Comments Add Comment

लकडाउनको बेला पहिलो नजरमै प्यार !

२ वैशाख, काठमाडौं । कोरोना भाइरस संक्रमणको कारण विश्वभरका अधिकांश मानिसहरु लकडाउनमा छन् । संक्रमणबाट जोगिनका लागि मानिसहरु सामाजिक दूरी कायम राख्न घरमै बसिरहेका छन् ।

एकातर्फ कोरोनाको त्रास विश्वभर फैलिरहेको बेला मानिसहरु एकातिर दुःखी र निराश छन् । अर्कोतर्फ भने सम्बन्धमा नयाँ अनुभूति भइरहेको छ र लकडाउनका कारण घरमै बसिरहेकाहरुको जिन्दगीमा माया फक्रिरहेको छ । हो, घरको बार्दली, कौसी वा छतबाट एकअर्कालाई हेर्नेहरुबीच पहिलो नजरमै माया बसेको छ ।

यो रोमान्टिक लभ स्टोरी हो इटलीको भेरोना शहरको । ३८ वर्षीय मिसेल डी अल्फासो र आफ्नो घर अगाडि बस्ने ३९ वर्षीया पाओला एग्नेलीबीच पहिलो नजरमै माया बस्यो । साँझपख आफ्नो घरको बार्दलीमा उँभिएर एताउता हेर्ने, संगीतको आनन्द लिने गर्दागर्दै उनीहरु प्रेम सम्बन्धमा परेका हुन् ।

इटलीको धेरै शहरबासी प्रायजसो साँझ ६ बजेतिर आआफ्नो घरको बार्दलीमा आएर सांगीतिक बाजा बजाउँछन् र महामारीबीच एकताको सन्देश दिन्छन् ।

यस्तै संगीत बजाउनेमध्ये पाओलाकी बहिनी लिजा एग्नेली पनि एकजना हुन् । उनले भ्वाइलिन बजाउँछिन् । बीबीसी रेडियो ४ सँग कुरा गर्दै मिसलले भनेका छन्– मैले पाओलालाई पहिलो पटक बार्दलीमा आएको बेला देखें ।

दुवैको घर आमने–सामने छ । पाओला छैटौं तलामा आफ्नी बहिनी र आमासँग बस्छिन् । अगाडिको भवनको सातौं तलामा मिसेल बस्छन् । सधैंको जस्तै सांगितिक माहोलको बीच दुवै जनाको नजर जुध्यो । मिसेलकी बहिनी सिल्भिया र पाओला एग्नेलीबीच भने चिनजान पुरानै थियो ।

लिजा एग्नेलीले बीबीसी रेडियोसँग भनिन्, ‘म सधैं बार्दलीमा आएर भ्वाइलिन बजाउँछु । १७ मार्चको दिन मेरी बहिनी पनि मकहाँ आएर मलाई साथ दिइन् । मिसेलले मेरी बहिनीलाई त्यतिबेला देखे र उनीहरुबीच लभ पर्यो ।’

पाओला भन्छिन्, ‘म मेरी दिदीलाई सघाउन बार्दलीमा गएको बेला अगाडिको घरमा उभिएका मिसेललाई देखें । पहिलो नजरमै ह्याण्डस लाग्यो ।’

त्यसपछि मिसेलले इन्स्टाग्राममा पाओलालाई खोजे र म्यासेज पनि पठाए । पाओला भन्छिन्, ‘सांगीतिक कार्यक्रम सकिएपछि मैले इन्स्टाग्राममा म्यासेज देखें । त्यो म्यासेज मिसेलको थियो । त्यसमा लेखिएको थियो– म एक किताब लेख्न सक्छु, जसको नाम हुनेछ कोरोना भाइरससँगै माया ।’

पाओलाले थपिन्, ‘त्यस रात हामी तीन बजेसम्म म्यासेजमै कुरा गर्यौं । हामीलाई, महसुस भयो हाम्रो सोचाइ उस्तै रहेछ, जुन एक सम्बन्धनका लागि सबैभन्दा मजबुत आधार हो ।’

मिसेलले पाओलाको नाम लेखिएको ब्यानर आफू बसेको भवनको माथिल्लो भागमा राखे । यो ब्यानर आफूलाई खुब मन परेको र निकै खुसी पनि लागेको पाओला बताउँछिन् ।

आमने सामने भए पनि उनीहरुले तत्काल नभेट्ने निर्णय गरेका छन् । किनभने अहिले सामाजिक दुरी कायम राख्नुपर्ने छ । त्यसो त मिसेल बैंकमा काम गर्छन् । दिनहुँ धेरै व्यक्तिको सम्पर्कमा आउँछन् । त्यसले गर्दा पनि एकअर्कालाई तत्काल नभेट्ने निष्कर्षमा उनीहरु पुगेका हुन् ।

मिसेलले बीबीसी रेडियोसँग भनेका छन्, ‘म यो सम्बन्धमा जादू महसुस गर्छु र पाओलालाई चुम्बन गर्न चाहान्छु ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment