Comments Add Comment

सांसद प्रदीप यादवलाई क्वारेन्टाइनमा राख्न गृहको निर्देशन

२७ चैत, वीरगञ्ज । सीमावर्ती सहर रक्सौलमा क्वारेन्टाइनमा बसेका नेपालीलाई भेट्न गएका कारण सांसद प्रदीप यादवलाई सरकारले होम क्वारेन्टाइनमा बस्न आग्रह गरेको छ ।

गृह मन्त्रालयले समाजवादी पार्टीका सांसद यादवलाई क्वारेन्टाइनमा राख्न स्थानीय प्रशासनलाई निर्देशन दिएको छ ।

उनी हालै मात्र भारतीय सीमा क्षेत्रमा नेपालीहरुलाई राखिएको क्वारेन्टाइन स्थल पुगेका थिए । त्यही कारण उनलाई क्वारेन्टाइनमा राख्न भनिएको गृह मन्त्रालय स्रोतले जनाएको छ ।

पर्साका प्रमुख जिल्ला अधिकारी विष्णुकुमार कार्कीले पनि यादवलाई होम क्वारेन्टाइनमा राखिएको बताए । ‘उहाँसहित क्वारेन्टाइन स्थलमा पुगेका चारै जनालाई होम क्वारेन्टाइनमा राखेका छौं र उहाँहरु हाम्रो निगरानीमा हुनुहुन्छ ।’

दुवै देश लकडाउनमा रहेको अवस्थामा सांसद सीमापारी गएर आएकोले उनी क्वारेन्टाइनमा बस्नुपर्ने माग चर्को रुपमा उठेको थियो ।

पूर्वसंविधानसभा सदस्य विचारी यादवले रक्सौल पुगेर आउने सांसदलाई क्वारेन्टाइनमा राख्न माग गरेका छन् । ‘लकडाउनको समयमा नेपाल भारत आवागमन बन्द छ उनी कसरी भारत पुगे ? कस कसलाई भेटेर आएका छन्, कसकसलाई लिएर आएका छन् ?’ उनले भने ‘तसर्थ सांसद यादव नियमाअनुसार १४ दिन क्वारेन्टाइन बस्नुपर्छ ।’

सांसद यादव, दुई जना स्थानीय पत्रकारसहित ४ जनाको टोली रक्सौल पुगेर त्यहाँ क्वारेन्टाईनमा राखिएका नेपालीलाई भेटेर फर्केका थिए ।

सांसद यादवसहित रक्सौल पुगेर आएका ४ जना १४ दिनसम्म बाहिर निस्कन नपाउने प्रजिअ कार्कीको भनाइ छ ।

लकडाउनका कारण सिमापारी रोकिएका नेपालीको अवस्था बुझ्न बुधबार रक्सौल गएको सांसद यादवले स्वीकार गरेका छन् । सांसद यादवले क्वारेन्टाइनमा रहेकालाई सेनिटाइजर, मास्क, फलफूल, चिउरा, बिस्कुट, बिकाजी भुजिया, जुस र खानेपानी लगायत सामग्री समेत वितरण गरेको बताए ।

‘सरकारलाई मात्रै होइन, हामी सबैलाई भारतमा बसेका नेपालीहरुको चिन्ता छ, लकडाउनका कारण जो जहाँ छ त्यही सुरक्षित रुपमा बस्नुपर्ने बाध्यता छ,’ साँसद यादवले भने, ‘उनीहरु संक्रमित पनि होइनन्, उनीहरुको अवस्था बुझ्नका लागि विश्व स्वास्थ्य संगठनले बनाएको मापदण्ड पालना गरेर भेटेर आएको हुँ । ’

होम क्वारेन्टाइनमा बस्न प्रशासनले आफूलाई आग्रह गरेको बताउँदै उनले त्यसका बारेमा सोच्न बाँकी नै रहेको बताए । ‘अहिले त घरमा नै छु । मैले संक्रमितलाई भेटेर आएको हैन । उनीहरु १३ दिनदेखि क्वारेन्टाइनमा छन् । उनीहरुमा संक्रमणको कुनै लक्षण देखिएको छैन’ उनले भने ‘मेरो विरुद्ध राजनीति भएको छ, अहिले नै के गर्ने कसो गर्ने निर्णयमा पुगिसकेको छैन ।’

रक्सोलस्थित हजारी मल उच्च माध्यमिक बिद्यालयमा त्यहाँको स्थानीय प्रशासनले क्वारेन्टाइन स्थापना गरेको छ । क्वारेन्टाइनमा रहेका २५ जना मध्ये १६ जना नेपाली छन् ।

भारतको गयामा सुरक्षागार्डको रुपमा काम गर्ने रुकुमको आठविसकोट नगरपालिका घर भएका प्रजित नेपालीसहित १४ जना मार्च ३१ तारिकमा रक्सौल आइपुगेका थिए ।

पटनास्थित होटलमा काम गर्ने २ युवाहरु उनीहरुको समूहमा थपिए । भारतीय प्रशासनले नै यातायातको ब्यवस्था मिलाएर उनीहरुलाई त्यहाँसम्म ल्याइदिएको थियो । तर नेपाल प्रवेश गर्ने क्रममा उनीहरु सीमामा रोकिएका थिए ।

उनीहरुलाई रक्सौलमा स्थानीय प्रशासनले बस्ने, खाने, नियमित स्वास्थ्य जाँच लगायतको सुविधा उपलब्ध गराएको छ । प्रत्येकलाई विछ्यौना सहितको खाट, ओढ्ने र झुलसहित बिहान बेलुका खानाको समेत राम्रो प्रबन्ध रहेको क्वारेन्टाइनमा रहेको नेपालीले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment