Comments Add Comment

भारतको मुम्बईमा ६० जना नेपाली अलपत्र

२७ चैत, भीमदत्तनगर । कोभिड—१९ को जोखिम हुन नदिन भारतले गरेको ‘लकडाउन’ले महाराष्ट्रको मुम्बईमा अलपत्र परेका ६० जना नेपाली मजदुर समस्यामा परेका छन् ।

बैतडीका ती मजदुर तीन सातादेखि मुम्बईको बरौली र पवईस्थित ढावाको स्टाप कोठामा आश्रय लिइरहेका छन् । उनीहरुले उद्धारका लागि पहल गरिदिन आग्रह गरेका छन् । बरौलीमा होटलमा काम गर्दै आएका मेलौली नगरपालिका–४ का जगदीश भण्डारीले आफूहरु २२ दिनदेखि यहाँ अलपत्र परेको टेलिफोनमार्फत जानकारी दिए । “एउटा सानो कोठामा १२/१५ जना खाँदिएर बसेका छौं,” उनले भने, “साहुले मुश्किलले अहिलेसम्म खाना दिएको छ ।”

उनले होटल साहुले स्वदेश फर्किन दबाव दिइरहेकाले झन समस्यामा रहेको दुखेसो पोखे । “नयाँ दिल्लीमा रहेको नेपाली दूतावासमा धेरै पटक फोन गर्‍यौं,” भण्डारीले दुखेसो पोख्दै भने, “दूतावासको फोन उठ्दैन ।” त्यसैगरी मुम्बईमै अलपत्र परेका मेलौली नगरपालिका–३ का सन्दीप चन्दले लकडाउनका कारण भोकै बस्नुपर्ने अवस्था आएको जानकारी दिए ।
“हुलिएर बसेका छौं । बाहिर कोरोनाको संत्रास धेरै छ,” उनले भने, “अहिलेसम्म यहाँको सरकारले स्वास्थ्य परीक्षणलगायत अन्य व्यवस्थापनमा कुनै चाँसो देखाएको छैन ।” उनले कोठाभित्र खादिएर बस्दा अन्य रोगको सङ्क्रमणको जोखिम रहेको बताए ।

‘यहाँ लकडाउन खुल्नासाथ साहुले घर जान भनिरहेको छ,” उनले भने, ‘हामीलाई यहाँबाट उद्धार गरिए नेपालमा क्वारेन्टाइनमा बस्थ्यौं ।” त्यसैगरी मुम्बईको पवईमा अलपत्र नेपालीले पनि उद्धारको याचना गरेका छन् । बैतडीकै नरेन्द्र चन्दले मुम्बईमा धेरै नेपाली अलपत्र रहेको जानकारी दिए ।

‘एक्कासी लकडाउन भयो, नेपाल टाढा भएकाले फर्किन सकेनौँ,” उनले भने, “यहाँ रोगले भन्दा पनि भोकले मरिन्छ की भन्ने डर छ ।” उनले भारतमै भए पनि क्वारेन्टाइनमा राख्न प्रबन्ध मिलाइदिन भारतीय सरकारसित आवश्यक समन्वय गरिदिन आग्रह गरे ।

‘नेपाल–भारत सीमानामा त दुवै देशका नागरिकलाई व्यवस्थापन गरिएको भन्ने सुन्छौँ,” चन्दले भने, “हामी यहाँ रहरले होइन बाध्यताले मजदुरी गर्न आएका हौँ ।” सुदूरपश्चिममेली नागरिकको सदियौँदेखिको रोजगारीको प्रमुख गन्तव्य हो, भारत । लकडाउनअघि र पछिको समयमा सुदूरपश्चिमका नाकाबाट एक लाख ४३ हजार नागरिक भारतबाट फर्किएको सुदूरपश्चिम प्रदेश सामाजिक विकास मन्त्रालयका प्रवक्ता झंकरबहादुर विष्टको भनाइ छ ।

नेपाल–भारत सीमामा करिब एक हजार ५०० को हाराहारीमा नेपाली क्वारेन्टाइन बसेका छन् । कञ्चनपुरमा भने सिमावर्ती भारतीय बजार बनवासा र टनकपुरमा गरी २३५ जना नेपाली क्वारेन्टाइनमा रहेको कञ्चनपुरका सहायक प्रमुख जिल्ला अधिकारी गोकर्ण उपाध्यायले जानकारी दिए ।

‘हाम्रो भारतीय पक्षसित सधैँ सम्र्पक र समन्वय हुँदैछ,” उनले भने, “त्यहाँ आश्रित नेपालीलाई राम्रै व्यवस्थापनमा राखिएको छ । र त्यहाँ रहेकाबाट कुनै गुनासो पनि आएको छैन ।” सहायक प्रमुख जिल्ला अधिकारी उपाध्यायले सीमा सुचारु भएपछि सीमा क्षेत्रमा रहेका नेपालीहरुलाई कहाँ, कसरी व्यवस्थापन गर्ने भन्ने विषयमा पछि छलफल हुनसक्ने बताए ।

‘सीमा क्षेत्रमा आवागमन रोक्न यहाँका खुलानाका समेत सशस्त्र प्रहरी थप परिचान भएको छ,” उनले भने, “जो जहाँ छौँ, त्यही सुरक्षित बसौँ भन्ने सोच राख्नुपर्छ ।” बझाङमा लकडाउन उल्लङघन गरी धार्मिक मेला सञ्चालन भएपछि नियन्त्रणमा लिइएका चार वडाध्यक्षसहित नौ जनालाई प्रहरीले थप छानविन र कारबाहीका लागि जिल्ला प्रशासन कार्यालय बझाङ पठाएको छ ।

जिल्ला प्रहरी कार्यालय बझाङका प्रमुख प्रहरी नायब उपरीक्षण गणेश वमले नियन्त्रणमा लिइएका वडाध्यक्षसहित नौ जनालाई सङ्क्रमण रोग ऐन २०२० अन्तर्गत कारवाहीका लागि जिल्ला प्रशासन कार्यालय पठाएको जानकारी दिए । प्रमुख जिल्ला अधिकारी उमेश पाण्डेले मेला सञ्चालनमा आरोपमा नियन्त्रणमा लिइएका वडाध्यक्षसहितको छानविन भइरहेको जानकारी दिए । ‘छानविन गर्दैछौँ,’ उनले भने, “दोषी भेटिए ऐनअनुसार कारबाही हुन्छ ।”

बझाङको छविसपाथिभेरा गाउँपालिकामा लकडाउनको बेवास्ता गरी बान्नीकी चैतेली नामक विशाल धार्मिक मेला सम्पन्न भएको थियो । सोही मेला सञ्चालनको आरोपमा छविसपाथिभेरा गाउँपालिका–२ का वडाध्यक्ष विकास ऐडी, वडा नम्बर ३ का वडाध्यक्ष केशवराज जोशी, वडा नम्बर ४ का वडाध्यक्ष अम्मरराज थापा र वडा नम्बर ५ का वडाध्यक्ष तथा गाँउपालिकाका प्रवक्ता लोकेन्द्रबहादुर ठगुन्नालाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।

अन्य पक्राउ पर्नेमा बान्नी मष्टा मन्दिरका पुजारी निर्पप्रसाद जोशी र उहाँका दुई सहयोगी फसलपाते पण्डित डम्बरबहादुर धामी र पूजारी जयकृष्ण जोशी, स्थानीय रजबार इन्द्रबहादुर सिंह र मन्दिर संरक्षण समितिका सचिव राजेन्द्रबहादुर सिंह रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment