Comments Add Comment

क्वारेन्टाइनमा खटिएका स्वयंसेवी युवा

२९ चैत, कैलाली । पूर्वसैनिक रमेश आचार्यसहित पाँच जना विगत दुई सातादेखि घोडाघोडी बहुमुखी क्याम्पसमा बस्दै आएका छन् ।

उनीहरु लकडाउनका कारण अलपत्र परेका वा विदेशबाट आएर क्वारेन्टाइनमा राखिएका होइनन् । बरु उनीहरु त क्वारेन्टाइनमा बस्नेहरुलाई स्वतस्फूर्त रूपमा सहयोग गर्न यहाँ बसिरहेका हुन् ।

घोडाघोडी नगरपालिकाले तयार गरेको क्वारेन्टाइनमा १६ जना छन् । अहिले उनीहरुको व्यवस्थापनमा समस्या हुन नदिन उनीहरु खटिएका छन् । ‘उहाँहरुलाई आफ्नो घरमा बसेको जस्तै होस् भनेर हामी लागि रहेका छौँ’ आचार्यले भने, ‘राति पनि केही समस्या पर्ला भनेर हामी यहीँ सुत्छौँ ।’

उनीहरु पाँचै जनाको घर क्याम्पस नजिकै हो ।

कैलाली साडेपानीका मनबहादुर शाही पनि क्वारेन्टाइनमा बस्नेहरुलाई सहयोग गर्न बसेका छन् । उनले परिवारका सदस्य नभेटेकै १५ दिन भइसक्यो । उनको घरमा आठ वर्षका छोरा पनि छन् । ‘छोराले फोन गरेर ड्याडी कहिले आउनुहुन्छ भन्छ’ उनले भने ‘म चाँडै आउँछु बाबु भन्दै टार्छु ।’

क्वारेन्टाइनमा बस्नेहरुलाई सघाउने टोलीमा कबड्डीकी राष्ट्रिय खेलाडी करुणा चन्दा पनि छिन् । उनी बिहानै क्वारेन्टाइनमा पुग्छिन् । क्वारेन्टाइनमा रहेकाहरुको माग अनुसारको खानेकुरा पकाएर खुवाउँछिन् ।

‘उहाँहरुले खान मन गरेको कुरा पकाउँछौँ’ उनले भनिन्, ‘सकेसम्मको मीठो बनाउन मेहनत गर्छौँ ।’ क्वारेन्टाइनमा सहयोग गर्न गएको थाहा पाउँदा गाउँघरमा राम्रो मानेका छैनन् ।

‘पहिले एक दुई जनाले थाहा पाएका थिए । त्यहाँ नजान दबाब दिए’ उनले भनिन् ‘त्यसपछि कसैलाई पनि भनिनँ ।’

उनकी दिदी बरुणाको दैनिकी पनि त्योभन्दा फरक छैन । उनीहरु दुवै जना बिहानै क्वारेन्टाइनस्थल पुग्छन्, झमक्क रात परेपछि घर फर्किन्छन् । घर गएर छुट्टै बस्छन् ।

‘खाना यहीँ खाएर घरमा सुत्न मात्र जान्छौँ । कसैसँग पनि भेटघाट गर्दैनौँ’ उनले भनिन् ।

अहिले सात जना युवाहरु क्वारेन्टाइनमा रहेकाहरुलाई खाना पकाउने, खुवाउने र भाडा धुने गर्छन् । उनीहरुमध्ये चार जना पूर्वजनमुक्ति सेनाका हुन् । त्यसमा दुई महिला र एक विद्यार्थी छन् ।

काठमाडौंमा एमएस्सी अध्ययन गरिरहेका सगर टमटा अहिले यहाँ भाडा धुने र खाना पकाउने काममा सहयोग गर्छन् । उनीसँगै खटिएका छन् शंकर सार्की, मनबहादुर शाही र अम्बलाल सुनार पनि ।

मुलुकका विभिन्न क्वारेन्टाइनबाट समस्या भएको भन्दै भागेर घर गइरहेको अवस्थामा यो क्वारेन्टाइनमा बस्नेहरु भने खुसी छन् ।

स्वयंसेवक युवाहरुको माग अनुसार घोडाघोडी उद्योग वाणिज्य संघका उपाध्यक्ष दुर्गा गौतमले क्वारेन्टाइनस्थलमा विभिन्न सामान पुर्‍याउने गर्छन् ।

उनले आफ्नो लागि घरमा छुट्टै कोठा तयार गरेका छन् । ‘मेरो खाने बस्ने र सुत्नेमात्रै होइन बाथरुम पनि छुट्टै छ’ उनले भने, ‘धेरै ठाउँमा जानुहुन्छ भनेर घरमा पनि टाढै बस्न आग्रह गर्छन् ।’

शुक्रबार नगरपालिकाका स्वस्थ्यकर्मीलाई आफ्नो स्वास्थ्य परीक्षण गर्न आग्रह गरेका उनी जोखिम मोलेरै भए पनि अरुको सेवा गर्न पाएकोमा भने खुसी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment