Comments Add Comment

कमसल खाद्यान्न बाँडेको भन्दै स्थानीयद्वारा राहत वितरणमा रोक

२७ चैत, वीरगञ्ज । कमसल खाद्यान्न वितरण गरेको भन्दै बाराको जैतापुरमा स्थानीयले राहत वितरणमा रोक लगाएका छन् । जीतपुरसिमरा उपमहानगरपालिका–१७ जैतापुरका बासिन्दाले राहत वितरणमा रोक लगाएका हुन् ।

सोना मन्सुलीको चामल भन्दै कनिका र भुस मिसिएको चामल विपन्नलाई राहत स्वरुप वितरण गरेको उनीहरुको आरोप छ । चर्को मूल्य देखाइ कमसल चामल बाँड्ने कार्यमा संलग्नलाई कारबाहीको माग उनीहरुले राखेका छन् ।

वडाले तीन जनासम्म परिवार संख्या भएकालाई २० किलो र त्योभन्दा बढी परिवार संख्या भएका परिवारलाई ३० किलो चामल सहितको प्याकेज तयार पारेको थियो । दुई सय विपन्न परिवारको पहिचान गरी बुधबारबाट राहत वितरण सुरु गरेको थियो । वडाले वितरण गरेको खाद्यान्न गुणस्तरहीन पाइएपछि त्यसमा संलग्नलाई कारबाही हुनुपर्ने माग राखेर राहत वितरणमा रोक लगाइएको स्थानीय प्रेम लामाले बताए ।

‘राहतको नाममा कनिका मिसिएको चामल वितरण गरिएको थियो। बुधबार नै हामीले राहत वितरणमा रोग लगाएका थियौँ,’ लामाले भने, ‘वडा अध्यक्षले बिहीबार १० बजेसम्ममा घरघरमा कमसल चामलको साटो राम्रो चामल पठाउने बाचा गरेका थिए, तर पूरा भएन । हामीले चामल बेच्ने व्यापारी र त्यसमा संलग्न सबैलाई कारबाही हुनुपर्ने माग राखेका छौँ। ’

महामारीका बेला गरिब र विपन्नको गाँसमा लापरबाही गर्ने किराना पसलेलाई कारबाही गर्नुपर्ने स्थानीय जगदीश चौधरीले जानकारी दिए । ‘असली मूल्यमा मिसावटयुक्त कमसल खाद्यान्न बिक्री गर्ने काला बजारीयालाई कडाभन्दा कडा कारबाही हुनुपर्छ ।’ उनले भने ।

गरिब र विपन्नलाई सरकारले दिने राहतमा लापरबाही गर्ने छुट कसैलाई नभएको भन्दै स्थानीयले वडा कार्यालय घेराउ गर्दै बिहीबार पनि राहत वितरणमा रोक लगाएका थिए । यसअघि बुधबार स्थानीयले किराना पसलका सञ्चालकलाई नियन्त्रणमा लिएर प्रहरीसमक्ष कारबाहीका लागि बुझाएपनि प्रहरीले साँझ छाडेको थियो ।

१७ नं. वडा समितिले उपेन्द्र साहले सञ्चालन गरेको किराना पसलबाट राहत सामग्री खरिद गरी वितरण गरेको थियो । प्रतिकेजी ४१ रुपैयाँका दरमा सोना मन्सुली चामल २० र ३० किलोको प्याकेटमा खरिद गरिएको थियो । चामलमा पसलेले बदमासी गरेको आशंका गरिएको वडा समिति सदस्य सञ्चराम थिङ्गले बताए ।

स्थानीयले वडाबाट राहतमा बाँडेको चामल कमसल भएको भन्दै स्थानीयले विरोध गरेपछि किराना सञ्चालकले चामल फिर्ता लैजाने र राम्रो चामल दिने वाचा वडा कार्यालय समक्ष गरेका छन् ।

चालम आफूसँग मौज्दात नरहेको र अन्यत्रबाट खरिद गरेर ल्याउँदा केही बोरामा कमसल देखिएको साहले स्वीकार गरेका छन् । ‘वडाले मागेजति चामल मसँग थिएन, विभिन्न मिलमा सम्पर्क गरी चामल जुटाएको थिएँ,’ साहले भने, ‘ केही बोरा कमसल परेछ । त्यसलाई फिर्ता लिएर राम्रो चामल दिन्छु भनेको छु ।’

कम गुणस्तरको चामल दिने किराना सञ्चालकलाई कारबाही नै हुनुपर्ने स्थानीयको अडान छ । वडा समिति र राहत वितरण समितिमा छलफल गरेर व्यापारीलाई कारबाहीका विषयमा टुंगोमा पुग्ने वडा अध्यक्ष नवराज खड्काले बताए ।

‘बुधबार ७ परिवारलाई राहत बाँडेर, ‘बाँकी कर्मचारीलाई बाँड्नू’ भनेर निस्केको थिएँ, २० र ३० किलोको दुई प्याकेज थिए, २० किलोको बोरामा कम गुणस्तरको चामल परेको रहेछ,’ उनले भने, ‘ व्यापारीले सबै चामल फिर्ता लिएर राम्रो गुणस्तरको चामल दिन्छु भनेका छन् । तर, स्थानीयले व्यापारीलाई कारबाही हुनुपर्ने माग राखेका छन् । जानेर हो वा अन्जानमा व्यापारीबाट गल्ती भइसकेको छ ।’

विवादलाई कसरी समाधान गर्ने भन्ने बारेमा शुक्रबार छलफलका लागि वडा समिति र राहत वितरण समन्वय समितिको बैठक बोलाइएको वडा अध्यक्ष खड्काले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment