Comments Add Comment

७० प्रतिशतले घट्यो दुग्धजन्य वस्तुको बिक्री

२७ चैत, बुटवल । कोरोना भाइरस संक्रमणको जोखिमका कारण देशव्यापी लकडाउन हुँदा अन्य क्षेत्र जस्तै डेरी उद्योग पनि नराम्ररी प्रभावित भएको छ । दूध र दुग्धजन्य वस्तुको खपत बढी हुने शहर बजार क्षेत्रमा बस्दै आएका अधिकांश नागरिकहरु लकडाउनका कारण गाउँ फर्केकाले दूध र दुग्धजन्य पदार्थको खपत ७० प्रतिशतले घटेको व्यवसायीहरुको भनाइ छ ।

मुलुकमा उत्पन्न असहज परिस्थितिका कारण दूध र दुग्धजन्य पदार्थको बिक्री नहुँदा बिहीबारसम्म देशभरका व्यवसायीलाई एक अर्ब ७५ करोड रुपैयाँ क्षति (घाटा) भएको डेरी एशोसिएसनले जनाएको छ ।

लकडाउनका कारण देशभर करिब पाँच अर्ब रुपैयाँको दुग्धजन्य परिकार स्टकमा रहेको नेपाल डेरी एशोसिएसनका महासचिव प्रल्हाद दाहालले बताए । ‘लकडाउनले बजार सुनसान छ, मानिसहरु त्रासले शहर छाडेर गाउँतिर लागेका छन्, होटल, रेष्टुरेन्ट, स्कुल, कलेज पुरै बन्द हुँदा दूध तथा दुग्धजन्य परिकारको बिक्री ७० प्रतिशतले घटेको छ’ उनले भने ‘डेरी उद्योगहरुले आफ्नो क्षमताले सक्ने सम्मको दूध संकलन, प्रशोधन र बजारीकरण गर्दै आएपनि करिब ५ अर्बको दुग्धजन्य पदार्थ स्टक भएको छ, पौने दुई अर्ब घाटा भइसकेको छ, जसका कारण किसानलाई पैसा दिन नसकिने अवस्था आउन सक्छ ।’

दुग्ध किसान र डेरी व्यवसीलाई धराशायी हुनबाट जोगाउन राहत सामग्रीको रुपमा दूध र दुग्धजन्य वस्तु पनि बाँड्न सकिने सुझाव एशोसिएसनले दिएको छ । ‘दूध तथा दुग्धजन्य पदार्थमा रोग प्रतिरोधात्मक तत्व पनि बढी हुने हुँदा राज्यका सबै तह र सहयोगी दाताहरुबाट प्रदान गरिने राहतका प्याकेजमा दुग्धजन्य पदार्थहरु पनि समाबेश गरि किसानको दूध बिक्री हुने वातावरण बनाउन एशोसिएसनका अध्यक्ष राधाकृष्ण सापकोटाले अपिल गरेका छन् ।

संघीय, प्रदेश र स्थानीय सरकारले दुग्ध किसान र डेरी व्यवसायीका समस्या मनन् गरेर सहयोग नगर्ने हो भने किसान पलायन भई दूधको हाहाकार हुने उनले बताए ।

नेपालमा दैनिक ६२ लाख लिटर दुध उत्पादन हुने गरेकामा औपचारिक क्षेत्रमा १७ प्रतिशत र अनौपचारिक क्षेत्रमा ३३ प्रतिशत खपत हुने गरेको छ भने कृषक स्वयंले ५० प्रतिशत उपभोग गर्ने गरेको डेरी एशोसिएसनको तथ्यांक छ ।

दाना अभाव भयो : किसान

लम्बिँदै गएको लकडाउनका कारण तयारी पोषणयुक्त दाना, पराल र घाँसको हाहाकार हुन थालेको किसानहरुले बताएका छन् ।

दानाको अभावमा उत्पादन घटाउनुपरेको नेपालकै ठूलो गाई फार्म लुम्बिनी एग्रो एण्ड रिचर्स सेन्टर रुपन्देहीका सञ्चालक शशि पौडेलले बताए । पाँच सय गाई पालेका उनका दुई सय गाई दुहुना छन् । लकडाउन अघि दैनिक दुई हजार लिटर दुध बिक्री गर्ने उनले अहिले दानाको अभावमा एक हजार लिटर मात्रै दुध उत्पादन गरेको बताए ।

खपत घटेपछि किसानहरुले कतै निःशुल्क दूध वितरण गर्नथालेका र कतिपयले दुध दोएर पशुलाई नै खुवाउन वाध्य भएका डेरी एशोसिएसनका प्रदेश ५ का अध्यक्ष कृष्णप्रसाद भट्टराईले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment