Comments Add Comment

प्रधानमन्त्रीको सम्बोधन कति चित्तबुझ्दो ?

२५ चैत, काठमाडौं ।  केही दिनको मौनता तोड्दै प्रधानमन्त्री केपी शर्मा ओलीले ‘पब्लिक डिमान्ड’ अनुसार आज देशवासीका नाममा सम्बोधन गरे ।

कोरोनाबाट बच्न सरकारले लकडाउन गरेपछि उनको यो दोस्रो सम्बोधन थियो । सन्तोषको कुरा, उनी अघिल्लोपटकभन्दा स्वस्थ र आत्मविश्वासी देखिए ।

प्रधानमन्त्रीले आफ्नो सम्बोधनमा कोरोनाको प्रकोपसँग लड्ने सरकारले गरेका प्रयासहरूको बेलिबिस्तार लगाउँदै सरकारमाथि लागेका विभिन्न आरोपहरूको बचाउसमेत गरे । उनले अबका दुई साता चुनौतीपूर्ण हुने भन्दै त्यसका लागि तयार रहन सन्देश दिए । यसको आशय ३ बैशाखपछि पनि लकडाउन एक साता थपिने अनुमान कतिपयले गरेका छन् । तर, अहिलेलाई यो अनुमान मात्रै हो ।

प्रधानमन्त्रीले दुई साता चुनौतीपूर्ण हुने सम्भवत: यस अर्थमा भनेका हुन् कि यो अवधिमा नेपालमा कोरोना समुदायमा फैलिएन भने नेपाल धेरै हदसम्म सुरक्षित रहनसक्छ । फैलियो भने भयावह अवस्था आउनसक्छ । लकडाउन थपिने/नथपिने कुरा सम्भवत: यीमध्ये कुन बाटोमा देश जान्छ भन्नेमा निर्भर रहने छ ।

प्रधानमन्त्रीको सम्बोधनमा अपेक्षित विषय भनेको भारतीय सीमा नाकामा अलपत्र अवस्थामा रहेका नेपालीहरुको उद्दार कसरी हुन्छ भन्ने थियो । संकटको घडीमा आफ्नो घर फर्किन खोज्नेहरुलाई देशको ढोका बन्द गर्नुहुँदैन भनेर आवाज उठिरहेका छन् । सरकारले भने राष्ट्रियताको बहकाउमा लागेर सिङ्गो देशलाई संकटमा धकेल्न नसकिने बताउँदै आएको छ ।

प्रधानमन्त्रीले यो विषयलाई सम्बोधन गरेपनि समाधानको नयाँ सूत्र पहिल्याएनन् । उनले सीमापारी क्वारेन्टाइनमा रहेका नेपाली र नेपालले आफ्नो सीमाभित्र क्वारेन्टाइनमा राखेका विदेशीहरुको आँकडा प्रस्तुत गरे । नेपालले विदेशीहरुलाई सक्दो राम्रो वातावरणमा राखेको भन्दै उनले अन्य देशले पनि नेपालीहरुलाई त्यस्तै संरक्षण दिने आशा पनि व्यक्त गरे ।

प्रधानमन्त्रीको सम्बोधनले आलोचकहरुको चित्त बुझायो कि विथोल्यो त ? सामाजिक सञ्जालमा मिश्रित प्रतिक्रिया आएका छन्

तर, भारतले कथित क्वारेन्टाइनका नाममा नेपालीहरुलाई नर्कतुल्य अवस्थामा राखेको समाचारहरु आइरहेका छन् । उनीहरुले खाना मात्रै होइन पानी पनि पाइरहेका छैनन् । यसतर्फ आवश्यक संवेदनशीलता देखाउन प्रधानमन्त्री चुके । जुनसुकै देशमा रहे पनि हरेक नागरिकको अभिभावक राज्य नै हो भन्ने अनुभूति दिलाउन सकेनन् । अविश्वसनीय छिमेकीले आफ्ना नागरिकको संरक्षण गरिदेला भन्ने विश्वास व्यक्त गर्नु प्रधानमन्त्रीको लाचारीपन मात्र हो ।

मेडिकल सामग्रीहरुको आपूर्तिका विषयमा उत्पन्न भएको विवादमा प्रधानमन्त्रीले अमूर्त भाषा बोले । प्रसंग नकोट्याइकन उनले ‘सरकारले भ्रष्टाचार नसहने’ आफ्नो पुरानै रटान दोहोर्‍याए । पीपीई लगायतका सामग्री खरिदमा ‘भ्रष्टाचार’ भएको आरोपलाई प्रधानमन्त्रीको यो ओठे प्रतिबद्धताले मात्रै मत्थर पार्न सक्नेछैन ।

सम्बोधनको अर्को महत्वपूर्ण पाटो भनेको उनले मान्छेको जीवन र वैयक्तिक स्वतन्त्रतामा कुन ठूलो भन्ने प्रश्न गरे र उत्तर आफैँले दिए : जीवन ठूलो हो । कोरोनाविरुद्धको लडाइँका नाममा सरकारले वैयक्तिक स्वतन्त्रतालाई कुल्चिन खोजेको भन्ने आरोपलाई जवाफ दिँदै उनले संकटको यस्तो बेला वैयक्तिक स्वतन्त्रता महत्वपूर्ण नभएको स्पष्ट आशय प्रकट गरे । उनले अहिलेको अवस्थालाई उनले ७२ सालको भूकम्पपछिको अवस्थासँग तुलना गरे ।

प्रधानमन्त्रीको सम्बोधनमा ‘नयाँ कुरा’ घोषणा केही आएन । त्यसो त सरकारले कुनै पनि नयाँ निर्णय गर्दा मन्त्रिपरिषद्का प्रवक्तामार्फत त्यसलाई सार्वजनिक गरिहाल्ने प्रचलन भएकाले प्रधानमन्त्रीसँग नयाँ कुरा थिएनन् पनि । यद्यपि, प्रधानमन्त्रीले टेलिभिजनमा बोलिसकेपछि कुनै न कुनै नयाँ घोषणा आउनुपर्थ्यो ।

सरकारले कोरोनासँग लड्न पर्याप्त कोसिसहरु गरिरहेको छ भन्ने भान पार्नचाहिँ सम्बोधन केही हदसम्म सफल थियो । उनले स्वास्थ्यकर्मी, सुरक्षाकर्मी लगायतको प्रशंसा गरेर उनीहरुको मनोबल बढाउने प्रयास पनि गरे । नेपालमा नौ जनामा मात्रै कोरोना देखिनुलाई सरकारको सफलताको रुपमा उल्लेख गर्दै अझै पनि उच्च जोखिममा रहेको बताए । संकटकाबीच पनि अर्थतन्त्रलाई चलायमान बनाउन प्रयास भइरहेको जानकारी दिए ।

सरकार र आफूमाथि भइरहेका आलोचनाहरुप्रति प्रधानमन्त्री ओली कठोर नै देखिए । सामाजिक सञ्जालमा व्यक्त भएका मतहरुप्रति आफ्नो ध्यान गएको बताए पनि उनले त्यसलाई सकारात्मक ढंगले ग्रहण गरेको देखिएन । उनले भने, ‘सरकारविरुद्धका प्रचारबाजी बेमौसमी बाजा मात्र हुन् ।’

यो पनि पढ्नुहोस प्रधानमन्त्रीले गरे स्वास्थ्य सामग्री खरिदको जिम्मा सेनालाई दिने निर्णयको बचाउ

कोरोनाको त्रास र सरकारको लकडाउनले जनजीवन अस्तव्यस्त बनेका बेला मौन बसेको भनेर ओलीको आलोचना भएको थियो । प्रधानमन्त्रीको सम्बोधनले आलोचकहरुको चित्त बुझायो कि बिथोल्यो त ? सामाजिक सञ्जालमा मिश्रित प्रतिक्रिया आएका छन्। कसैले यसलाई सन्तुलित र यथार्थपरक भनेका छन् भने कसैले सरकारका गल्तीलाई ढाकछोप मात्र गर्न खोजेको भनेर आलोचना गरेका छन् ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापा ट्विटरमा लेख्छन्, ‘प्रमको सम्बोधन सुनेँ । सबै विषय समेटिएका छन् । कोरोना महामारीविरुद्ध सरकारको नीति/कदम ठिक छ । सम्बोधनअनुसार काम पनि होस् । अझै समन्वय कमजोर छ, चेन अफ कमाण्ड मिलेको छैन । अपवादबाहेक सरकारको निर्णय/कदमलाई जनताले साथ दिएका छन् । भोलि पनि दिनेछन् । राम्रो काम होस् । जनताले साथ दिनेछन् ।’

साझा पार्टीका संयोजक रवीन्द्र मिश्रले चाहिँ प्रधानमन्त्रीको सम्बोधनलाई लिएर व्यंग्यात्मक टिप्पणी गरेका छन् । उनी लेख्छन्, ‘आजको सम्बोधनमा साह्रै इमानदार प्रधानमन्त्रीको सबैभन्दा इमान्दार अभिव्यक्तिः काहीँ कतै अयिमितता र भ्रष्टाचारजन्य कुरा देखिएमा निर्ममतापूर्वक कारबाही गर्न वर्तमान सरकार किंचित पनि पछि पर्ने छैन ।’ तपाईंको भ्रष्टाचारविरोधी छविमाथि जनताले विश्वास गर्दै आएका छन् र विश्वास गरि नै रहनेछन् ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment