Comments Add Comment

मनोवाद : मजदुर साइँलाको बकपत्र

मेरो नाम साइँला दाइ । चिन्नुभएन, असन बजारमा भारी खेप्ने साइँला दाइ क्या ! मैलो जाकेट लगाउने । झुस्से दारीवाला साइँला दाइ । म त्यही साइँला दाइ । असनको साइँला । भरिया साइँला । गाउँको साइँला । नाम्ले साइँला । साहुहरूको साइँला । तपाईंहरूको साइँला ।

नागरिकतामा के नाम छ भनेर सोध्नुभएको ? अलि बुझिनँ । भोट नहालेको बीस वर्ष भो । नागरिकता थन्किएको पनि बीसै वर्ष भो । पोहोर मोबाइलको सिम झिक्ने बेला मागेको थियोे । दिएँ, खै के तामाङ भन्थ्यो, बिर्सें । त्यो नामले मलाई कसले चिन्छ र अब ? भो छोड्नु यस्तो छुसी कुरा ।

बरु भोकै छु । भारी बोक्ने काम दिनुस् । सय रुपैयाँ आयो भने दुई दिन टर्छ । सत्तरी रुप्याँको चामल आउँछ । तीस रुपैयाँको आलु आउँछ । त्यति भए त दुई दिन सुतीसुती खाने थिएँ । मलाई दुई माना चामलको भात एकैपटक खाऊँजस्तो लागेको छ । पुलिसले समात्यो भने चौकीमा गएर भात टन्न खान पाइन्थ्योजस्तो पनि लाग्छ ।

लिकडाउन कि डाउन भएको छ रे । किरिना हो कि के जाति रोग आएको छ रे । रेडियोमा सुन्छु । डर लाग्दै–लाग्दैन । यस्तो जाबो रोगले आजैघरि के ढाल्ला र यो साइँलालाई ! राँगाको मासु खाएको ज्यान छ । धनीहरू पो छन् त थुरथुर । पैसा हुनेहरूलाई निद्रा लाग्दैन । राती सुत्ने बेला के जाति ओखती खाएर निद्रा ल्याउँछन् रे । हामी मजदुर एक पाउ राँगा’मासुसँग मज्जाले भात खाएर मस्तले निदाउँछौँ ।

२०५६ सालमा म काठमाडौँ आएको । काठमाडौँ आएपछि घर बनाउने काम पाएँ । हातमा सीप पनि थियोे । गारो लगाउन आउने भएकाले मिस्त्री भैटोपलेको थिएँ । नयाँ बसपार्क पुग्दा त ढक्क छाती फुल्छ । आफूले बनाएका घरहरू देख्दा खुसी लाग्छ । आफूले बनाएको घर भनेर के गर्नु, अर्कैको गाडी छ । अर्कैलाई खुसीयाली छ । अर्कैलाई मोजमस्ती छ । उनीहरू हामीले बनाएको घरमा बसेका छन्, रमाएका छन् । कुकुरलाई छेरुन्जेल मासु खुवाउँछन् । कहिलेकाइँ सोच्छु यो सहरमा मजदुरको भ्यालु कुकुरको जति पनि छैन क्या । रक्सी खाएको बेला यो घर हम्मरले हानेर ढालिदिऊँ जस्तो लाग्छ । अरू बेला पनि यस्तो हिम्मत आए !

०५८ सालतिर म माओवादी भएँ । काठमाडौँमा भूमिगत मजदुर भेला त कति गरियो, कति । मैले पम्फा भुसाललाई यही असन गल्लीमा सत्र दिन लुकाएको । म त्यतिबेला अखिल नेपाल निर्माण मजदुर सङ्घको जिल्ला सचिव थिए । पम्फाको नाउँ त्यतिबेला विद्युत् कि करेन्ट के थियो, बिर्सें । उनी भन्थिन्– हाम्रो सत्ता आएपछि, हामी सत्तामा पुगेपछि सबभन्दा पहिले मजदुर वर्गको जीवनमा उथलपुथल ल्याउँछौँ । आम मजदुर–किसानको मुक्तिखातिर जनयुद्ध भएको हो । हामी तपार्इंहरूकै लागि लडेका हौँ । हाम्रो नारा पनि यही छ– संसारका मजदुरहरू एक हौँ ।

बफ रे माओवादी भनेपछि ज्यानै दिऊँजस्तो लाग्ने । नेताहरूले भूमिगत भाषण ठोक्न थालेपछि जोसले रगत तात्थ्यो । तात्थ्यो के, उम्लिन्थ्यो । हाम्रो रातो झन्डा पेरूमा फर्फराउँदैछ भन्ने गीतमा कति डान्स हानेँ–हानेँ मैले । नपत्याए त्यो पैलाको वैद्यको मजदुरको नेता रामदीप आचार्यलाई सोध्नु त, उसले सब भन्दिन्छ ।

माओवादी त अहिले पनि मन पर्छ । जुलुसमा हिँड्छु । ३३ दलको आमसभामा बादल दाइले भोट खसाल्ने बाक्सा फुटाउँदा मैले सिठ्ठी बजाएको थिएँ । बहुत खुसी लागेको थियोे ।

त्यही भएर होला अस्ति मलाई विप्लव भनेर थुने नि कालीमाटीमा । एक रात बसेँ । मैले डीएसपीलाई सीधै भनेँ– तिम्रो मन्त्रीले भोट खसाल्ने बाक्सा फुटाउँदा सिठ्ठी हानेको हँु । यसमा मेरो के गल्ती भो ? अझ ऊ पो मन्त्री भएर म पो थुनिनुपर्ने ? के जात्रा हो डीएस्पी यो ?

हो रहेछ, यो बिरानु सहरमा हामीजस्ता मजदुरको कुनै महत्व रहेनछ । माओवादी नै सत्तामा छ । माओवादीलाई जोगाउने म साइँला भोकै छु । काठमाडौँका घरहरूमा मीठामीठा परिकार पाक्दैछ । त्यो घर बनाउने म साइँला दाइ एक छाक खान नपाएर तड्पिँदैछु ।

बूढीले हिजो फोन गरेकी थिई । भन्दै थिई– नेताहरूकोमा गएर गुहार माग्नुस्, केही हुन्छ कि ? । मैले फ्याट्टै– भनेछु म त रतन तिरुवाले जस्तो जुत्ता पो हान्छु होला । म अलिअलि घामट पनि छु । मलाई गरिब मजदुरको भावनामाथि खेल्ने कोही पनि मन पर्दैन, चाहे त्यो मेरो अन्नदाता नै किन नहोस् ।

रतन तिरुवाले प्रचण्डलाई जुत्ता हानेको साँझ मैले आधा केजी लोकल कुखुराको मासु खाएँ तर अहिले पनि म मोबाइलमा कमरेड प्रचण्डको भाषण सुन्छु । खुसी हुन्छु । मलाई एकदम नजिकबाट चिन्नेहरूले माओवादी साइँलो पनि भन्छन् ।

एकपटक यही असन चोकमा पम्फा भुसालले कमरेड भनेर कडक्क हात मिलाउँदा मैले अरू नाम्लेहरूलाई भनेको थिएँ– देखिस् केटा हो माओवादीहरू मन्त्री नै भए पनि यसरी नाम्लेसँग हात मिलाउन आउँछन् । सायद हल्का सामन्तवाद जागृत भएको थियोे ममा ।

अहिले सम्झिँदा जिन्दगीमा केही गरेजस्तो लाग्दैन । न म नेता हुन सकेँ । न राम्ररी चुलो नै बल्यो । न हामीलाई मुक्तिको सपना देखाउनेहरूले नै हाम्रा सपना पूरा गरे । जहाँ उभिएको थिएँ त्यही जमिन भासिए जस्तो लाग्छ ।

भोक ज्यादै लाग्न थाल्यो पो । कोठामा गएर चिउरा खानुपर्‍याे । भिजाउन चिया भएको भए त मज्जा हुन्थ्यो । भारी बोक्न पाए पो चिया । साइँला म त पानीसँग चिउरा खान्छु ।

यसरी कोरोना भनेर थुनिराखे भने यो साइँलाले सरकारलाई जुत्ता पनि हान्न सक्छ । अहिलेलाई बाईबाई ।

उही तपाईंको साइँला ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment