Comments Add Comment

राहत नपाउँदा रौटहटका विपन्नहरू भोकभोकै

३ बैशाख, रौतहट । सरकारले समयमा राहत वितरण गर्न नसक्दा रौतहटको विभिन्न स्थानीय तहका अतिविपन्न परिवारहरू मर्कामा परेका छन् । कोरोना भाइरस (कोभिड–१९) नियन्त्रणको लागि सरकारले गरेको लकडाउनको तेस्रो सातासम्म पनि राहत पुर्‍याउन नसक्दा विपन्नहरु समस्यामा परेका हुन् ।

तीन साता लामो लकडाउनका कारण घरमा रहेको अन्नपात सकिएपछि समस्यामा परेको विपन्नहरूले गुनासो गरेका छन् । दिनभरी ज्यालादारी काम गरेर हातमुख जोड्न बाध्य सो क्षेत्रका अतिविपन्नहरु लकडाउनका कारण काम बन्द भएपछि समस्यामा परेका हुन् ।

लामो समयसम्म लकडाउन लम्बिएका कारण सरकारले दिने भनेको राहतसमेत नपुगेपछि उनीहरुको समस्या झनै चुलिएको छ । आफूहरुसँग भएको पैसा सकिएपछि पसलेले समेत उधारो दिन नमान्ने र बाहिर काममा पनि निस्कन सक्ने अवस्था नभएपछि आफूहरूलाई दुई छाक टार्नै धौधौ परेको स्थानीय श्रीराम पासवानले गुनासो गरे ।

लकडाउन भएको २३ दिन बितिसक्दा पनि जिल्लाको गरुडा नगरपालिकाले कुनै पनि वडामा राहतको प्याकेज वितरण गर्न सकेको छैन । गरुडा नगरपालिकाको मात्रै नभएर राजपुर नगरपालिका, राजदेवी, दुर्गा भगवती र यमुनामाई लगायत स्थानीय तहले समेत विपन्नहरुको लागि राहत वितरण गर्न सकेको छैन ।

एकातिर काम गर्ने अवस्था नभएको र त्यस्तो अवस्थामा समेत स्थानीय सरकारले आफ्नो समस्या नसुनेको स्थानीयको गुनासो छ ।

स्थानीय हरदेव महरा सरकारको गाँउगाँउमा सिंहदरवारको अवधारणा गरुडा र राजपुरमा लागू नभएको बताउँछन् । नगरपालिकाका मेयर तथा वडाअध्यक्ष समेतले आफूहरुको बारेमा कुनै चासो नराखेको उनको आरोप छ ।

‘बाहिर काम गर्न निस्कँदा प्रहरीले कुट्दै घर फर्काउँछ । काम नगरी घरमा बस्दा चुल्हो बल्दैन ।’ गरुडा ४ का स्थानीय पासवानले भने ‘अहिलेको जस्तो अप्ठ्यारो जीवनमा कहिल्यै परेको थिएनौं । काम गरेर जोगाएको पैसा पनि सबै सकियो, अब भोकले मर्ने हो कि भन्ने त्रास छ ।’ पासवानले यो विपन्न बस्तीमा खानेकुराको अभाव भएकोले तत्काल राहतको आवश्यकता परेको बताए ।

त्यस्तै, जिल्लाको राजपुर नगरपालिकाले राहतका सामानहरु खरिद प्रक्रिया अगाडि बढाएको जनाएको छ । प्रदेश सरकारले राहतका लागि पठाएको रकम समेत जिल्लाको स्थानीय तहहरूले खर्च गर्न सकेका छैनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment