Comments Add Comment

नेपाल आएका ९ जना पाकिस्तानीलाई मस्जीदभित्रै क्वारेन्टाइनमा राखियो

सीमा क्षेत्रमा सशस्त्र प्रहरीले ६ पोष्ट थप्यो

२५ चैत, रौतहट । धर्म प्रचारका लागि नेपाल आएका ९ जना पाकिस्तानी नागरिकहरुलाई प्रहरीले नियन्त्रणमा लिएर रौतहटको एक मस्जीदभित्रै क्वारेन्टाइनमा राखेको छ ।

पाकिस्तानी टोलीलाई नियन्त्रणमा लिएर रौतहटको देवाही गोनाही नगरपालिका–२ को करुनियामा रहेको मस्जिदभित्रै क्वारेन्टाइनमा राखिएको जिल्ला प्रशासन कार्यालय रौतहटले जनाएको छ ।

पाकिस्तानी नागरिकहरु महम्मद यसुफ खान, जैनुल्लाह, सम्सुल्लाह खान, महम्द फवाद, रइश खान, गुरफानदिन, असगर खान, गुलाम रसुल र हलिमुल्लाहलाई उनीहरु बसेकै मस्जीदमा क्वारेन्टाइनमा राखिएको हो ।

प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेले भने, ‘उनीहरु नेपालमा लकडाउन सुरु हुनुअघि नै आएका थिए । हामीले मस्जीदभित्रै राखेर निगरानी गरिरहेका छौं ।’

चैत ४ गते यमुनामाई गाउँपालिका वडानम्बर १ मा रहेको मुख्तम मस्जीद इदगाहमा तीन दिनसम्म बसेका उनीहरु ७ गते करुनिया गएका थिए । लकडाउन पछि उनीहरु सोही मस्जीदमा छन् ।

कोविड १९ (कोरोना) संक्रमण नियन्त्रण गर्न सरकारले लकडाउन गरेर वैदेशिक मुलुकबाट फर्कनेहरुलाई विभिन्न स्थानका निर्माण गरिएका क्वारेन्टाइनमा राखिए पनि पाकिस्तानीहरुलाई मस्जीदमै राखिएको छ । उनीहरुको गतिविधिलाई निगरानी गरिरहेको र लकडाउनभन्दा पहिले नै नेपाल आएकाले क्वारेन्टाइन केन्द्रहरुमा नराखिएको सुरक्षा स्रोतले बतायो ।

सशस्त्र प्रहरीले ६ पोष्ट थप्यो

यसैबीच कोरोना भाइरस नियन्त्रण तथा रोकथामका लागि रौतहट जिल्लाको भारतसँग जोडिएको ३२ किलोमिटरको सीमा क्षेत्रमा सशस्त्र प्रहरी बलले ६ वटा नयाँ अस्थायी पोष्टहरु निर्माण गरेको छ ।

रौतहटको गौर नगरपालिकाको वडा नं. १ र २ मा, ईशनाथ नगरपालिकाको वडा नं. ६ र ४ मा, बौधिमाई नगरपालिकाको वडा नंं. ७ र राजदेवी नगरपालिकाको वडा नं. ९ मा सशस्त्र प्रहरी बल नेपाल ११ नम्बर गण रौतहटले जानकारी दिएको छ ।

अस्थायी पोष्ट स्थापना गरिएका स्थानहरुमा चौबीसै घण्टा ड्यूटी रहने र सीमामा हुने आवत–जावतलाई पूर्णरुपमा नियन्त्रण गर्ने सशस्त्र प्रहरी उपरिक्षक रविनराज कर्णजितले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment