Comments Add Comment

चीन भर्सेस बाँकी विश्व : जब चीनले पासा पल्टायो

कोरोनासँग लड्न चीनको भर पर्दै विश्व

२८ चैत, काठमाडौं । धेरै होइन, मात्र दुई महिना अगाडिको अवस्था सम्झौँ । नेपालको छिमेकी चीनमा कोरोनाले कहर मच्चाइरहँदा बाँकी विश्व आफ्नै लयमा हिँडिरहेको थियो । पश्चिमा देशका मिडियाले त चीनलाई गिज्याउन पनि बाँकी राखेनन् ।

अहिले अवस्था उल्टिएको छ । संघर्षपूर्वक कोरोनाबाट बाहिर निस्केर चीन आफ्नो लयमा फर्किँदैछ । कोरोनाको इपिसेन्टरका रुपमा रहेको वुहान सहरलाई पनि उसले यसै साता खुला गर्‍यो । चीनमा कोरोना संक्रमण अहिले छिटपुट मात्रै बाँकी छ ।

तर, बाँकी विश्वलाई भने कोरोनाले हाराबारा खेलाइरहेको छ ।

कोरोना भाइरस चीनबाट फाल हान्दै युरोप पुग्यो । इटाली, फान्स, स्पेनजस्ता पूर्वाधार सम्पन्न देशमा तवाही मच्चायो । अनि अमेरिकामा पसेर अड्डा जमायो । विश्वकै शक्तिशाली मानिएको राष्ट्र अहिले ‘तोरीको फुल’ देखिरहेको छ ।

यतिबेला कोरोना भाइरसबाट आक्रान्त विश्वका शक्ति देशहरु त्यही चीनले देखाएको बाटो हिँडिरहेका छन्। जसको शासन प्रणालीलाई उनीहरुले सधैँ हियाउने गर्थे । समाजलाई बन्द राखेर जनताको स्वतन्त्रता हनन गरेको भनेर आलोचना गर्थे । अहिले उनीहरुलाई त्यही कम्युनिस्ट राष्ट्रको सहायता चाहिएको छ । अत्यावश्यक स्वास्थ्य सामग्रीको लागि अमेरिकाले समेत चीनसँग हात फैलाउनुपर्ने अवस्था आएको छ ।

दुई महिना अगाडिसम्म कोरोना चीनका लागि आतंकको विषय थियो । अहिले व्यापारको विषय बनेको छ । युरोप-अमेरिकादेखि भारत-नेपालसम्म मेडिकल सामग्रीहरु चीनबाट हारालुछ गर्दै निर्यात भइरहेका छन् । जुन महामारीले चीनको अर्थतन्त्र धराशायी बनाउने आशंका गरिएको थियो। त्यही महामारीबाट चीनले प्रशस्त पैसा आर्जन गर्न थालेको छ।

निर्यातको भेल

चीन सरकारको पछिल्लो तथ्यांक अनुसार उसले विश्वका ५० भन्दा बढी राष्ट्रलाई कोभिड-१९ सँग लड्न झण्डै डेढ अर्ब डलर (डेढ खर्ब रूपैयाँभन्दा बढी) विभिन्न सामग्री आपूर्ति गरिसक्यो । यो गत मार्च १ देखि गत शनिबारसम्मको आँकडा हो ।

चीनले निर्यात गरेका सामग्रीहरुमा मास्क मात्रै तीन अर्ब ८६ करोड थान छन् । यसैगरी, दुई करोड ७५ लाख थान पीपीई, २४ लाख १० हजार थान इन्फारेड थर्मोमिटर उसले निर्यात गरेको छ । साथमा १६ हजार भेन्टिलेटर -चार हजार इन्भेसिभ भेन्टिलेटरसहित) र टेस्टिङ किट्सहरु पनि ।

जतिबेला चीनमा कोरानाको संकट उत्पन्न भयो, चिनियाँ कम्पनीहरुले मेडिकल सामग्रीहरुको उत्पादन र वितरण ह्वात्तै बढाएका थिए । चीनमा कोरोना संक्रमण कम भइसकेपछि त्यहाँ माग घटेको छ । त्यसैले उत्पादित सामग्रीहरु बाहिर निर्यात गर्न थालिएको हो ।

कोरोनासँग जुझिरहेका अधिकांश राष्ट्र, चाहे जति शक्तिसम्पन्न किन नहुन्, तिनमा अहिले पीपीई लगायतका सामग्रीहरुको अभाव छ । ती देशमा आफ्नो उत्पादनले धान्न सक्ने अवस्था नै छैन । तर, किन्ने कहाँ ? सबैजसो देश या त प्रकोपसँग लडिरहेका छन्, या प्रकोपबाट बच्न उच्च सतर्कता अपनाइरहेका छन् । त्यसैले यस्ता हेल्थ किटहरु उच्च परिमाणमा बेच्न सक्ने अवस्थामा चीनबाहेक अरु राष्ट्र छैनन् ।

अत्यधिक मागसँगै मूल्य त बढ्ने नै भयो । कतिपय चिनियाँ कम्पनीले एउटै सामग्रीको मूल्य १०-१५ गुणासम्म बढाएर बेचिरहेका छन् । त्यो पनि किन्नलाई हानाथाप नै छ । नेपालमा सरकारले आयात गरेका सामग्रीहरु पनि अत्यधिक मूल्य तिरिएको भनेर देशभित्र आलोचना भएको थियो ।

केही दिनअघि ब्राजिलले आफूले चीनबाट ल्याउन ठिक्क पारेका ठूलो परिमाणमा मेडिकल सामग्रीहरु बढी मूल्य तिरेर अमेरिकाले ‘हाइज्याक’ गरेको आरोप लगायो । यसैबाट थाहा हुन्छ कि संकट कति गहिरो छ ।

चीनको उत्पादन क्षमता

कोरोनाको कहर सुरु भएदेखि चिनियाँ कम्पनीहरुले मेडिकल सामग्रीहरुको उत्पादन लगातार बढाइरहेका छन् । उद्योग तथा सूचना प्रविधि मन्त्रालयका अनुसार अहिले यहाँ दैनिक १५ लाखभन्दा बढी पीपीई तयार हुन्छन् । यसैगरी, एन९५ मास्कको उत्पादन क्षमता दैनिक ३४ लाख थान पुगेको छ । गत मार्च १५ सम्म पीपीई दैनिक आठ लाख ४२ हजार र मास्क १८ लाख मात्रै उत्पादन भइरहेको थियो ।

सरकारद्वारा अनुमतिप्राप्त कम्पनीहरुहरुले मात्रै दैनिक दुई लाख ९० हजार प्रोटेक्टिभ गगल्स उत्पादन गरिरहेको अधिकारीहरु बताउँछन् । यसैगरी, दैनिक चार लाख १० हजार अन्फारेड थर्मोमिटर उत्पादन भइरहेको छ । यो आँकडा पनि एक महिना अगाडिको तुलनामा निकै बढी हो ।

यस्तै, अहिले चीनमा एक सातामा दुई हजार दुई सय युनिट इन्भेसिभ भेन्टिलेटर उत्पादन हुन्छन् । यो विश्वव्यापी उत्पादनको झण्डै पाँच भागको एक भाग हो । भेन्टिलेटर तयार गर्नका लागि आवश्यक सामानहरुको भने अभाव हुन थालेको कम्पनीहरुले बताएका छन् ।

तर, अझै पनि विश्वको माग धान्न सकिरहेको छैन चीनले । यही मौकामा व्यापार गर्ने होडमा केही कम्पनीहरुले सरकारको अनुमतिबिना अनाधिकृतरुपमा समेत उत्पादन गरिरहेका छन् । ती सामानहरुको गुणस्तरमा आफू जिम्मेवार नहुने चिनियाँ सरकारले बताएको छ । उसले अनुमतिप्राप्त कम्पनीहरुको सूची हेरेर मात्रै सामान खरिद गर्न अन्य देशलाई आग्रह गरिरहेको छ ।

गुणस्तरमा विवाद

चीनले कोभिड-१९ सँग लड्न विश्वभरका राष्ट्रलाई स्वास्थ्य सामग्री आपूर्ति गरेर धन्यवादको पात्र त बनेको छ । तर, यसबीचमा केही विवादहरु पनि सतहमा आएका छन् । युरोपका नेदरल्यान्ड्स, स्पेन र स्लोभाकियाजस्ता देशमा चिनियाँ सामग्रीको गुणस्तरलाई लिएर ठूलै बबण्डर भयो ।

कोरोनाबाट अत्यधिक प्रभावित राष्ट्रका रुपमा रहेको स्पेनले चिनियाँ कम्पनीसँग गत २७ मार्चमा खरिद गरेका टेस्टिङ किट्सहरु गुणस्तरीय नभएको भन्दै बजारबाट फिर्ता गर्‍यो । ती किट्सहरुको एक्युरेसी केवल ३० प्रतिशत रहेको स्पेनले दाबी गरेको छ । यसमा स्पेन स्थित चिनियाँ राजदूतावासले आपूर्तिकर्ता सरकारको लाइसेन्सप्राप्त नभएको स्पष्टीकरण दियो ।

गत ३१ मार्चमा चीनको नेसनल मेडिकल प्रोडक्ट्स एड्मिनिस्ट्रसनले कोरोना भाइरसका टेस्ट किट्स निर्यात गर्नेहरुले सरकारबाट अनिवार्य दर्ता प्रमाणपत्र लिनुपर्ने व्यवस्था गरेको छ ।

यसैगरी, अर्को युरोपेली राष्ट्र नेदरल्यान्ड्सले चीनबाट आयात गरिएका दशौं‌ हजार मास्क अनुहारमा राम्ररी नबसेको र यसले भाइरस रोक्न नसक्ने भन्दै आलोचना गर्‍यो । यसमा प्रतिक्रिया दिँदै चिनियाँ अधिकारीले आफ्नो देशमा फरक-फरक गुणस्तरका निर्यातजन्य वस्तुहरु उत्पादन हुने भन्दै तिनीहरुको प्रयोग उचित ढंगले गर्नुपर्ने बताए ।

स्लोभाकियाका प्रधानमन्त्री इगोर मातोभिकले गत महिना चीनबाट प्राप्त गरेका १० लाखभन्दा बढि टेस्ट किट्सहरु काम नलाग्ने भएकाले नदिमा बगाइदिएको दावी गरे । यसमा प्रतिक्रिया दिँदै चीनको विदेश मन्त्रालयका प्रवक्ताले ‘थथ्यका आधारमा समस्याको समाधान खोज्न र यसलाई राजनीतिक रंग नदिन’ आग्रह गरे ।

उनले भने, ‘हामीले पनि सुरुमा कोरोनासँग लड्दा विभिन्न देशबाट ल्याइएका सामग्रीमा खोट भेटेका थियौं । तर, ती देशको राम्रो मनसायको कदर गर्दै कुनै विवाद गरेनौं ।’

नेपालमा पनि चीनबाट आयातित सामग्रीहरुको गुणस्तरमा धेरै प्रश्न उठेका छन् । वास्तविक मूल्यभन्दा कयौँ गुणा बढी तिरेर सामान आयात गरिएको थियो । ती सामान पनि मागबमोजिम नभएपछि सरकारले आयातकर्तासँगको सम्झौता तोडेर नयाँ प्रक्रियामा गइसकेको छ ।

त्यसो त सबै देशले चीनबाट प्राप्त सामग्रीहरुमा खोट लगाएका छैनन् । उदाहरणका लागि इटालीले चीन र क्युवाजस्ता राष्ट्रबाट संकटको बेला प्राप्त सहायताको खुलेर प्रशंसा गरेको छ । त्यहाँ चिनियाँ सामग्री ठूलो संख्यामा आयात भएर प्रयोगमा आइरहेका छन् ।

चीन भर्सेस अमेरिका

चीन अहिले हरेक हिसाबले विश्वकै शक्तिसम्पन्न मुलुकको सूचीमा पर्छ । कोरोना भाइरसको प्रकोपलाई उसले जसरी नियन्त्रणमा लिन सफल भयो। त्यसले विश्वस्तरमा चीनको साख अझ उच्च बनाएको छ । अहिले अमेरिकाजस्तो चीनलाई प्रमुख प्रतिस्पर्धी ठान्ने देशले पनि कोरोनाविरुद्ध लड्न उसैको मुख ताक्नु परिरहेको छ ।

जतिबेला चीनमा कोरोना भाइरसको संक्रमण फैलिन थाल्यो, त्यसबेला अमेरिकाले आफूप्रति रुखो व्यवहार गरेको चीनले आरोप लगाएको थियो । चीनको वुहान सहरमा संक्रमण देखिनासाथ अमेरिकाले अत्यावश्यकबाहेक बेइजिङस्थित आफ्नो दूतावासका सबै कर्मचारी तथा तिनका परिवारलाई फिर्ता बोलाएको थियो । साथै, चीनबाट वा पछिल्लो दुई साता त्यहाँ गएका कुनै पनि देशका नागरिकलाई आफ्नो देशमा प्रवेश नदिने निर्णय उसले लिएको थियो ।

यस्तो कठोर कदम चाल्ने विश्वमै पहिलो देश अमेरिका थियो । यसलाई लिएर चीनले ‘अमेरिकाले अनावश्यक त्रास उत्पन्न गर्न खोजेको’ आरोप लगायो । अहिले आएर अमेरिका आफैँ कोरोनाको भुङ्ग्रोमा परेको छ । संसारमा सबैभन्दा बढी संक्रमित अमेरिकामा नै छन् । संक्रमित संख्या चार लाख नाघ्दा मर्नेहरुको संख्या १५ हजार नाघेको छ । कोरोनालाई परास्त गर्न अमेरिकाले कुनै आक्रामक रणनीति लिन सकेको छैन ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोनाभाइरसलाई बारम्बार ‘चाइनिज भाइरस’ को नाम दिए । जसमा चीनले आपत्ति जनायो । इटालीले समेत अमेरिकाको लहैलहैमा राखेर यसलाई ‘चाइनिज भाइरसको संज्ञा दिएको थियो । यही ‘चाइनिज भाइरस’ ले गाल्दै लगेपछि दुबै देश चीनसँग सम्बन्ध सुधार्नेतर्फ लागेका छन् ।

कोरोनाको प्रकोपले अमेरिका, इटाली हल्लिइरहँदा चीनले कुनै प्रतिशोधको व्यवहार देखाएको छैन । बरु सहयोग नै गरिरहेको छ । अमेरिकालाई स्वास्थ्य सामग्रीहरु उल्लेख्य परिमाणमा निर्यात गरिसकेको चीनले भविष्यमा पनि सहयोग जारी राख्ने प्रतिवद्धता जनाएको छ ।

अब नयाँ महाशक्ति चीन ?

अहिले कोरोनाभाइरस नियन्त्रणमा धेरै देशहरु चीनको शरण परिरहेका छन् । विश्वको नक्शा हेर्ने हो भने अमेरिका र ल्याटिन अमेरिकी देशहरुलाई छोडेर बाँकी देशहरुमा कोरोनाले सुँड पसारिसकेको छ । यस्तो बेला अनुभव र स्रोत-साधन दुबैले धनी चीनमाथि सबै देशको आशापूर्ण नजर छ ।

चीन पहिल्यैबाट विश्वको ‘म्यानुफ्याक्चरिङ हब’का रुपमा चिनिन्छ । चीनका उत्पादनहरु विश्वभरि फैलिएका छन् । व्यापार फैलिनु भनेको प्रभाव विस्तार पनि हो । अहिले चीनबाट मेडिकल इक्युपमेन्ट आयात गरिरहेका देशहरु स्वभाविकरुपमा चीनप्रति अनुग्रहित वा ऋणी बन्नेछन् ।

यता अमेरिकासँग कोरोना भाइरसबाट मुक्तिका लागि कुनै बलियो कार्ययोजना छैन । राष्ट्रपति ट्रम्पले देशलाई लकडाउन गरेका छैनन् भने डढेलोजसरी भाइरस फैलनबाट रोक्न पनि सकेका छैनन् । बडो फुर्तीसाथ उनले ‘अमेरिका बन्द हुनका लागि बनेको देश होइन’ भने पनि अहिले उनको त्यो फुर्ती सेलाएको छ । तर, पनि अब कुन मोडेलमा जाने भन्नेमा उनी अन्योलमै देखिन्छन् । जबकि अमेरिकी स्वास्थ्य प्रणालीमा संकट आइसकेको छ ।

ट्रम्प स्वयंले कोरोना भाइरसबाट अमेरिकामा दुई लाख ४० हजारसम्म मानिसको मृत्यु हुनसक्ने बताएका छन् । यदि साँच्चै त्यस्तो भयो भने अमेरिकालाई मानवीय मात्र होइन, आर्थिक रूपमा पनि अभूतपूर्व क्षति हुन सक्छ । उसको सुदृढ अर्थतन्त्र धराशयी बन्न सक्छ । त्यसबाट उठेर विश्वमा आफ्नो पुरानो दवदबा फर्काउन अमेरिकालाई सहज हुने छैन । त्यो अवस्थामा अमेरिकाको विश्व महाशक्तिको ताज भुइँमा खस्न र त्यसलाई चीनले टिपेर आफ्नो शीरमा लगाउन असम्भव छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment