Comments Add Comment

कोरोना विरुद्धको लडाइँमा अष्ट्रियाबाट सिकौं

काठमाडौं । अष्ट्रिया युरोपमा कोरोना भाइरस संक्रमणको इपिसेन्टरका रुपमा रहेको मुुलुक इटालीसँग सिमाना जोडिएको देश हो । यो आलेख तयार पार्दासम्म अष्ट्रियामा कोरोना भाइरस संक्रमितको संख्या करिब १२ हजार ३ सय पुगेको छ भने २३७ जनाको मृत्यु भैसकेको छ ।

विश्वमा सर्वाधिक कोरोना संक्रमित देशहरुको सूचिमा अष्ट्रिया १४ औँ स्थानमा छ भने युरोपमा १० औँ स्थानमा ।

झण्डै ८८ लाख जनसंख्या रहेको अष्ट्रियामा संक्रमितको यो संख्या जनसंख्याको अनुपातमा धेरै नै हो । तर, २५ फेब्रुअरीमा पहिलो पटक देखिएको संक्रमण सुरु हुँदाका दिनहरुको वृद्धिदरका आधारमा जुन भयंकर परिदृश्यको कल्पना गरिएको थियो, अष्ट्रियाले त्यसलाई रोक्न सफल भएको छ ।

सुरुका दिनहरुमा संक्रमणको वृद्धिदर ४० प्रतिशतसम्म रहेकोमा अहिले झण्डै ३ प्रतिशतमा झरेको छ । यतिमात्र होइन, अष्ट्रिया लकडाउनलाई खुकुलो पार्ने पहिलो युरोपेली मुलुक पनि बन्दैछ ।

कोरोनाको संक्रमण सुरु हुँदै गर्दा अत्याधिक त्रास पैदा भए पनि युरोपियन देशमध्ये अष्ट्रियाले कोरोनासँगको युद्ध जितेको सन्देश दिन सफल भएको छ । यस्तो सन्देश दिने अष्ट्रिया युरोपियन मुलकहरुको पहिलो राज्य हो । यस खबरले थोरै भए पनि त्राहिमाम युरोपियन देशहरुको अवस्थालाई केही राहत दिएको छ ।

भियनामा संघीय गणतान्त्रिक सरकार अष्ट्रियाका चान्सलर (प्रधानमन्त्री) सेबास्टियन कुर्ज, सहचान्सलर, उपप्रधानमन्त्री वर्नर कोगलर, स्वास्थ्य मन्त्री रुदि आनशोवर, र गृहमन्त्री कार्ल नेहमेरले सामुहिक रुपमा गरेको प्रेस कन्फ्रेन्सले अष्ट्रिया सरकार कोरोनासँगको युद्धमा सफल बाटोतिर लागेको सन्देश दिएको छ ।

अष्ट्रियाको सरकारले पहिलो चरणमा यो सप्ताहन्तमा आउँदै गरेको ईसाई धर्मको विशेष पर्व ईस्टरपछि तुरुन्तै साना पसलहरु खोल्न अनुमति दिने बताएको छ ।

आगामी १४ अप्रिलदेखि ४०० वर्गमिटर मात्रै क्षेत्रफल भएका साना पसलहरु, निर्माण सामाग्रीका पसलहरु लगायत खुल्ला स्थानमा रहने पसलहरु र पार्कहरु खुल्ने भएको छ । तर, अनिवार्य मास्क र एक अर्कावीचको २ मिटरको दुरीको नियम भने पालना गर्नुपर्ने छ ।

ठूला पसलहरु र सपिङ्ग मलहरु मे महिनाको १ तारिखमात्रै खुल्नेछन् । होटल र रेष्टुरेण्ट भने मे महिनासम्म बन्द नै रहनेछन् । ठूला सभा र सम्मेलनहरु भने जून महिनाभर प्रतिवन्ध नै रहने भएको छ । विद्यालयको टुंगो अझै लागेको छैन । संक्रमितको समस्या सुन्यमा नझरेसम्म स्कूलहरु अनलाईनबाट नै सञ्चालन भइरहनेछन् ।

यो संकटबाट पार पाउन अष्ट्रियाले त्यस्तो के गर्‍यो ?

कोरोना कुनै राजनैतिक समस्या होइन । अष्ट्रियाको सरकार र राजनीतिज्ञले त्यो बुझिसकेका थिए । यस्तो अवस्थामा कसरी अगाडि बढ्ने राजनीतिज्ञलाई ज्ञान हुने कुरो नै होइन ।

रविचन्द्र भट्टराई

अष्ट्रियामा स्वास्थ्य मन्त्रालयले स्वास्थ्य विज्ञहरुलाई समेटेर एउटा टास्क फोर्स निर्माण गर्‍यो, जसमा दुई विशेष समूह थिए । उद्धारका लागि चिकित्सा–वैज्ञानिकहरुको एउटा समूह थियो भने कोरोना भाइरस टास्क फोर्स सल्लाहकार बोर्डका सदस्यहरूको अर्को समूह थियो, जसमा एकजना मात्रै राजनीतिज्ञ थिए, अरु सबै स्वास्थ्य विज्ञहरु थिए । टास्कफोर्सको नेतृत्व भने स्वास्थ्य मन्त्रीले नै गरेका छन् ।

अष्ट्रियामा २५ फेब्रुअरीबाट सुरु भएको कोरोना भाइरसको संक्रमण २ जनामा देखिएपछि सुरु भएको हो । सुरुभए लगत्तै कोरोना भाईरस संक्रमितलाई उपचार गर्ने भनेर हरेक गणराज्यमा ठूलाठूला हस्पिटलहरु खाली गरियो र त्यसमा कोरोनाका लागि उपयुक्त शैयाको व्यवस्था भैसकेको थियो । अहिले ती खाली शैयाहरुमा इटाली र फ्रान्सबाट ल्याएका बिरामीहरुको इन्टेन्सिभ केयर युनिटमा उपचार भइरहेको छ ।

अष्ट्रियाले कसैलाई कोरोना लागेको शंका भए हस्पिटल अथवा आफ्नो प्राईभेट डक्टरकोमा जान प्रतिवन्ध नै गर्‍यो । त्यस्तो शंका भएमा फोन गर्ने र घरमा नै बस्ने भनेर रेडियो, टेलिभिजन र पत्रपत्रिकामा प्रचार गर्‍यो । ता कि रोग कतै नजाओस् । कोरोना लागेको भनिएको व्यक्तिसँग लामो टेलिफोन संवादपछि कोरोना हेर्ने विशेष टोली आएर घरमा नै कन्ट्रोल गरिने व्यवस्था छ ।

अष्ट्रियाका राजनीतिज्ञले स्वास्थ्य विज्ञहरुलाई कुनै पनि चिजको कमी हुन दिएनन् । आइतबार बिदाको दिनमा समेत संसद बस्यो र ४ हजार मिलियन युरोको सुरुवाती सहयोग बजेट पास गर्‍यो ।

१२ मार्चमा नै मानिसहरुलाई १०० भन्दा धेरै ठूलो समूहमा रहन प्रतिवन्ध गरियो । त्यतिले नपुग्ने बुझ्नासाथ सरकारले अत्यावस्यक सेवा बाहेक सबै नागरिकलाई १६ मार्चबाट घरबाहिर जान नपाउने नियम लगायो । जुन नियम अझै कायम छ । स्वास्थ्य विज्ञहरुले जेजे गर्नुपर्छ भने, त्यही गर्न अष्ट्रियाका चान्सलर लगायत अन्य रातदिन लागिपरे ।

सुरुका दिनहरुमा बाहिर निस्कन प्रतिवन्ध गरिएपछि अष्ट्रियाका चान्सलर कुर्ज रेडियो र टेलिभिजनका माध्यमबाट जनतालाई घरमा नै बस्न हौसला बढाइरहे ।

स्वास्थ्सेवा, स्वयंसेवक, बैंक, हुलाक, खाध्य स्टोर र किसान बाहेक सबैलाई सरकारले १६ मार्चदेखि घरमा राख्यो । बाहिर आए ३६ सय युरोसम्मको प्रशासनिक दण्डको नियम बनायो ।

एकअर्कावीच सम्पर्क रोक्न सके कोरोनासँगको युद्ध जित्न सकिन्छ भन्ने बुझेर नै अष्ट्रियाले कडा नियम ल्यायो र त्यसलाई परिचालन गर्‍यो । नियम मात्रै कडा भएर पनि नहुने रहेछ । अष्ट्रियन नागरिकलाई घरमा नै बस्न सहज वातावरण बनाउन खाध्य सामाग्रीको अभाव हुन नदिन थुप्रै व्यवस्थापनका कृयाकलाप गर्न पर्यो ।

खेति किसान गर्नेलाई प्रोत्साहन गर्न, खाध्य व्यापारीलाई आफ्नो कृयाकलाप बढाउन, स्वास्थ्यकर्मीलाई आवस्यक शक्ति प्रधान गर्न अष्ट्रियन सरकार चुकेन । आज २१ दिन लकडाउन हुँदा पनि खाध्य स्टोरमा त्यसको कुनै झलक नै देखा पर्दैन । यो त्यसै भएको होइन । सही व्यवस्थापन र सही निर्णयले आज यो अवस्थामा पनि अष्ट्रियामा नागरिकको जीवन सामान्य रुपमा नै चलिरहेको छ ।

एकै दिनमा १३०० भन्दा धेरै संक्रमित हुन थालेको अष्ट्रियामा अहिले त्यो संख्या तल झर्दैझर्दै २७० सम्म आइपुगेको छ ।

बिरामीलाई हस्पिटलमा ल्याए यत्रतत्र फैलने सम्भावना झन् धेरै हुने ज्ञान पनि अष्ट्रियाका स्वास्थ्य विज्ञहरुले बुझेका रहेछन् । अन्तिम अवस्थाका गम्भीर भैसकेका बिरामी बाहेक संक्रमितलाई घरघरमै स्वास्थ्य सेवकहरुको प्रत्यक्ष निगरानीमा उपचार गर्ने व्यवस्था गरियो । जसले संक्रमितको संख्या सोचेभन्दा छिट्टै रोक्न सफल भयो ।

उपचार गरेर फर्केका बाहेक ८ हजार ६ सय संक्रमित मध्य हस्पिटलमा जम्मा २५० जना भर्ना गरी उपचार भैरहेको छ भने बाँकी सबै घरघरमा नै प्रत्यक्ष निगरानीमा उपाचार भैरहेको छ ।

अष्ट्रियाले सुरुबाट नै यो विधि अपनाएको थियो । अहिले धेरै देशहरुले यो विधि अपनाएका छन् । नेपालमा संक्रमित हुनेवित्तिकै हस्पिटलमा भर्ना गर्ने व्यवस्था छ । त्यसले झन् विकराल अवस्थाको सिर्जना गर्न सक्नेछ । हस्पिटल नै कोरोनाको ट्राञ्जिट पोइण्ट बन्न सक्ने ठूलो सम्भावना हुन्छ बेलैमा ख्याल गर्नुपर्छ ।

अष्ट्रियाको सरकारले जनतालाई घरघरमा पठायो, त्यसको साथ साथै घरको वरपर हुने कुनै पनि खाध्य स्टोरमा हुने सामानहरु भरिपूर्ण भैरहन त्यहीअनुसारको क्रियाकलाप गरेको थियो । फलस्वरुप हरेक दिन बिहान ताजा तरकारी आएकै छन् । कुनै पनि पसल खाली छैन ।

नेपाल सरकारको लक डाउन बाघलाई ओढारमै थुनेर मार्न खोजेजस्तो भयो । बिना तयारी नेपाल लकडाउन भनियो । तर, किसानले तरकारी कुहाउनपर्ने भयो, गाईको दूध फाल्नै पर्ने भयो । अलिकति लामो समय लकडाउन गर्नैपर्ने अवस्था आए के होला कसैले सोच्न सक्दैन ।

गाऊँका त वर्षौं लकडाउन भए पनि बाँच्नेछन् । तर, यो लकडाउन अझै लम्बियो भने शहरका कोठा–कोठामा थुनिएकाहरुको अवस्था के हुन्छ ? कोरोना टास्कफोर्सले के गर्यो भन्ने प्रश्न त्यतिखेर उठ्नेछ । तर, त्यतिखेरसम्म उत्तर दिने अवस्था नै नहरहन पनि सक्छ ।

तत्काल नेपाल सरकारले के गर्न सक्छ ?

नेपालका डक्टरहरुले अझैपनि कोरोनाको इन्टेन्सिभ केयर युनिटको अवस्था देखेकै छैनन् । तर, युरोप अमेरिकामा रहेका नेपाली डक्टरहरु दिनदिनै त्यो उपचारमा व्यस्त छन् ।

सरकारले जतिसक्दो छिटो आफ्ना नागरिक जसले विदेशमा कोरोना सम्वन्धी उपचार गरिरहेका छन् उनीहरुसंग समन्वयको वातावरण मिलाउनुपर्छ । र, नेपालका डक्टरहरुलाई आवश्यक सहि सहयोगको व्यवस्था गर्नु पर्दछ ।

भोलि पछुताउनुभन्दा अहिले केही प्रयास गर्नु उचित होला कि ? सरकारका विश्वभर रहेका निकायहरुले गर्न नसके गैरआवासीयहरुको संगठनले पनि पक्कै सहयोग गर्न सक्नेछ । विज्ञानले संसार जटिलमात्रै होइन, सानो अथवा सामान्य पनि बनाइदिएको छ । युरोप अमेरिका जहाँ रहेर पनि नेपालीहरुले त्यो सेवा गर्न पक्कै सक्नेछन् । कोरोनाका लागि तयारी भन्दा ठूलो औषधी यतिखेर केहि होइन । अष्ट्रिया र इटलीलाई तुलना गर्ने हो भने त्यो प्रष्ट हुनेछ ।

अष्ट्रियाले संक्रमितको संख्या मात्रै नभएर मृत्युदर पनि घटाएको छ र उपचारपछि घर फर्कनेको दर बढाएको छ । यसरी हरेक कोणबाट हेर्दा अष्ट्रिया कोरोनासँगको युद्धमा विजय हासिल गरेको प्रष्ट देख्न सकिन्छ । यो खुसी अष्ट्रियामा बस्नेहरुको मात्र नभएर संसारभरका मानिसहरुका लागि खुसीको कुरा हो ।

जसरी अष्ट्रियाको सरकारले स्वास्थ विज्ञ र राजनीतिज्ञको भुमिका अलग–अलग प्रकारले निर्धारणगरी कृयाकलाप गरेको छ, नेपाल सरकारले यस विषयमा गम्भीर भएर सोच्नुपर्छ । यसलाई अझै पनि गम्भीर भएर सोच्ने हो भने भोलि आउन सक्ने सम्भावित दुर्घटनाको जिम्मेवार हुनबाट बच्न सकिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment