Comments Add Comment

पाण्डाको जोडीलाई फाप्यो लकडाउन, १० वर्षको प्रयासपछि बल्ल गर्भाधान

कोरोना भाइरसका कारण विश्वका आधाजसो जनसंख्या लकडाउनको अवस्थामा हुँदा शारीरिक सम्बन्धमा वृद्धि भएको र त्यसका कारण कण्डमको माग आकासिएको खबर अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूमा आइरहेकै छ ।

कोरोनाको लकडाउनका कारण युरोपेली अष्ट्रियामा आगामी वर्ष जन्मदर नै बढ्ने अनुमान गरिएको छ ।

तर कोरोना भाइरसको कारण भएको लकडाउनले केवल मानिसहरूको मात्र यौन गतिविधिमा सकारात्मक प्रभाव पारेको छैन । १ दशकदेखि गर्भाधानका लागि संघर्षरत एक पाण्डाको जोडीलाई समेत यो लकडाउन निकै फापेको छ ।

हङकङको चिडियाखानामा रहेका एकजोडी पाण्डाले एक दशकपछि सफल यौन सम्पर्क गरी गर्भाधान गर्न सफल भएका छन् ।

लकडाउनमा रहेको ओसन पार्क चिडियाखानामा रहेका यिंग यिंग र लीली नामक जोडी पाण्डाले मंगलबार बिहान सफलतापूर्वक यौनसम्पर्क गरेका हुन् ।

यौनसम्पर्कबाट लीलीमा गर्भाधान भएको छ । यो जोडीले गर्भाधानका लागि लामो समयसम्म प्रयास गरिरहेको थियो तर सफल भएको थिएन । सन् २०१० देखि यिंग यिंग र लिलीले यौनसम्पर्क गर्न निरन्तर प्रयास गरिरहेका थिए । अन्ततः एक दशकको सिकाइले सकारात्मक नतिजा निकाल्यो र मंगलबार उनीहरूले सफलतापूवर्क संसर्ग सम्पन्न गरे ।

लकडाउनका कारण बन्द रहेको चिडियाखानाको गोप्य वातावरणको फाइदा उठाउन उक्त पाण्डा जोडी सफल भएको छ ।

चिडियाखानाका कार्यकारी निर्देशक माइकल बुस भविष्यमा यो जोडीको नयाँ बच्चा जन्मिने खबरले आफूहरू निकै उत्साहित रहेको बताउँछन् ।

उनका अनुसार, प्राकृतिक सम्भोगबाट गर्भ रहने दर कृत्रिम गर्भाधानमा भन्दा धेरै हुन्छ ।

पाण्डाको प्रजनन याम मार्चदेखि मे महिनासम्मको अवधि भएका कारण चिडियाखानाका कर्मचारीहरू लकडाउनको अवधिमा उक्त जोडीका क्रियाकलापप्रति निकै चनाखो भएर अवलोकन गरिरहेका थिए ।

साथै पाण्डाको शरीरमा हर्मोनको मात्राको समेत निरन्तर जाँच गरिएको थियो ।

मार्च अन्तिमतिर उक्त जोडी यौनातुर हुन थाल्यो । भालेले आफ्नो गन्धको चिनो छाड्यो र पोथीको जिउबाट निस्किएको गन्ध सुघ्न थाल्यो । त्यस्तै यौन चाहना जागृत भएसँगै पोथी पानीमा खेल्न थाल्यो ।

पाण्डाले गर्भ रहेको १० महिनामा बच्चा जन्माउन सक्दछ । पाण्डाको गर्भको अल्ट्रासाउण्ड जाँच भने बच्चा जन्मिनुभन्दा दुई हप्ताअगाडि मात्र गर्न सकिन्छ ।

स्मरणरहोस् हंगकंगको चिडियाखानामा बच्चा जन्माउने तयारीमा रहेको उक्त प्रजातिको पाण्डाको संख्या प्राकृतिक वातावरणमा केवल १८ सय मात्र रहेको छ ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment