Comments Add Comment

कोरोनाका कारण कसरी बदलिँदैछ नेपाली संस्कार ?

२६ चैत, काठमाडौं । नेपाल संवत् ६८० बाट सुरु भएको साँखुको बज्रयोगिनी जात्रालाई यसअघि कुनै पनि महामारी र प्राकृतिक प्रकोपले रोक्न सकेको थिएन ।

तर यो वर्ष बज्रयोगिनीको जात्रालाई प्रभावित भयो । तत्कालीन राजा महेन्द्र मल्लको समयदेखि सुरु भएको मानिएको जात्रा औपचारिकतामा मात्रै सीमित रह्यो । कारण थियो, कोरोना भाइरस (कोभिड–१९) बाट बच्ने ‘सामाजिक दुरी’ को सूत्र ।

सामाजिक दुरीको सूत्र बाहेक अरु यो जात्रा रोकिने अरु केही पनि कारण छैनन् ।

यसैगरी वैशाख १ गते मनाउने बिस्केट जात्रा पनि यो वर्ष औपचारिकतामा सिमित हुनेछ । कोरोनाकै कारण चैत २४ देखि जात्राको सुरुवातै औपचारिक रुपमा भएको छ ।

पुजारी बाहेक अरुलाई पूजास्थलमा प्रवेश दिइएको छैन । बिस्केट जात्राको एउटा वैकल्पिक विधि पनि छ । धुमधामसँग जात्रा मनाउन नपाएको बेलामा रथ घुमाउनुको साटो पूजारीले विधि पुर्‍याएर रथ लैजाने ठाउँसम्म देवता पुर्‍याउने ।

बुधबार सुनसान रहेको बालाजु बाईसधारा मेला ।

तर लामो किंवदन्ती रहेको जिब्रो छेड्ने जात्राको भने वैकल्पिक विधि नहुँदा त्यसलाई के गर्ने भन्नेमा स्थानीयको बीचमा मतभेद जारी छ । कोही महामारीको बेला जात्रा बन्द गर्नुपर्ने तर्क राख्छन् भने धेरै स्थानीयहरु जिब्रो नछेड्ने हो भने विध्वंशको सामना गर्नुपर्ने भएकाले यसलाई खण्डित गर्न नहुने तर्क राख्छन् ।

सानो दशैंको रूपमा मनाइने चैते दशैं यो वर्ष सुनसानसँग मनाइयो । चैते दशैंको भोलिपल्ट मनाउने राम नवमी पनि यो वर्ष औपचारिकताका लागि मात्रै सीमित गर्न बाध्य भइएको छ ।

कतिपय ठाउँमा त सानो दशैं राम्रो भएन भने अर्काे दशैं पनि राम्रो नहुने मान्यता राखिन्छ । कोरोनाकै कारण यो वर्ष तलेजु भवानीमा विशेष पूजा पनि रोकिएको छ ।

कोरोना भाइरसका कारण पशुपति क्षेत्र विकास कोषले शुल्क लिएर गर्दै आएको विशेष पूजा रोकिएको छ ।

पशुपतिनाथमा १० प्रकारको विशेष पूजा हुने गरेको थियो । यो सबै अहिले बन्द गरिएको छ । सरकारले सार्वजनिक स्थानमा भेला हुन रोक लगाएको छ । लकडाउनमा बाहिर हिँडडुल गर्न रोक लगाएकाले कारण पशुपतिमा सामान्य पूजा गर्नेहरु समेत छैनन् ।

पशुपतिको पूर्वपट्टी गरिने गंगा आरती अहिले विधि पुर्‍याउने गरी एक जनाबाट मात्रै गरिन्छ ।

प्रत्येक वर्ष चैत्र शुक्ल अष्टमीका दिन दरबारमार्गस्थित तीनधारा संस्कृत छात्रावास अघिबाट सुरु गरिने सेतो मच्छिन्द्रनाथको रथयात्रा रोकिएको छ । यस वर्ष जात्रा गर्न नसकिने भएपछि माफी माग्दै क्षमा पूजा समेत गरिएको छ । थिमीमा मनाइने सिन्दूर जात्रा रोकिएको छ । काठमाडौंका पाँचरे जात्रा रोकिएको छ ।

यसैगरी बुधबार धुमधामसँग मनाउने बालाजु बाइसधाराको जात्रा समेत रोकिएको छ ।

कोरोनाकै कारण ठूला मन्दिरहरु बन्द भएका छन् । वागलुङ कालिका मन्दिरमा यो वर्षको चैते दशैं सुनसान भयो । यसबाहेक उपत्यका बाहिरका हरेक चर्चित मन्दिरहरुमा यो वर्षको नियमित संस्कारमा ठूलो भिन्नता आएको पाइएको छ ।

फाइल तस्वीर

भक्तपृुरको भैरवनाथ मन्दिरमा बाँस लगाएर आउन जान रोकिएको छ । काठमाडौं उपत्यकाभित्रकै कतिपय मन्दिरहरुमा नित्य पूजा समेत रोकिएको छ ।

कोरोना भाइरसकै कारण नेपालीहरुको ‘अतिथि देवो भवः’को संस्कार बदलिएको छ । पहिले नचिनेका पाहुनालाई समेत भगवान जसरी मान्ने नेपाली संस्कारहरु अहिले पाहुना आउने बित्तिकै ढोका बन्द गराउनु पर्ने अवस्थामा पुगेका छन् । यो नै सामाजिक दुरीका कारण बदलिएको संस्कार हो ।

यसबाहेक हामीहरुको विभिन्न संस्कारमा आकाश जमिनको भिन्नता आएको छ । यी सबै ‘सामाजिक दुरी’ कायम गराउने क्रममा प्रभावित भएका मूलभूत संस्कृति एवं चाडपर्वहरु हुन् । विश्वभरी महामारीको आतंक चलिरहेको बेलामा निरो प्रवृत्ति नदेखाउनको लागि कतिपय संस्कारहरु तत्कालका लागि स्थगित गरिए ।

कतिपयमा राज्यले संवेदनशील मानेर आफैँ बन्द गरायो । समग्रमा सामाजिक दुरीका कारण विश्वभरका अरु ठाउँमा जस्तै नेपालमा समेत संस्कार र संस्कृतिमा ठूलो परिवर्तन आएको छ ।

सम्पदा संरक्षण विषयमा विद्यावारिधि गरेकी काठमाडौंकी डा. मोनालिसा महर्जन पछिल्लो समय कोरोनाको महामारीले गर्दा नेपाली संस्कारहरुमा परिवर्तन भएको बताउँछिन् । यो परिवर्तन अस्थायी स्वरुपको भए पनि इतिहासमा ठूला ठूला परिवर्तनहरुले रोक्न नसकेका जात्रापर्वहरुलाई समेत कोरोनाको महामारीले रोकेको बताउँछिन् ।

त्यस्तै, भक्तपुर पर्यटन विकास समितिका महासचिव दीपेशराज शर्मा पनि मानिस रहे संस्कार रहने भन्दै संस्कारलाई औपचारिकताको लागि मात्रै सञ्चालन गरेर सामाजिक दुरीहरु कायम गरिएको बताउँछन् ।

भक्तपुरका मूर्त संस्कृतिमा र अमूर्त संस्कृतिमा समेत ठूलो असर परेको भन्दै शर्माले अहिले बदलिएका संस्कारहरु समेत कोरोनाको संकट सकिएसँगै फेरि पुरानै अवस्थामा आउने बताए । उनले इतिहासको पाना पल्टाउँदै जाने हो भने समय समयमा यस्तो समस्या आइरहेको भन्दै ज्यान र संस्कार दुबै जोगाउने तर्फ आफूहरु अघि बढिरहेको उनले बताए ।

अरु धर्मालम्बीहरुमा पनि यसको असर देखिएको छ । केवल मन्दिरहरु मात्रै होइन, मस्जिद र चर्चहरु बन्द भएका छन् । गुम्बामा भन्तेहरुको परिक्रमा हटेको छ । हरेक दिन बिहान गुम्बामा परिक्रमा गर्ने भन्तेहरुको दैनिकी बदलिएको छ ।

फाइल तस्वीर

जामे मस्जिदमा शुक्रबार चहलपहल घटेको छ । शनिबार चर्चहरु सुनसान बन्न थालेका छन् । शवलाई गाड्ने संस्कार बोकेकाहरुलाई अन्त्येष्टि संस्कार गर्न धौधौ भएको छ ।

राष्ट्रिय क्रिस्चियन महासंघका अध्यक्ष जीबी गहतराज महामारीका कारण आउँदै गरेको इस्टर र नियमित हुने शनिबारे संगतीहरु पूर्ण रुपमा प्रभावित भएको बताउँछन् ।

उनकाअनुसार जिसस क्राइस्टको पुनरूत्थानको रुपमा मनाइने इस्टर पर्वमा सभा सम्मेलन र र्‍यालीहरु गर्ने गरिएका थिए । तर अहिले बन्द भएका छन् ।

मुस्लिम धर्ममा समेत आउँदै गरेको रमदान पर्व प्रभावित हुने निश्चितप्रायः छ । आगामी २३ अप्रिलदेखि सुरु हुने रमदान प्रभावित हुने एवं नियमित रूपमा शुक्रबार मनाउने पर्वहरु प्रभावित भएको मुस्लिम धर्मालम्बीहरु बताउँछन् ।

विदेशमा झनै प्रभावित

सामाजिक दुरीको असर नेपाल मात्रै होइन । नेपालमा धेरैजात्रा पर्वहरु हुने भएकोले नेपालमा सांस्कृतिक संस्कारहरुमा अवरोध आएको देखिन्छ । तर, विदेशमा पनि यसको प्रभाव कम भने परेको छैन । विदेशका धेरै संस्कारहरु बदलिएका छन् ।

अंकमाल गर्ने संस्कार र हात मिलाउने पश्चिमी संस्कार पूर्ण रुपमा बन्द भएको छ । मृत्यु हुँदा शव गाड्ने संस्कार भएकाहरुलाई ठूलो समस्या भइरहेको छ । अमेरिकामा शवको अन्तिम संस्कारमा गरिने सबै कर्महरु ‘अवस्था सामान्य भएपछिसम्मको लागि’ भनेर स्थगित गरिएको छ । यसरी विश्वभरका अधिकांश मुलुकमा नियमित संस्कारमा परिवर्तन आइसकेको छ।

कोरोना भाइरसको प्रभाव सुरु भएको लामो समयसम्म अमेरिकाका कतिपय चर्चमा पादरीहरुले नियमित संस्कार बन्द गर्न चाहेनन् । उनीहरुले अटेरी गरेका कारण कोरोनाको समस्या उनीहरुलाई नै परेर सबैभन्दा पहिले जीवनरक्षाको लागि उनीहरु नै आइसोलेसनमा बस्नु पर्‍यो ।

फाइल तस्वीर

यतिबेला विश्वमा इसाई, इस्लाम, हिन्दु र बौद्ध लगायतका धर्ममा आस्था राखेर सोही अनुसारको संस्कार मनाउनेहरु सामाजिक दुरीका कारणले संस्कार परिवर्तन गर्न बाध्य भएका छन् ।

अप्रिल १२ मा इसाई धर्मालम्वीहरुले इस्टर धुमधामका साथ मनाउनुपर्ने हो । इसाईहरुले जिसस क्राइस्टको पुनरुत्थान भएको दिनको रुपमा मनाउने इस्टर उनीहरुको सबैभन्दा ठूलो चाड हो । तर यो चाड पनि यस वर्ष स्थगित हुने निश्चित छ ।

इस्टरमा तीनदिनसम्म मनाउने संस्कारबाट नै ‘गुड प्राइडे’ र ‘इस्टर सनडे’ को संस्कार चलेको हो । तर, यसपटक न त ‘गुड फ्राइडे’ मनाउन पाउने भएका छन् । न त इस्टर सनडे नै । पास्चरले चर्चमा यो पर्वमा गर्ने संस्कार पनि भिन्न भिन्न खालको छ ।

केन्यामा लकडाउन गरिएको छैन । तर त्यहाँ रात्रिकालीन कफ्र्यु जारी गरिएको छ । त्यसैले त्यहाँ पनि चर्चको साटो अनलाइन प्रार्थना गर्ने गरिएको बीबीसीले जनाएको छ । त्यहाँ जुम प्रविधिमार्फत अनलाइन प्रार्थना गर्ने गरिन्छ ।

त्यस्तै, मुस्लिमहरुको रमदान यही २३ अप्रिलबाट सुरुहुनेवाला छ । यो महिना पैगम्बर मुहम्मदलाई सम्झने विशेष पर्व हो । यो पर्व मुस्लिम पवित्र पुस्तक कुरान पहिलो पटक प्रकाशित भएको विश्वासमा मनाउने गरिन्छ ।

फाइल तस्वीर

यो महिनाभर नै मुस्लिमहरू समर्पण गर्ने र अल्लाहको नजिक जाने उपायको खोजी गर्ने महिनाको रुपमा मान्ने गर्छन् । प्रत्येक साँझ जब घाम अस्ताउँछ, परिवार र साथीहरू भेला हुन्छन् र दिनभरीको उपवास तोड्छन् ।

तर, यसपटक इस्लामहरुको समेत यस्ता संस्कारहरु पहिलेजस्तो चल्न सक्ने अवस्था छैन । त्यसैले पनि सामाजिक दुरीका कारण धेरै संस्कारहरुमा अहिले परिवर्तन हुन थालेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment