Comments Add Comment

युवाको सक्रियतामा लकडाउन प्रभावितलाई भोजन

२९ चैत, ललितपुर । महालक्ष्मी नगरपालिकाका युवाले लकडाउनबाट समस्यामा परेका व्यक्तिहरुलाई नि:शुल्क भोजनको व्यवस्था गरेका छन् । वडा-३ का युवाले प्रत्येक दिन बिहान ९ बजेदेखि ११ बजेसम्म एक छाक नि:शुल्क खाने व्यवस्था मिलाएको हो ।

बोजेपोखरी नागरिक समाजको तर्फबाट दैनिक करिब चार सयभन्दा बढी मानिसलाई खाना खाने व्यवस्था मिलाएको स्थानीय युवक सुमन केसीले जानकारी दिए । केसीका अनुसार खाना खाने व्यक्तिहरुको संख्या प्रत्येक दिन बढ्दै गएका छन् ।

अझै कोही भोकै भए आफूहरुलाई सम्पर्क गर्न पनि उनले आह्वान गरेका छन् । भोजनका लागि बोजेपोखरीको चौरमा प्रवन्ध मिलाइएको छ । कोरोना भाइरसको जोखिम नहोस् भन्नका लागि स्वास्थ्य मन्त्रालयले जारी गरेको मापदण्ड बमोजिम सम्पूर्ण सुरक्षात्मक उपायहरुको प्रवन्ध गरिएको पनि उनले बताए ।

खाना व्यवस्थापनको लागि स्थानीय युवा जयकुमार केसीको संयोजकत्वमा समिति नै गठन गरिएको उनले बताए । समितिमा रहेका युवाहरुले आवश्यक स्रोत साधनको जोहो गरी गत बुधबारदेखि नि:शुल्क भोजन कार्यक्रमको आयोजना गर्दै आएको उनले बताए । खाना खुवाउने कार्यक्रम लकडाउन अवधिभर जारी रहने केसीले जानकारी दिए ।

‘हामीले इच्छुक दाताहरु र हाम्रो आफ्नै आर्थिक तथा जिन्सी सहयोगबाट यो कार्यक्रम सञ्चालन गरेका हौँ,’ केसीले भने, ‘लकडाउनले गर्दा यस वडाका कोही पनि भोकै बस्नु नपरोस् भन्ने हेतुले यहाँका युवाको सक्रियतामा यो कार्यक्रम सुरु गरेका हौँ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment