Comments Add Comment

बंगलादेशमा शेख मुजिबुरका हत्यारामध्ये एकलाई मृत्युदण्ड

३० चैत, काठमाडौं । बंगलादेशका संस्थापक नेता (वर्तमान प्रधानमन्त्री शेख हसिनाका पिता) शेख मुजिबुर रहमानका हत्यारामध्ये एक अब्दुल मजिदलाई शनिबार राति राजधानी ढाकामा झुण्ड्याएर मृत्युदण्ड दिइएको अन्तर्राष्ट्रिय समाचार एजेन्जीहरुले जनाएका छन् ।

४५ वर्षअघिको बिद्रोहमा तत्कालीन प्रधानमन्त्री शेख मुजिबको सपरिवार हत्या गर्ने सैनिक टोलीमा संलग्न क्याप्टेन मजिद गत मंगलबार मात्र ढाकामा पक्राउ परेका थिए । पछिल्लो समय भारतमा लुकेर बसेका मजिद गोप्य रुपमा ढाका पुगेको थिए ।

राष्ट्रपति मोहमद अब्दुल हमिदले क्षमादानको याचना अस्वीकृत गरेपछि मजिदलाई उनकी श्रीमतीसहित परिवारजनले शनिबार अन्तिमपटक ढाका नजिकै केरानीगन्जस्थित जेलमा भेटेका थिए ।

हत्यामा संलग्न एक दर्जन सैनिक अधिकृतलाई मृत्युदण्ड दिने सुरु अदालतको १९९८ फैसलालाई २००९ मा सर्वोच्च अदालतले सदर गरेको थियो । १५ अगस्त १९७५ मा प्रधानमन्त्री निवास भएको हत्याकाण्डमा जर्मनी गएका शेख हसिना र उनकी बहिनी शेख रेहाना बाहेक परिवारका सबै सदस्य मारिएका थिए ।

प्रधानमन्त्री शेख मुजिबको सपरिवार हत्यामा संलग्न अधिकृतहरुलाई त्यसपछिको सेना समर्थित सरकारले कुटनीतिक सेवामा खटाएर पुरस्कृत गरेका थियो ।

क्याप्टेन मजिद पनि बांगलादेशको राजदूत बनेर सेनगल गए । १९७७ मा राष्ट्रपति बनेका जनरल जियाउर रहमान (वर्तमान प्रतिपक्षी नेतृ खालिदा जियाका पति) ले पनि शेख मुजिब हत्यामा संलग्नहरुलाई संरक्षण नै गरे ।

बंगलादेश नेशनलिष्ट पार्टी (बीएनपी) स्थापना गरेर शेख मुजिबले परिकल्पना गरेको वहुदलीय राजनीतिक प्रणाली पुनस्थापना गर्न लागेका जियाउर रहमान पनि १९८१ मा सैनिक बिद्रोहमा मारिएका थिए ।

शेख मुजिब हत्यामा संलग्नमध्ये पाँच जनालाई २०१० मा मृत्युदण्ड दिइएको थियो । समाचार एजेन्जीहरुका अनुसार, जिम्बाबेमा लुकेका एकजनाको प्राकृतिक मृत्यु भइसकेको छ भने बाँकी अमेरिका र क्यानडामा लुकेर बसेको अनुमान छ ।

१९७१ मा शेख मुजिब रहमानको नेतृत्वमा पश्चिम पाकिस्तान (वर्तमान पाकिस्तान) सँग नौ महिना युद्व गरेर त्यसबेलाको पुर्वी पाकिस्तान बंगलादेश बनेको हो । स्वतन्त्र बंगलादेशको प्रथम राष्ट्रपति शेख मुजिब बने । जतिर जनक (राष्ट्र पिता), बंगवन्धु (बंगालको साथी) जस्ता खिताव पाएका शेख मुजिबले १९४९ मा नै अवामी लिग (अहिलेको सत्तारुढ दल) स्थापना गरेका थिए ।

स्वतन्त्र बंगलादेशले संसदीय व्यवस्था अपनाउने भएपछि मुजिब नै देशका प्रथम प्रधानमन्त्री भए । उनको नेतृत्वमा संसदबाट बनेको संविधानले राष्ट्रवाद, धर्मनिरपेक्षता, लोकतन्त्र र समाजवादलाई चार खम्बा मानेको थियो ।

त्यसरी नयाँ लहर चलेको नयाँ बंगलादेशमा बेरोजगारी, गरिबि, भ्रष्टाचार चुनौतीका रुपमा देखापर्‍यो । त्यसैमा थपियो १९७४ को भोकमरी । ती अवस्थासँग जुधिरहेका प्रधानमन्त्री शेख मुजिबुर रहमान १५ अगस्त १९७५ मा आफ्नै निवासमा सैनिक षडयन्त्रको शिकार बनेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment