Comments Add Comment

आइसोलेसनमा बस्न रुखको टुप्पामा घर

कोरोना भाइरस रोकथामका लागि विश्वका धेरै देशहरूले अहिले लकडाउन गरिरहेका छन् । झण्डै १० हजार संक्रमित रहेको छिमेकी मुलुक भारतमा पनि लकडाउन जारी छ ।

लकडाउनले काम बन्द भएपछि धेरै मानिसहरू सहरबाट गाउँ फर्किएका छन् भने गाउँका मानिसहरू पनि गाउँभित्रै बन्धकजस्तै बनेका छन् ।

कोरोना भाइरसको अहिलेसम्म कुनै उपचार छैन । त्यसैले यसको संक्रमणबाट जोगिनका लागि सामाजिक दूरी कायम गर्नु नै उत्तम विकल्प हो ।

अहिले मानिसहरू कोरोना भाइरसको संक्रमणबाट जोगिनका लागि होम क्वारेन्टाइन तथा सेल्फ आइसोलेसनमा छन् । सेल्फ आइसोलेसनका लागि मानिसहरूले अनेकखालका उपाय अपनाइरहेका छन् ।

भारतमा केही मानिसहरू आफ्नो घर छाडेर रुखमै घर बनाएर बस्न थालेका छन् ।

भारतको पश्चिम बंगालमा पर्ने पुरुलिया जिल्लाको भांगिदी गाउँमा चेन्नई सहरबाट फर्किएका युवा मजदुरहरू रुखमा घर बनाएर बस्न थालेका छन् । सहरबाट फर्किएसँगै १४ दिनसम्म सेल्फ आइसोलेसनमा बस्नका लागि उनीहरूले रुखमा घर बनाएका हुन् ।

यसअघि गाउँमा हात्तीको चियोचर्चो गर्नका लागि प्रयोग गरिने अग्ला अग्ला आँप र वरका रुखहरूमा घर बनाएर सहरबाट फर्किएका युवकहरू बस्न थालेको बताइएको छ ।
उक्त गाउँका धेरै युवाहरू भारतका विभिन्न सहरमा मजदुरी गर्न जान्छन् । गरिब परिवारका उनीहरू गाउँ फर्किएसँगै गाउँको झुप्रो घरमा आफ्नो परिवारका सदस्यहरूसँग एउटै कोठामा बस्नुपर्ने हुन्थ्यो । तर सहरबाट फर्किएको १४ दिनसम्म सेल्फ आइसोलेसनमा बस्नुपर्ने नियम पालना गर्न उनीहरूलाई आफ्नो घरमा छुट्टै कोठा थिएन । त्यही भएर उनीहरू रुख–रुखमा घर बनाएर एक्ला–एक्लै बस्न थालेका हुन् ।

डाक्टरले आफूहरूलाई कम्तीमा १४ दिन परिवारका सदस्यहरूसँग नबस्नू भनेर सल्लाह दिएको हुँदा आफूहरू रुखमा बस्न थालेको उनीहरूले बताएका छन् । आफूलाई गाउँलेहरूले पनि परिवारबाट अलग भएर बस्नुपर्छ भनेर सुझाव दिएको भन्दै ती युवाहरूले रुखमा बस्दा आफूलाई कुनै समस्या नभएको पनि बताएका छन् ।
एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment