम्म सरकारले केही मेडिकल हस्तक्षेप गर्ने चाँजो मिलाएको देखियो । मुख्यत: आवश्यक पर्नेहरुका लागि टेस्ट सुविधा।

स्वास्थ्य सेवाको संरचना र कर्ताहरुको भूमिका

स्वास्थ्य मन्त्रालयलाई “सुस्त” मन्त्रालय भन्छन् उत्साही चिकित्सकहरु। तर, यसबीचमा मृत नै भयो। मन्त्री नयाँ, सचिव उत्साही । तर, मेलो नपाइसकेका, महानिर्देशक ननक्लिनिकल र नेतृत्व दिन नसक्ने भनेर नेपाल चिकित्सक संघ लगायत चिकित्सकहरु विरोध कार्यक्रममा थिए। कल्पना गरौँ त यो संरचनाले विश्वमहामारीको मुकाबिला गर्न सक्छ? त्यसैले नै सेनाको पाउमा बुझाउनु पर्ने नौवत आइलाग्यो।

संरचना नै तयार थिएन। त्यसमाथि सुरक्षाका कुरामा सरकारलाई बुझाउनुभन्दा नेपाल चिकित्सक संघले आफ्नो समूह र अन्य स्वास्थ्यकर्मीहरुका त्रासलाई संगठित गरिदियो। यसमा मन्त्रीका स्वभावजन्य प्रस्तुतीले आगोमा पेट्रोल हालिदियो। प्रधानमन्त्रीका शल्यक्रिया दलका सदस्य समेत ‘पीपीई नभए सबै भाग्ने’ भन्दै प्रचारमा उत्रिए। यसमा मिडियाहरुले पीपीईका पिपिरी बाजा बजाइरहे। बुझ्नु पर्थ्यो-अमेरिकासँग जर्मन, फ्रान्स र क्यानडा यही पीपीईका लागि ङ्यारङुर गरिरहेकाछन्।

के थाहा छ भने नेपालको मात्रै होइन। विश्वको स्वास्थ्य सेवा प्रणाली समुदायमुखी र महामारी बैरी छैन। नेपालको सीमा र सामर्थ्यबारे सूत्रबद्ध गरिएको छ। हेर्नुहोस्  (सामर्थ्य नापौँ, विकल्प रोजौँ उपशीर्षक) । तथापि भाइरससँग निहत्था नपठाउन सरकारको समेत कमिसनखोर नै सही तयारी देखियो।

निजी क्षेत्र सकारात्मक नहुँदा खेदो खन्ने सामाजिक सञ्जाल र मिडियाहरुले चिकित्सा क्षेत्रको असामयिक र अतिरञ्जित मागहरुका बारेमा खुलस्त गर्न चाहेन। पटकपटक सरकारको विरोध गर्दै बनेका सेलिब्रेटीहरु माहामारी बैरी हुन अगाडि आएनन्।

अब सरकारको कुरा गरौँ। मरेकी आमाको पीताम्बर खरिदमा छ्याकन खानेहरु यही सरकारका पालामा देखिए। यसैकारण बदनाम सरकारको रक्षामा राष्ट्रपतिदेखि सरकार प्रमुख र प्रतिक्षारत प्रधानमन्त्रीहरुका कुनै अपिल जनताले सुन्न चाहेनन्। यसको छिनाफाना नगरी सुन्ने पनि छैनन्।

प्रतिपक्षहरु ! अजिम्मेवार भए । सुरुमा नै सर्वदलीय सरकारको माग गर्न थाले । जबकि सरकारमा आसित नेकपाभित्र त पावर सेयर नगर्न अनेकन प्रयास गरिरहेको छ। त्यसपछि मध्यावधि निर्वाचन माग गर्न निचतम र अराजनैतिक तहमा उत्रियो।

कुरा यिनै हुन् । को सुपात्र ? को कुपात्र ? हिसाबकिताब हुनेछ नै।

समुदाय नै रक्षक थियो र हुनेछ

आजसम्मको अवस्थाले काठमाडौं र तराईका सहरहरु बच्लान्। सुदूरपश्चिमाञ्चलमा सीमा नाघ्दै र काली पौडँदै आमाको काखमा आउने त्रसित सन्तानहरुमध्येबाट केही भाइरसबाहक थपिएलान्।

भारत स्थित नेपाली श्रमिकहरुको चलायमनताले यही संकेत गर्छ। कोभिड–१९ प्रकोप एकाध समुदायमा नै स्थानीय महामारीको रुपमा उपस्थित होला। तर, क्षेत्रीय नबन्ला र राष्ट्रिय महामारीको रुप नलेला। शर्त छ, यदि भारतले हालको संक्रमित वृद्धिलाई काबुमा राख्नसक्नुपर्छ।

यो न त इटाली बन्ने छ न त न्युयोर्क। किनकि घनाबस्ती भएका काठमाडौं उपत्यकामा विफर महामारी बच्न गरिएका अनेकन प्रयासहरु अझै अभ्यासमा छन्। यहाँभित्र कुनैपनि प्रकोपलाई नयाँ र अनौंठा व्यक्ति तथा कार्यहरुलाई पहिचान गर्ने तथा सतर्क हुने आफ्नै अभ्यास र गुँथी लगायतका संरचनाहरु छन्। काठमाडौ, पाटन/ भक्तपुरका कोर एरियाहरुमा अझैपनि महामारीकाविरुद्ध प्रतिरोध गर्ने सुक्ष्म र वृहद अभ्यासहरु छन् ‍। जुन मेडिकल आन्थ्रोपलोजीका अध्ययनका विषयहरू हुन्।

सुदुरपश्चिम र कर्णालीका जनताहरू मरे ती भोकको महामारीले मरे। बालबच्चाहरु कुपोषित भए ती पखाला चलेर मरे। तर, पानीजन्य बाहेक अन्य सरुवा महामारीले त्यहाँ लपेटेन। सरकार र विश्लेषकहरुले ढुक्क भए हुन्छ।

नेपालको समुदायले महामारी रोकेको छ र दुरदराजका महामारीले दरवारतिर यात्रा गरेको छैन बरु समुदायले दरबारको रक्षा गरेका छन्। गाउँ बस्तीसँग बाह्य महामारीसँग लड्ने आफ्नै भौतिक अवस्था र सामाजिक अभ्यासहरु छन्।

गाउँले कुनै पनि नौला र आगन्तुकहरुलाई गाउँमा प्रवेश गर्दागर्दै निगरानी गर्छ। हरेकले अपरिचितलाई सोध्छ ‘कहाँबाट आया हऊ, कहाँ जान लाग्या हऊ, के मा पर्‍यो आदि। याद गर्नुस् ! यति खेर यातायात चलेका छैनन्।

नेपालका बस्तीहरु छितरिएका छन्। घरहरु जोडिएका हुँदैनन्। कोभिड–१९ जस्तो सास र थुकखकारका बाछिट्टाबाट सर्ने रोगलाई सहयोग पुर्‍याउने दैनिक व्यवहार गर्दैनन्। किस र चुम्मा नगरी यथोचित अभिवादन गर्छन्। यी बाहेक कैयन अभ्यासहरु छन्।

महामारी जोगाउने स्थानीय समुदाय सबभन्दा सक्रिय छ। वृद्ध आमाबाबु आफ्ना सन्तानहरु आरामै आओस् भनेर देख्ने जति पर हेरी बसेका छन्। विभिन्न कारणले अति नै सक्रिय राजनैतिक समुदाय छ। मनसा र कर्मसाका साथै कसैकसैले एकअर्का दललाई पछि पार्न जनहित कार्यमा सक्रिय छ।

यहाँ विभिन्न समूहहरु छन्– आमा समूह वनउपभोक्ता समूह आदि सजग हुनेछन्। गैरसरकारी तथा अन्तर्राष्ट्रिय गैससबाट प्रशिक्षित ठूलो समूह राजनीतिमा सक्रिय छ। त्यसले समुदाय परिचालन गर्ने क्षमता राख्नेछ।

यही समस्त समुदायले परदेशबाट आएकाहरुलाई क्वारेन्टाइनमा राख्नेछ र “ट्रेसिङ” गर्नेछ केही लक्षणहरु देखेमा अस्पतालले स्वीकार गरे सेवा लिन लगाउनेछ या आइसोलेसनमा राख्नेछ। आइसीयू कर्णाली र दार्चुला र उजाड भएको मध्य पहाडलाई यस जुनीमा सम्भव छैन भनेर सबैले स्वीकार गरेका छन्।

हालसम्म सन्देहात्मकको परीक्षण र आइसीयू नचाहिने बिमारलाई प्रदेशका संरचनाले सेवा देलान्। यति भए काफी छ– समुदायले बुझेको छ। कोभिड–१९ का बिरामी ८०% सामान्य अवस्थामा रहन्छन् अरु १०/१५ प्रतिशतलाई अस्पतालको सेवा चाहिन्छ। बाँकीलाई आइसीयू। समुदायले भन्नेछ– प्रवन्ध गर्‍यो । ठिकै छ नगरे राम राम।

समुदाय खासगरी स्थानीय सरकार र वडा सरकार र त्यस तहका स्वास्थ्यकर्मी र मातृशिशु सेविका, राजनैतिक तथा नागरिक समाज कोभिड–१९ विरुद्ध अग्रपङ्तिमा रहनेछन्। यसले नै नेपालमा विश्वमहामारी रोक्नेछ।

यो पनि पढ्नुहोस महामारीका लागि शून्य संख्या पनि धेरै हुनसक्छ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment