Comments Add Comment

थाहा नगरपालिकाले नगरबासी अलपत्र परे घर लगिदिने

३० चैत, काठमाडौं । मकवानपुरको थाहा नगरपालिकाले अलपत्र परेका थाहा नगरबासीलाई घर पुर्‍याइदिने भएको छ ।

कोरोना भाइरस (कोभिड १९) रोकथाम तथा नियन्त्रण सचिवालय थाहानगरले देशका बिभिन्न ठाउँमा अस्थायी रुपमा बसोबास गर्दै आएका थाहाबासीको विवरण संकलन गर्ने र साह्रै अप्ठेरो परेकाहरुलाई उद्दार गरी घर पुर्याइदिने निर्णय गरेको हो ।

पहिलो चरणमा विवरण संकलन गर्ने र उनीहरुको अवस्थाको विश्लेषण गरी जहाँ छन त्यहिँ सहयोग उपलब्ध गराउन प्रयत्न गरिने नगरप्रमुख लवशेर विष्टले बताए । विष्ट भन्छन्, ‘अप्ठेरोमा परेका छन्, खान पाएकै छैनन् भने सम्बन्धित स्थानीय तहलाई फोन गरेर चेक पठाइदिन्छु फलानो–फलानोलाई खान देउ भन्छु ।’

तर, लकडाउन लम्बिरहेको अवस्थामा घर नै आउन चाहिरहेका छन् भने त्यस्तो अवस्थामा साह्रै अप्ठेरोमा परेकाहरुलाई प्रदेश र संघीय सरकारसँग समन्वय गरी थाहानगर नै फर्काउने गरी निर्णय भएको उनले जानकारी दिए ।

थाहानगर फर्काएपछि नगरपालिकाले सञ्चालन गरिरहेको क्यारेन्टाइनमा राख्नुपर्ने भए राख्ने, घरमा छुट्टै बस्न सक्ने व्यवस्था रहेको भए घरमै पठाउने गरी व्यवस्था मिलाइने नगरप्रमुख बिष्टले बताए ।

उनले अप्ठेरो परेको अवस्थामा निर्धक्कसँग फोन वा सामाजिक सञ्जालबाट समेत सहयोग माग्न आग्रह गरेका छन् । विष्टका अनुसार हाल नगरले सञ्चालन गरिरहेको क्यारेन्टाइनमा १५ जना छन् ।

वृद्ध-वृद्धालाई घरमै औषधि

थाहा नगरपालिकाले वृद्ध-वृद्धालाई घरमै औषधि पुर्‍याइदिने व्यवस्था समेत मिलाएको छ ।

औषधि सकियो भनेर खबर आएपछि वृद्ध-वृद्धा छन्, वडा कार्यालसम्म पनि आउन सक्ने छैनन् भने घरमै औषधि पुर्‍याइदिने गरी व्यवस्था मिलाइएको नगरपालिकाले जनाएको छ ।

नियमित औषधि सेवन गर्नुपर्ने तर वडा कार्यालयसम्म आउन सक्नेलाई भने वडासम्म पुर्‍याइदिने गरिएको छ ।

‘सबै औषधि नगरभित्रै नपाइने भएकाले काठमाडौं, हेटौंडा समेत पुग्नुपर्ने हुन्छ । यो बेला हिँडडुल गर्न भएन । त्यसकारण नसक्नेलाई घरमै र सक्नेलाई वडाकार्यलयसम्म औषधि पुर्‍याइदिने व्यवस्था मिलाएको छौं’ विष्टले अनलाइनखबरसँग भने ।

गाउँ गाउँमा जनचेतनामुलक कार्यक्रम

यस्तै, आइतबारदेखि नगरपालिकाले गाउँ गाउँमा कोरोनाबाट बच्ने उपायबारे जनचेतनामुलक कार्यक्रम सुरु गरेको छ ।

चिकित्सकसहित ९/१० जना जम्मा भएर सामाजिक दुरी कायम गरेर रोग फैलिन नदिनका लागि अपनाउनुपर्ने सावधानीबारे जानकारी गराउन जनचेतनामुलक कार्यक्रम सुरु गरिएको नगरपालिकाले जनाएको छ ।

नगरपालिका अनुसार सम्बन्धित गाउँका केही अगुवाहरुलाई चिकित्सकले सिकाउँछन् र उनीहरुमार्फत गाउँमा सचेतना फैलाइनेछ ।

कुन दिन कुन गाउँमा यस्तो कार्यक्रम गर्ने भनेर नगरपालिकाले तालिका समेत तयार पारेर सार्वजनिक गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment