Comments Add Comment

तिलोत्तमाले बाँड्यो ३३ सय परिवारलाई २१ लाखको राहत सामग्री

२८ चैत, बुटवल । तिलोत्तमा नगरपालिकाले लकडाउनका कारण प्रभावित विपन्न परिवारलाई २१ लाख ४० हजार रुपैयाँ बराबरको राहत सामग्री वितरण गरेको छ ।

नगरपालिकाले २ सय ५५ क्वीन्टल चामल, ७१ क्वीन्टल दाल, ३२ क्वीन्टल नुन तथा एक हजार चार सय ४० थान साबुन खरिद गरेर राहतस्वरुप वितरण गरेको हो ।

नगर उपप्रमुख तथा राहत वितरण व्यवस्थापन समिति संयोजक जागेश्वरी चौधरीकाअनुसार हालसम्म नगरपालिकाले तीन हजार तीन सय परिवारलाई राहत वितरण गरिसकेको छ ।

पहिलो चरणमा २२ सय परिवारलाई र दोस्रो चरणमा ११ सय परिवारमा राहत पुर्‍याइएको उपप्रमुख चौधरीले बताइन् । लकडाउनको समय अझै बढेमा राहत वितरण प्रणालीलाई परिवार संख्याको आधारमा अघि बढाउने तयारी गरेको छ ।

प्रकोप व्यवस्थापन कोषमा ३६ लाख

नगरपालिकाको प्रकोप व्यवस्थापन कोषमा हालसम्म झण्डै नगद ३६ लाख रुपैंयाँ संकलन भएको छ । कोषमा नगर प्रमुख बासुदेव घिमिरेले व्यक्तिगत ५० हजार, उपप्रमुख जागेश्वरीदेवी चौधरीले १० हजार, स्वास्थ्य शाखामा कार्यरत स्वास्थ्यकर्मीहरु ईश्वरी पौडेल, गणेश गौतम, ज्ञानप्रसाद पौडेल र लिलाधर घिमिरेले २५ हजारका दरले एकलाख रुपैयाँ सहयोग गरेका छन् ।

त्यस्तै तिलोत्तमा नगरपालिकाका कर्मचारी तथा शिक्षकहरुको तीन दिन बराबरको तलब दिएका छन् । हालसम्म कोषमा १७ लाख २ हजार ६६५ रुपैंयाँ जम्मा भएको प्रवक्ता सुरेन्द्र श्रीले बताए ।

नगदको अतिरिक्त ७६ क्वीन्टल चामल, एक क्विन्टल दाललगायतका खाद्यबस्तु समेत नगरपालिकालाई विभिन्न व्यक्ति तथा वित्तीय संस्थाहरुले प्रदान गरेका छन् ।

तिलोत्तमा नगरपालिकाले कोरोना महामारीविरुद्धको पूर्वतयारी, संक्रमणको रोकथाम, नियन्त्रण तथा उपचारलगायतका काम गर्न संकट व्यवस्थापन केन्द्र गठन गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment