Comments Add Comment

लकडाउन उल्लंघन गर्ने समूहले काटिदियो प्रहरीको हात

३० चैत, काठमाडौं । भारतको पन्जाब प्रान्तस्थित पटियाला जिल्लामा लकडाउन उल्लंघन गर्नेहरुलाई रोक्न खोज्ने प्रहरीमाथि आक्रमण भएको छ ।

आक्रमणकारीले एक जना प्रहरीको हात काटिदिएका छन् । प्रहरीले आक्रमणमा संलग्न नौ जनालाई पक्रेर कारबाही प्रक्रिया अगाडि बढाएको छ ।

घटना आइतबार बिहान करिब ६ बजेतिरको हो । पटियाला जिल्लाको सुनौर भन्ने स्थानको सब्जी मण्डीमा एउटा गाडीमा चढेर शीख समुदायका केही व्यक्तिहरु आएका थिए । त्यहाँ खटिएका प्रहरीहरुले लकडाउनको बेला गाडी चलाउने अनुमति दिइएको पास देखाउन भने । तर, चालकले प्रहरीले बाटोमा लगाएको बार तोडेर गाडी अगाडि बढाउन खोजे भने प्रहरीले रोक्न खोज्यो । त्यही क्रममा गाडीमा चढेकाहरुले प्रहरीमाथि आक्रमण सुरु गरे । तरकारी बजार व्यवस्थापन समितिका एक जना अधिकारीमाथि पनि आक्रमण भयो ।

पन्जाबका प्रहरी प्रमुख दिनकर गुप्ताका अनुसार तरबारले आक्रमण हुँदा एक जना प्रहरीको हात छिनालिएको छ र चण्डीगढस्थित पीजीआई अस्पतालमा वरिष्ठ प्लास्टिक सर्जनहरुले हात जोड्ने प्रयास गरिरहेका छन् ।

अन्य घाइतेहरुलाई स्थानीय अस्पतालमा भर्ना गरिएको छ । आक्रमणकारीहरु भागेर नजिकैको गुरुद्वारमा लुकेका थिए । प्रहरीले त्यहाँ छापा मारेर नौ जनालाई नियन्त्रणमा लिएको छ ।

पन्जाब प्रहरी प्रमुख गुप्ताले ट्वीट गर्दै यस घटनालाई ‘दुर्भाग्यपूर्ण’ भनेका छन् । उनले ट्वीटरमा लेखेका छन्, ‘आज दुर्भाग्यपूर्ण घटना भयो । प्रहरी र निहंग शिख समुदायबीच झडप भयो । धारिलो हतियारबाट एक प्रहरी अधिकारीको हात काटिएको छ । उनलाई चण्डीगढस्थित पीजीआई अस्पतालमा भर्ना गरिएको छ । पीजीआईका वरिष्ठ प्लास्टिक सर्जनले काटिएको हात जोड्ने कोसिस गरिरहेका छन् । हामीलाई विश्वास छ, हाम्रो बहादुर साथीको हात फेरि जोडिने छ ।’

भारतमा लकडाउन उल्लंघन गर्नेहरुले प्रहरीलाई आक्रमण गरेका यो पहिलो घटना भने होइन । यसअघि उत्तर प्रदेशको बरेली जिल्लास्थित एक गाउँमा तास खेलिरहेका व्यक्तिहरुलाई हटाउन खोज्दा प्रहरीलाई आक्रमण भएको थियो । पूरै गाउँले आक्रमणमा उत्रिएपछि अतिरिक्त प्रहरी फोर्स बोलाएर स्थिति नियन्त्रणमा लिइएको थियो । प्रहरीले ४० जना गाउँलेलाई पक्रेर कारबाही अघि बढाएको छ ।

यस्तै प्रकारको घटना हरियाणाको सिरसा जिल्लास्थित दादु भन्ने गाउँमा पनि भएको थियो । स्थानीयबासीलाई लकडाउन पालना गर्दै घरभित्रै बस्न आग्रह गरिरहेको बेला प्रहरीमाथि आक्रमण भएको थियो । सो आक्रमणबाट २ प्रहरी घाइते भएका थिए भने १३ जनाभन्दा बढीलाई पक्राउ गरेर प्रहरीले कारबाही अघि बढाएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment