Comments Add Comment

लकडाउनमा कार्टुन हेरेर समय कटाउँदैछ चिम्पान्जी

तपाइँ केवल मान्छेका बच्चाहरुले मात्र टिभीमा कार्टुन हेर्छन् भन्ने सोँच्नुभएको छ भने गलत हुनुहुन्छ ।

विश्वको सबैभन्दा ठूलो देश रुसमा चिम्पान्जीले समेत कार्टुन हेर्न थालेका छन् ।

कोरोना भाइरस महामारीको लकडाउनका कारण पर्यटकको आगमन ठप्प भएसँगै दिक्क महसुस गरेका एक वन्यजन्तु पार्कका चिम्पान्जीहरुलाई टेलिभिजनमा कार्टुन देखाउन थालिएको छ ।

रुसको क्रास्नोयार्स्क रोएभ रुचे नेचर पार्कमा रहेका दुईवटा जुम्ल्याहा चिम्पान्जीहरुलाई द लायन किंग लगायतका कार्टुनहरु देखाउने गरिएको छ ।

चिम्पान्जी राखिएको क्षेत्रमा भित्तोमा टेलिभिजन राखेर कार्टुनहरु देखाउन थालिएको हो । साथै चिडियाखानामा बस्ने एउटा थकित बाँदर बारेको चर्चित रुसी कार्टुन पनि चिम्पान्जीले खुब मन पराएका छन् ।

पार्कमा रहेको बहिनी चिम्पान्जी अनफिसाले भने कार्टुन हेर्नुका साथै खेलौना तथा लिपस्टिक ट्युब खेलाएर समेत मनोरञ्जन गर्ने गरेको छ । उसले महिलाले जस्तै लिपिस्टिक लगाउने गर्दछ ।

दाइ चिम्पान्जी टिखोन चाहीँ गजक्क सोफामा बसेर काँचा सागहरु खाँदै मज्जाले कार्टुन हेर्ने गर्दछ ।

उक्त नेचर पार्कमा रहेका जुम्ल्याहा चिम्पान्जी त्यहाँ घुम्न आउने पर्यटकसँग घुलमिल हुन निकै रुचाउँथे । गत मार्च २५ देखि उक्त चिडियाखानालाई क्वारेन्टाइनमा राखिएको छ । त्यहाँका कर्मचारीहरुलाई पनि बाहिर निस्किन दिइएको छैन भने पर्यटकहरुलाई त्यहाँ छिर्न दिइएको छैन ।

मान्छेहरुको आवागमन बन्द भएसँगै चिम्पान्जीले नै दिक्क मान्न थालेका थिए । उनीहरुमा डिप्रेसनको लक्षण देखिन थाल्यो । त्यसपछि उनीहरुलाई मनोरञ्जन दिलाउनका लागि पार्क व्यवस्थापनले कार्टुन देखाउन थालेको हो ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment