Comments Add Comment
साहित्य :

नोवेल पुरस्कार बिजेता अर्नेस्ट हेमिङ्गवेको जीवनलीला

साहित्यतर्फको सन् १९५४ को नोवेल पुरस्कार पाउने अमेरिकी साहित्यकार सबैभन्दा बढी ‘द ओल्ड म्यान एण्ड सी’ उपन्यासले बढी चिनिन्छन् । आकारले सानो यो उपन्यास महाकवि देवकोटाको मुनामदन जस्तै हो ।

पत्रकारिता, खेलकुद र लेखन अँगालेका उनी जीवनको उत्तरार्धमा लेखनमा मात्र केन्द्रित भएका थिए । साहित्यमा उनी खासगरी उपन्यास र कथा विधामा केन्द्रित थिए । यद्यपि उनले गैर आख्यानका पुस्तकहरु पनि लेखेका थिए ।

अर्नेष्ट हेमिङ्गवेको जन्म सन् १८९९ को जुलाई २१ का दिन इलिनोय राज्यको शिकागो बाहिर ओक पार्क भन्ने ठाउँमा भएको थियो । उनी चिकित्सक पिता क्लेरेन्स एडमण्ड तथा संगीतकार आमा ग्रेस हल हेमिङ्वेका छ सन्तानमध्ये माहिला थिए ।

उनले आफ्नो स्कुले शिक्षा ओक पार्क तथा रिभर फरेष्ट हाई स्कुलबाट प्राप्त गरेका थिए । उनले स्कुले जीवनमै पत्रकारिताको आरम्भ गरेका थिए । अमेरिकाका प्रख्यात साहित्यकारहरु मार्क ट्वैन, स्टेफेन क्रेन, थियोडोर ड्रेजर, सिङ्क्लेयर लेविज जस्तै उपन्यासकार बन्नुअघि पत्रकार बने । हाईस्कुल सक्नेबित्तिकै उनले ‘कानसास सिटी स्टार‘ मा क्लव रिपोर्टरको रुपमा काम गरेका थिए ।

प्रथम विश्वयुद्धको बेला सन् १९१८ मा हेमिङ्गवे पेरिस पुगेका थिए न्युयोर्कबाट पानी जहाजमा । त्यहाँबाट इटाली पठाइए । उनी जुलाई ८का दिन मोर्टार प्रहारबाट गम्भीर रुपले घाइते भए । घाइते हुँदा पनि उनले आफ्नो सेवा कार्य गरिरहे जसका लागि उनले ‘इटालियन सिल्भर मेडल अफ ब्रेभरी’ पदक पाए।

उनले स्वास्थ्यलाभ गर्ने क्रममा रेडक्रसमा काम गर्ने आफूभन्दा सात वर्ष जेठी आग्नेस भान कुरोस्कीको प्रेममा परे । उनीहरुले सन् १९१९ को जनवरीमा अमेरिका गएर बिहा गर्ने प्रण गरे । तर, त्यो प्रण पूरा भएन । अचानक हेमिङ्गवेले आग्नेशको चिट्ठी पाए, ‘म इटालियन अफिसरसँग बिहे गर्ने टुङ्गोमा पुगेँ।’

आग्नेशले उनीहरुको सम्बन्धलाई अस्वीकार गरेकोमा हेमिङ्गवेलाई ठूलो चोट पर्‍यो । उनी आहत भए । त्यो चोटले गर्दा उनले जीवनभर कुनै स्वास्नीमान्छेलाई त्यस्तो अवसर कहिल्यै दिएनन् । उनले बिहे गरेका श्रीमतीहरुलाई पनि उनले त्यो मौका दिएनन् ।

पहिलो विवाह

प्रथम विश्वयुद्धमा भाग लिएर युरोपबाट फर्केपछि हेमिङ्गवे सन् १९२० मा सिकागोको नर्थ स्ट्रिटमा अपार्टमेण्टमा बस्थे। त्यहीँ उनको भेट पियानो बादक, साहित्य, कला तथा संगीत भनेपछि हुरुक्कै हुने एलिजावेथ हाड्ले रिचार्डसनसँग परिचय भयो ।

त्यो परिचय गाढा भयो । एक अर्कालाई दुवैले मन पराए । प्रेममा गाँसिएपछि हाड्ले आफ्नो घर सेण्ट लुइस फर्किन् । उनीहरु दुई महिना छुट्टिनु परेको थियो र यी दुई महिनामा उनीहरुले एक अर्कालाई दिनदिनै चिट्ठी लेख्दथे । उनीहरुको उमेरमा ८ वर्षको अन्तर थियो ।

सन् १८९१ नोभेम्बर ९ मा मिजौरी राज्यको सेण्ट लुइसमा जन्मेकी हाड्ले हेमिङ्गवेभन्दा जेठी थिइन् । उनीहरुको उमेर अन्तर भए पनि प्रेममा अन्तर थिएन । यस विषयमा हाड्लीले कुरा उठाउँदा हेमिङ्गवेले उमेरले क्यै फरक नपर्ने अड्डी लिएका थिए ।

दुई महिनापछि हेमिङ्गवे सेन्ट लुइस पुगे । जुन महिनामा हाड्लेले आफ्ना साथीभाइ र दिदीको विरोध हुँदाहुँदै पनि हेमिङ्गवेसँग बिहा गर्ने घोषणा गरिन् । हाड्लेले हेमिङ्गवेको प्रतिभा चिनेकी थिइन् । उनी हेमिङ्गवेका लागि उपयुक्त पात्र भएको उनको मनले ठहर्‍याएको थियो ।

अन्तत: सन् १९२१ को सेप्टेम्बर ३ का दिन उनीहरुको विवाह भयो । उनीहरुले वालुन लेकमा अवस्थित हेमिङ्गवे परिवार समर कटेजमा हनिमुन मनाए । बिहापछि हेमिङ्गवे सपत्नी पेरिस उडे । उनले ‘द टोरोण्टो स्टार’ पत्रिकाको युरोप प्रतिनिधिका रुपमा नियुक्ति पाएका थिए ।

पेरिस गएपछि उनीहरु जर्मनीको भ्रमणमा पनि गए । पेरिसमा हेमिङ्गवेले पुस्तक पसल र प्रकाशक शेक्सपियर एण्ड कम्पनी चलाउने सिल्भिया वीचलाई भेटे । यही पुस्तक पसलमा उनले जेम्स ज्वायसलाई भेटे । जेम्सको विश्वविख्यात उपन्यास ‘युलाइसिस’ सिल्भियाले नै प्रकाशित गरेकी थिइन् । पेरिसमा उनको भेट एज्रा पाउण्ड, गेट्रयुड स्ट्रन लगायतका कवि लेखकसँग पनि परिचय भयो ।

सन् १९२२ को डिसेम्बरमा हेमिङ्गवे रिपोर्टिङका लागि जेनेभा गएका थिए । उनलाई भेट्न हार्डली पेरिसबाट जाँदा हेमिङ्गवेको पाण्डुलिपिहरुले भरिएको यौटा सुटकेस हरायो । यो घटनाले हेमिङ्गवे रिसले आगो भए । यो ठूलो नोक्सानी थियो ।

त्यसको केहीपछि हाड्ले गर्भवती भइन् । अनि उनीहरु टोरन्टो फर्किए । १० अक्टोवर १९२३ मा उनीहरुको पहिलो सन्तान जोनको जन्म भयो । उनीहरु पुनः पेरिस फर्किए । पेरिसमा यसपल्ट हेमिङ्गवेले एज्रा पाउण्ड तथा फोर्ड म्याडक्स फोर्डको आधुनिकतावादी पत्रिका ‘ट्रास्लाण्टिक रिभ्यु’ सम्पादनको काम थाले । त्यो वर्षको हिउँदमा उनीहरुले वार्षिक छुट्टी अष्ट्रियामा मनाएका थिए ।

त्यसवर्षको क्रिसमसमा हेमिङ्गवेको परिचय पाउलिन पिफरसँग भयो । त्यो परिचय प्रेममा बदलियो । यो सम्बन्धको बारेमा थाहा पाएपछि हेमिङ्गवे र हाड्लेकाबीच तनाव सुरू भयो । अनि उनीहरु पार पाचुके गर्ने निर्णयमा पुगे । हेमिङ्गवेले आफ्नो सम्पत्तिको हिस्साबाहेक लेख्दै गरेको उपन्यास ‘द सन अल्सो राइजेज’ को रोयल्टी हाड्ललाई दिने बताए र हाड्लेले त्यो सकारिन् ।

१९२७ जनवरीमा उनीहरुको पारपाचुके भयो ।

दोस्रो विवाह

हाड्ले रिचार्डसनसँग पारपाचुके भएकै वर्ष १९२७ को मे १० मा पाउलिन पिफरसँग दोश्रो विवाह गरे । अनि हनिमुनका लागि फ्रान्सकै ले ग्राउ द रो गए ।

पाउलिन होची, छरितो जीउडाल तथा कालो कपाल भएकी आकर्षक थिइन् । पाउलिनका परिवार धनी क्याथोलिक थिए । विवाह अघि नै हेमिङ्गवेले पनि आफूलाई क्याथोलिकमा परिवर्तन गराए । पाउलिन गर्भवती भएपछि उनीहरु अमेरिका फर्कने निधोमा पुगे ।

साहित्यकार जोन डस पासोसले उनीहरुलाई फ्लोरिडाको पुछारको तटीय सहरको वेस्टमा जाने सल्लाह दिए र उनीहरु त्यहीँ गए । पाउलिनबाट हेमिङ्गवेलाई प्याट्रिक र ग्रेगोरी दुई सन्तान प्राप्त भयो ।

सन् १९३३ मा हेमिङ्गवे र पाउलिन पूर्वी अफ्रिकाको सफारीमा गए । यो १० हप्ता लामो यात्रा थियो ।

यो यात्राले हेमिङ्गवेलाई ‘ग्रिन हिल्स अफ अफ्रिका’ का लागि लेखन सामग्री प्राप्त भयो । त्यस्तै, उनका उनका विख्यात कथाहरु ‘ द स्नो अफ किलिमन्जरो, द सर्ट ह्याप्पी लाईफ अफ फ्रान्सिस माकोम्वर‘ जस्ता कथा पनि यही भ्रमणका उपलब्धि हुन् । उनीहरुले केन्याका मोम्वासा, नैरोवी, माचाकोस भ्रमण गरेका थिए । अनि सेरेनगेटीमा सिकार पनि खेलेका थिए ।

सन् १९३७ मा स्पेन भ्रमणका बेला हेमिङ्गवेको मार्था गेलहर्नसँग प्रेमालाप सुरू भयो । त्यसको नतिजा सन् १९४० को नोभेम्बर ४ का दिन पाउलिनसँग पारपाचुके भयो ।

तेस्रो विवाह

पाउलिनसँग पारपाचुके भएको १५ दिनमै २० नोभेम्वरका दिन मार्था गेल्हर्नसँग हेमिङ्गवेले बिहा गरे । यो विवाह वेमिङ राज्यको चेयने सहरमा सम्पन्न भएको थियो ।

हेमिङ्गवेलाई उनको प्रख्यात तथा महत्वपूर्ण उपन्यास ‘फर हुम द वेल टोल्स’ लेख्न मार्थाले प्रेरित गरेकी थिइन् । यो उपन्यास हेमिङ्गवेले क्युवा, वेमिङ तथा सन भ्यालीमा लेखेका थिए । यो उपन्यास अक्टोबर १९४० मा प्रकाशित भएको केही महिनामै पाँच लाख प्रतिबिक्री भएको थियो ।

मार्थाले काम गर्ने कोलियर पत्रिकाले उनलाई सन् १९४१ को जनवरीमा चिनमा खटायो र हेमिङ्गवे पनि उनको साथ लागेर गए र मार्थालाई रिपोर्ट पठाउन सहयोग गरे । मार्था आफ्नो पत्रकारिताको कर्ममा अति व्यस्त थिइन् । उनले दोस्रो विश्वयुद्धका रिपोर्टहरु फिनल्याण्ड, हङकङ, वर्मा, सिंगापुर, बेलायत आदि ठाउँबाट गरेकी थिइन् । उनले भनेकी थिइन्, ‘मैले युद्धलाई पछ्याएर पुग्न सकिने सबै ठाउँ पुगेर रिपोर्टिङ गरेँ ।’

उनको व्यस्तताले दाम्पत्य जीवनमा फाटो ल्याउने काम गर्यो । एकपल्ट रिसको झोकमा हेमिङ्गवेले लेखे, ‘तिमी युद्ध पत्रकार हौ कि मेरो ओछ्यानकी स्वास्नी ?’ तर, मार्था आफू काममा बढी प्रतिबद्ध थिइन् र आफूलाई ‘पाँचै महादेशमा सबैभन्दा खराब ‘ओछ्यानको साथी’ मान्दथिन् । उनको स्वाभिमान थियो, ‘हेमिङ्गवेलाई भेट्नु अघिदेखि नै म लेखिका थिएँ।’

उनीहरु बीच चार वर्षको दाम्पत्य जीवन निकै उकाली ओरालीकासाथ बित्यो र सन् १९४५ मा उनीहरुले पारपाचुके गरे । उनीहरुको दाम्पत्य जीवनमा कुनै बच्चा भएनन् ।

चौथो विवाह

हेमिङ्गवेको चौथो तथा अन्तिम श्रीमती थिइन्, मेरी वेल्स । यिनले हेमिङ्गवेको जीवनकालभरि साथ थिइन् र विधवा भइन् ।

हेमिङ्गवे र मेरी वेल्सको चिनाजानी सन् १९४४ मा भएको थियो । मेरी ‘टाइम’ पत्रिकाकी संवाददाता थिइन् । चिनाजानीपछि उनीहरु घनिष्ठ भए । तर, दुवै विवाहित थिए र आ-आफ्ना पति र पत्नीसँग छुट्टिएका थिएनन् ।

हेमिङ्गवेले मार्थासँग र मेरीले आफ्नो पति निओल मोङ्कसँग पारपाचुके गरे । अनि १९४६ को मार्चमा उनीहरुले विवाह गरे । अगस्टमा मेरीको गर्भपतन भयो । त्यसपछि उनको कहिल्यै गर्भ रहेन ।

विवाहपछि उनीहरु क्युवा गएर बसे ।

सन् १९४८ मा हेमिङ्गवे र मेरीले युरोपको व्यापक भ्रमण गरे र भेनिसमा बढी समय व्यतीत गरे । भेनिसमा छँदा हेमिङ्गवे १९ वर्षकी किशोरी आड्रियाना इभानसिचसँग प्रेममा परे ।

तर, यो प्रेम आदर्शवादी थियो, प्लाटोनिक । यो प्रेमले एउटा उपन्यास लेख्न प्रेरणा प्राप्त भयो र उनले ‘ए क्रस द रिभर एण्ड इन्टु द ट्रिज’ लेखे । तर, यो उपन्यासले समीक्षकहरुबाट स्वागत पाउन सकेन । अनि उनले आठ हप्तामा ‘द ओल्ड म्यान एन्ड द सी’ लेखे । यो सानो कायाको उपन्यास लेखिसकेपछि उनले भने, ‘मैले जीवनमा लेख्नसक्ने सबै खुबी यसमा लगाएको छु ।’

हुन पनि यो उपन्यास महिनाको श्रेष्ठ पुस्तकमा छानियो र उनलाई सेलिब्रेटीको स्थानमा पुर्‍यायो । यो पुस्तकको पहिलो संस्करण ५० हजार प्रति बिकेको थियो । अनि यसले पुलित्जर पुरस्कार पनि पायो । उनलाई नोवेल पुरस्कार दिने निर्णय गर्दा यो उपन्यासको उल्लेख गरिएको छ ।

नोवेल पुरस्कार

२८ अक्टोवर १९९४ को बिहान हेमिङ्गवेकी चौथी श्रीमती मेरी वेल्स हेमिङ्गवे लोग्नेको तातो अँगालोमा ओछ्यानमा लुपुक्क टाँसिएकी थिइन् । हेमिङ्गवेले उनको कानमा सुस्तरी फुस्फुसाए, ‘मैले एउटा कुरा जितेँ नि !’

‘के कुरा ?’ मेरीले निद्रालु आवाजमा भनिन् ।

‘त्यहीँ स्वीडिस कुरा !’

अर्नेस्ट  हेमिङ्गवेलाई सन् १९‍५४ को साहित्यतर्फको नोवेल पुरस्कार दिइने घोषणा भएको थियो ।

स्वास्थ्यका कारण उनी पुरस्कार समर्पण समारोहमा जान सकेनन् र स्वीडेनका लागि अमेरिकाका राजदूत जोन सि कावोटलाई पुरस्कार स्वीकार गर्दाको आफ्नो लिखित भाषण पढ्न आग्रह गरे ।

सो भाषणमा उनले लेखेका थिए, ‘लेखन ऐकान्तिक जीवनको विशिष्ट प्रस्तुति हो । ….यौटा सच्चा लेखकले हरेक पुस्तकमा नयाँ थालनी गरेको हुन्छ । उसले सधैँ पहिला नलेखिएको वा लेख्न कोसिस गरेर असफल भएका काम गर्नुपर्छ । तब कहिलेकाहीँ भाग्यले साथ दिएमा सफल हुन्छ । …एउटा लेखकले उसले भन्न खोजेको कुरा लेख्नुपर्छ तर बोल्नुहुँदैन ।’

हेमिङ्गवेको जीवनको उत्तरार्ध

हेमिङ्गवे जीवनको उत्तरार्धमा पनि सक्रिय थिए । उनी आफ्ना प्रिय स्थानहरु युरोपका पेरिस लगायतका सहरहरु, फ्लोरिडाको की वेष्ट, क्युवाको हवाना लगायतका स्थानहरुको भ्रमण गरिरहे । तर, पछि स्वास्थ्यले साथ दिएन ।

उनले पारपाचुके गरेका श्रीमतीहरुसँग पनि एक दुरीको राम्रै सम्पर्क थियो । विशेषगरी जेठी श्रीमतीसँग उनको राम्रो सम्बन्ध थियो । आफ्ना साहित्यिक मित्रहरु विलियन वटलर यिट्स, फोर्ड म्याडोक्स फोर्ड, एफ स्कट फिटजेराल्ड, शेरउड एन्डरसन, जेम्स ज्वायस, गेर्ट्रयुड स्टेन भकाभक मरेपछि हेमिङ्गवेलाई त्यसले चिन्तित बनायो र डिप्रेसनको सिकार भए ।

सन् १९५५ देखि १९५६ को सुरुवातसम्म उनी एक प्रकारले ओछ्यानै परे । उनलाई डाक्टरले मदिरा पिउन मनाही गरे । उनलाई उच्च रक्तचाप, कलेजोमा खराबी लगायतका रोगले आक्रमण गरेको थियो । उनका हराएका पाण्डुलिपिहरू पाइएका थिए र त्यसैलाई पुनर्लेखन गरेर ‘मुभेवल फिस्ट’ कृति तयार भयो र प्रकाशित भयो ।

सन् १९५९ मा उनी स्पेनको ‘बुलफाइटिङ’ हेर्न गए । यो ‘लाइफ’ पत्रिकाको फिचरका लागि थियो । सम्पादकहरु १० हजार शब्दको आलेख चाहन्थे । तर, उनले त एउटा सग्लो पुस्तक आकारको लेखिदिए । एक लाख तीस हजार शब्दको । त्यसलाई ४० हजार शब्दको आलेख बनाएर छापियो ।

सन् १९६१ तिर हेमिङ्गवे मानसिकरुपले अस्थिर हुन थालेका थिए । एकदिन मेरीले उनलाई शटगन हातमा लिएर बसेको देखेपछि आत्तिएर सहयोग मागिन् र उनलाई सन भ्याली अस्पताल पुर्‍याइयो । उनलाई त्यहाँ विद्युतीय झड्का दिएर उपचार गराइयो ।

पछि जुन महिनामा उनी अस्पतालबाट मुक्त भए । तर, २ जुलाइ १९६१ को बिहान हेमिङ्गवेले आफूले सधैँ खेलाइरहने उनको प्रिय सटगनले आफूलाई सदाका लागि समाप्त गरे ।

मृत्युपछि पनि हेमिङ्गवे रुचाइएका लेखकमा पर्छन् । उनका पुस्तकहरुको माग निरन्तर छ । अमेरिकीहरुका ‘पापा हेमिङ्गवे’ उनका कथा उपन्यासहरुमा जीवित छन् ।

–वृन्दावन, भारत ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment