Comments Add Comment

५ लाख जुम प्रयोगकर्ताका गोप्य डाटा ह्याकरको हातमा

काठमाडौं । कोरोना भाइरसका कारण जारी लकडाउनका क्रममा तीब्र रूपमा लोकप्रिय बनिरहेको भिडियो कन्फ्रेन्सिङ प्लाटफर्म जुमका प्रयोगकर्ताको साइबर सुरक्षाको विषयमाथि प्रश्न उठिरहेका बेला एउटा डरलाग्दो तथ्य बाहिर आएको छ ।

पाँच लाखभन्दा धेरै जुम प्रयोगकर्ताका पासवर्ड तथा अकाउन्टसँग सम्बन्धित अन्य विभिन्न डाटाहरू ह्याकरहरूले चोर्न सफल भएको र त्यस्ता विवरणहरूलाई डार्क वेबमा कौडीको भाउमा लिलाम बिक्रीमा राखिएको छ ।

अमेरिकी साइबर सेक्योरिटी कम्पनी ‘साइबर’ ले गत अप्रिल १ मा ह्याकर फोरममा त्यसरी जुम प्रयोगकर्ताका विवरणहरू बिक्रीमा राखिएको तथ्य पत्ता लगाएको हो । प्रविधिसम्बन्धी समाचार साइट ‘ब्लिपिङ कम्प्युटर’ का अनुसार पाँच लाख ३० हजार जुम प्रयोगकर्ताका विवरणहरू ०.००२ डलर प्रतिप्रयोगकर्ताको दरमा बिक्रीमा राखिएको थियो । यतिमात्र होइन कतिपय अकाउन्ट डिटेलहरू त सित्तैमा सार्वजनिक गरिएका छन् । सार्वजनिक गरिएका त्यस्ता विवरणहरूमा पर्सनल मिटिङ यूआरएलदेखि इमेल एड्रेस र पासवर्ड लगायतका रहेका छन् ।

ह्याकरहरूले जुम प्रयोगकर्ताका युजरनेम तथा पासवर्ड ह्याक गर्नका लागि अन्य विभिन्न प्लाटफर्महरूबाट लिक भएका प्रयोगकर्ताको विवरणहरूको दुरूपयोग गरेको बताइएको छ ।

एकभन्दा बढी प्लेटफार्महरूमा एउटै युजरनेम तथा पासवर्ड राखेका अधिकांश जुम प्रयोगकर्ताहरू ह्याकरको निसानामा परेका छन् ।

बिक्रीमा राखिएका जुम प्रयोगकर्ताका विवरणहरू अनधिकृत व्यक्तिले खरिद गरिसकेपछि जुम बम्बिङ्ग लगायतका अन्य नकारात्मक गतिविधिहरूमा दुरूपयोग गर्नसक्ने बताइएको छ ।

जुम बम्बिङ्ग भनेको यस्तो क्रियाकलाप हो जहाँ जुम एपमार्फत भिडियो कन्फ्रेन्सिङ चलिरहेको बेला अनधिकृत व्यक्ति भर्चुअल मिटिङमा जबर्जस्ती प्रवेश गर्छ र भिडियो कलमा रहेका व्यक्तिहरूलाई लगातार पोर्न सामग्री लगायतका आपत्तिजनक सामग्री प्रदर्शन गर्छ ।

ह्याकमा परेका जुम अकाउन्टमध्ये कतिपय साइबरका ग्राहकहरूकै भएका कारणले पनि उक्त कम्पनीले जुम प्रयोगकर्ताका अकाउन्टहरू ह्याक भएको विवरण पुष्टि गर्न सहज भएको बताएको छ ।

साइबर सेक्युरिटी विज्ञहरूले क्रिडेन्सियल स्टफिङ अट्याक भनिने यस्तो साइबर आक्रमणबाट बच्नका लागि एकभन्दा धेरै सोसल मिडिया प्लेटफार्ममा एउटै युजरनेम तथा पासवर्ड राख्न नहुने सल्लाह दिन्छन् ।

यस्तोमा यदि एउटा अनलाइन अकाउन्ट ह्याक भएको अवस्थामा ह्याकरले सोही पासवर्ड तथा युजरनेम प्रयोग गरी व्यक्तिको अर्को सोसल मिडिया अकाउन्ट पनि ह्याक गर्न सक्छ ।

साइबरले सबै जुम प्रयोगकर्तालाई तत्कालै आफ्नो युजरनेम तथा पासवर्ड परिवर्तन गर्न आग्रह गरेको छ ।

लोकप्रिय च्याट एप जुम धेरै व्यक्तिहरूबीचको सामूहिक भिडियो कलिका लागि निकै उपयोगी प्लेटफार्म हो । जहाँ एक पटकमा ४० मिनेटसम्मको भिडियो च्याट गर्न सकिन्छ ।
एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment