Comments Add Comment

काँठ क्षेत्रमा फोहोर उठेन, संक्रामक रोग फैलने त्रास

फाइल तस्वीर

३ वैशाख, काठमाडौं । राजधानीको उत्तरपूर्वी भेग स्थित काँठ क्षेत्रका नगरपालिकामा बन्दाबन्दीका कारण फोहर नउठ्दा चोकचोकमा प्लास्टिकको थुप्रो जम्मा गरी बाल्न थालेपछि प्रदूषण बढ्न थालेको छ । गर्मी मौसम सुरु भइसकेकाले फोहोरका कारण संक्रामक रोग फैलन सक्नेमा स्थानीयवासी त्रसित छन्।

थप समस्या आउन नदिन नगरपालिका समयमै सचेत हुनुपर्ने स्थानीयवासीको माग छ । बन्दाबन्दी भएदेखि नै यस क्षेत्रका नगरपालिकाका ग्रामीण भेगमा फोहर उठेको छैन ।

बुढानीलकण्ठ, गोकर्णेश्वर, कागेश्वरी मनोहरा र शंखरापुर नगरपालिकाका वडामा जम्मा भएको प्लास्टिकलगायत फोहोर स्थानीयवासीले बाल्न थालेका हुन् । कागेश्वरी मनोहरा नगरपालिका-५ थलीचौरकी शान्ता सिंखडा एक महिनादेखि नगरपालिकाले फोहोर व्यवस्थापन नगरेपछि बस्तीभन्दा तल वाग्मती किनारमा प्लाष्टिक बाल्न बाध्य हुनुपरेको गुनासो गरिन् ।

प्लास्टिक बाल्दा वातावरणीय रुपमा नराम्रो असर गर्छ भन्ने थाहा हुँदाहुँदै पनि घरमा प्लास्टिक, कागजलगायत फोहर थुप्रिएपछि चोकमा थुपारिदिनुभन्दा बाल्नु राम्रो भएकाले यसो गर्नुपरेको उनको भनाइ छ । नगरपालिकाको थली, मूलपानी, डाँछी, भद्रवास, आलापोट, गागलफेदीलगायत स्थानमा पनि यस्तो समस्या रहेको स्थानीयवासीको गुनासो छ ।

नगरपालिकाका प्रवक्ता एवं वडा नं. ५ का अध्यक्ष राजाराम पुडासैनी वडा नं. १ देखि ५ सम्म ग्रामीण भेग भएकाले हाललाई फोहर उठाउन नसकिएको स्वीकार्छन् । वडा नं. ५ देखि ९ सम्म फोहर उठाइएको उनले बताए ।

गोकर्णेश्वर नगरपालिकाको जोरपाटी, गोकर्ण, बालुवा, नयाँपाटी, सुन्दरीजल क्षेत्रमा पनि फोहर नउठ्दा चोकचोकमा प्लास्टिकलगायत फोहर बालिन्छ । जसका कारण प्रदूषण फैलिने गरेको छ । नगरपालिकाको वडा नं. २ नयाँपाटीमा फोहोर बाल्दा घरमा बस्नै नसकिने गरी दुर्गन्ध फैलिएको स्थानीयवासी राजन तामाङको दुःखेसो छ ।

पाँच वर्षअघिसम्म यस क्षेत्रमा स्वच्छ वातावरण थियो । बस्ती बढेसँगै नगरपालिकाले फोहोर व्यवस्थापन गर्न नसकेकाले वातावरणीय स्वच्छतामा ह्रास आएको उनको भनाइ छ । प्लास्टिक बाल्दा क्यान्सरजस्ता भयानक रोग लाग्ने तथ्य प्रमाणित भए पनि स्थानीयस्तरमा बेवास्ता भइरहेको छ ।

नगरपालिका र वडा कार्यालयले यसमा बन्देज नलगाएको स्थानीयवासीको गुनासो छ । मानव अधिकार तथा शान्ति समाजको सभापतिसमेत रहेका सफाइ अभियानकर्मी उत्तम पुडासैनी प्लास्टिकलगायत फोहर बाल्न प्रतिबन्ध लगाउने गरी सूचना जारी गर्न नगरपालिकालाई पटकपटक अनुरोध गरेपछि सूचना आए पनि औपचारिकतामा सीमित भएको बताउँछन् ।

स्थानीय तहका जनप्रतिनिधिमार्फत प्लाष्टिक नबाल्न चेतना जागृत गर्नसके दीर्घकालीन रुपमा असर गर्ने क्यान्सरजस्ता रोगबाट मुक्ति मिल्ने अभियानकर्मीको भनाइ छ । यस विषयमा जनप्रतिनिधिलाई प्रशिक्षित बनाउन ढिला भइसकेको छ ।

नगरपालिकाका प्रवक्ता मनोजकुमार ढुङ्गाना वडा नंं २ को नयाँपाटी पुलबाट माथिको भागमा फोहर उठ्न नसकेको स्वीकार्छन् । नगरपालिकाकै गाडीले फोहर उठाउने स्थानमा नउठाएको उनले स्वीकारेका हुन् ।

गर्मी बढेका बेला फोहर नउठ्दा बन्दाबन्दीमा घरमै बसेका मानिसमा अन्य संक्रामक रोग फैलने भय थपिएको छ । स्थानीय सरकारले भयरहित रुपमा बस्ने वातावरण नबनाएको नगरवासीको आरोप छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment