Comments Add Comment

आश गरिएका यी चलचित्र, जुन बक्स अफिसमा असफल रहे

वर्ष २०७६ सकियो । आजबाट हामी वर्ष २०७७ मा छौँ ।

वर्ष २०७६ चलचित्र क्षेत्रको लागि औसत रह्यो । ५५ चलचित्र रिलिज हुदाँ ६ वटा चलचित्र नाफामा गए भने बाकीँ चलचित्रले हलमा पानी समेत भन्न पाएनन । केही आश गरिएका चलचित्रले पनि दर्शकको साथ पाएनन् ।

जेष्ठ ३ गते दुई चलचित्र एकसाथ रिलिज भए, ‘जात्रै जात्रा’ र ‘वीर विक्रम २’ । यी दुबै चलचित्रलाई आशातित चलचित्रको रुपमा हेरिएको थियो । सफल चलचित्रको सिक्वोल भएका कारण पनि यी दुबै चलचित्रले दर्शक पाउने आश थियो ।

तर, बक्स अफिसमा ‘वीर विक्रम’लाई ‘जात्रै जात्रा’ले निकै पछाडि छोडिदियो । जात्रै जात्रा हिट हुदाँ वीर विक्रम २ले हलबाट लगानी पनि सुरक्षित गर्न सकेन ।

मिलन चाम्सको निर्देशनमा तयार भएको ‘वीर विक्रम २’मा पल शाह, नाजिर हुसेन, वर्षा सिवाकोटी लगायतको मुख्य भूमिका रहेको थियो । बलियो स्टारकाष्ट भएका कारण पनि चलचित्रलाई आशातित चलचित्र मानिएको थियो । तर, सोही चलचित्र बक्स अफिसमा असफल रह्यो ।

त्यस्तै, साउन ३० मा रिलिज भएको चलचित्र ‘हजार जुनीसम्म’लाई पनि धेरैले सफल हुने अनुमान लगाएका थिए ।

सफल निर्देशक विकासराज आचार्यको निर्देशन, आर्यन सिग्देल, स्वस्तिमा खड्का, सलोन बस्नेत, प्रियंका कार्की, संचिता लुइँटेल लगायतको स्टारकाष्ट भएका कारण पनि चलचित्रलाई प्रतिक्षित चलचित्रको रुपमा हेरिएको थियो ।

तर, चलचित्र रिलिज भयो दर्शकले यस चलचित्रलाई रुचाएनन् । चलचित्रले हलबाट आफ्नो लगानी सुरक्षित गर्न सकेन ।

भदौ १३ मा रिलिज भएको चलचित्र ‘मारुनी’ पनि वर्ष २०७६ को आशातित चलचित्र मध्येको एक थियो । राम्रो चलचित्र बनाउने छवि बनाएका निर्देशक नवल नेपालको निर्देशन रहेकाले पनि चलचित्रमा धेरैको आशा जागेको थियो ।

त्यो माथि चलचित्रमा नम्बर १ कहलिएकी नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह र ‘मंगलम’बाट वाहीवाही पाएका नायक पुष्प खड्का मुख्य भूमिकामा प्रस्तुत हुदाँ चलचित्र झनै प्रतिक्षित बनेको थियो ।

तर, तिजको छेको पारेर रिलिज हुदाँ पनि यस चलचित्रले हलबाट लगानी सुरक्षित गर्न सकेन । समीक्षात्मक रुपमा भने यस चलचित्रले निकै तारिफ पाएको थियो ।

दशैंलाई लक्षित गरेर असोज १० गते रिलिज भएको चलचित्र ‘रातो टिका निधारमा’ पनि बक्स अफिसमा असफल ठहरियो । यस चलचित्रलाई पनि वर्षकै प्रतिक्षित चलचित्रको रुपमा हेरिएको थियो ।

अशोक शर्माको निर्देशनमा बनेको यस चलचित्रमा साम्राज्ञी राज्यलक्ष्मी शाह नै मुख्य भूमिकामा प्रस्तुत भएकी थिइन् । तर, साम्राज्ञीको क्रेज यस चलचित्रमा पनि देखिएन । चलचित्रले निर्माताको लगानी बचाउन सकेन ।

कार्तिक २२ गते रिलिज भएको चलचित्र ‘घामड शेरे’ माथि धेरैको आश थियो । हेमराज विसीको निर्देशनमा तयार भएको यस चलचित्रमा निश्चल बस्नेत र स्वस्तिमा खड्का मुख्य भूमिकामा प्रस्तुत भएका थिए ।

पहिलो पटक निश्चल-स्वस्तिमा एकसाथ चलचित्रमा देखिएकाले पनि चलचित्रमाथि आश गरिएको थियो । चलचित्रको गीत हिट हुदाँ व्यापारमा फाइदा हुने अनुमान गरिएको थियो ।

तर, वर्ष २०७६ मा आश गरिएका चलचित्रहरु मध्ये सबैभन्दा कमजोर सावित भयो, ‘घामड शेरे’ । यस चलचित्रलाई न दर्शकको साथ मिल्यो, न समिक्षकको नै । फरक विषयबस्तु प्रस्तुत गर्न खोजेको यस चलचित्र नराम्रोसँग पछारियो ।

विपिन कार्की स्टारर चलचित्र ‘सेल्फी किङ्ग’ पनि आश गरिएको चलचित्र मध्येको एक हो । समीक्षात्मक रुपमा पनि सफल बन्न नसकेको यस चलचित्र व्यापारिक रुपमा भने पत्तासाफ नै भयो । विपिनको कामलाई भने धेरैले रुचाएका थिए ।

त्यस्तै, धुर्मुस-सुन्तलीले निर्माण गरेको चलचित्र ‘सेन्टी भाइरस’ पनि वर्षको असफल चलचित्र गनियो । फागुन ८ गते रिलिज भएको यस चलचित्रलाई पनि धेरैले आशातित चलचित्रको रुपमा हेरेका थिए ।

रामबाबुको निर्देशनमा बनेको यस चलचित्रमा धुर्मुस-सुन्तलीसँगै दयाहाङ राई,विल्सन विक्रम राईको पनि मुख्य भूमिका रहेको थियो । तर, धुर्मुस-सुन्तली र दयाहाङलाई यस चलचित्रमा दर्शकले पत्याएनन ।

वर्ष २०७६ मा आश गरिएको केही चलचित्रहरु रिलिजको तयारीमा थिए । तर, कोरोनाको कारण पूर्ण देश नै लकडाउन भएपछि चलचित्र रिलिज हुन पाएनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment