Comments Add Comment

प्रदेशसभाको चालु अधिवेशन अन्त्य गर्नुस् : राष्ट्रियसभा अध्यक्ष

‘रोग नलुकाउन आह्वान’

३ वैशाख, काठमाडौं । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले प्रदेशसभाको चालु अधिवेशन अन्त्य गर्न सुझाव दिएका छन् ।

बुधबार सातै प्रदेशका सभामुखहरूसँग भर्चुअल छलफल गर्दै उनले यस्तो सुझाव दिएका हुन् ।

‘लकडाउन वैशाख १५ गतेसम्म छ । संघीय सरकारले पनि स्थगित भएकै बेला हिउँदे अधिवेशन अन्त्य गरेको छ । यसैगरी, प्रदेशसभाको पनि अन्त्य गरेर लकडाउन खुलेपछि वर्षे अधिवेशन सुरु गर्दा हुन्छ । यो मेरो सुझाव हो,’ तिमिल्सिनाले भने ।

हाल कुनै पनि प्रदेशसभाको चालु अधिवेशन अन्त्य भएको छैन् । संघीय सरकारले भने हिउँदे अधिवेशन अन्त्य गरिसकेको छ ।

भर्चुअल बैठकमा सुदूरपश्चिम प्रदेशका सभामुख अर्जुुनबहादुर थापाले फागुन ११ गतेदेखि प्रदेशसभाको बैठक बस्न नसकेको भन्दै अब के गर्ने भन्ने अन्योलता रहेको जानकारी गराए ।

‘चालु अधिवेशनलाई के गर्ने होला भन्नेमा छौं,’ उनले भने, ‘लकडाउन खुकुलो भयो वा खुल्यो भने तीन चारवटा विधेयक पारित गरेर हिउँदे अधिवेशन अन्त्य गर्ने कि भन्ने लागेको छ ।’

भर्चुअल बैठकमा सभामुखहरूले निजी अस्पताललाई पनि कोरोनाको उपचारमा अनिवार्य सहभागी गराउने व्यवस्थाका लागि सुझाव दिएका छन् । उनीहरूले सीमानामा रहेका नेपालीहरूको हेरविचार गर्नुपर्ने, सीमावर्ती क्षेत्रमा रहेका क्वारेन्टाइनमा रहेका नेपालीहरूको सन्दर्भमा अनुगमन गर्नुपर्ने बताएका छन् ।

यस्तै, राहत वितरणलाई थप प्रभावकारी बनाउनुपर्ने, प्रत्येक जिल्लामा कोरोनाको परीक्षणको व्यवस्था गरिनुपर्ने, सातै प्रदेशमा कम्तीमा एउटा–एउटा कोरोनाजस्तै महामारी रोक्नसक्ने डेडिकेटेड अस्पताल निर्माणका लागि आगामी बजेटमा समावेश गर्नुपर्नेलगायतका माग छन् ।

सभामुखहरूबाट आएको सुझाव र विचारलाई लिपिबद्ध गरी सरकारलाई बुझाइने राष्ट्रियसभाका अध्यक्ष तिमल्सिनाले बताएका छन् ।

‘रोग नलुकाउन आह्वान’

राष्ट्रियसभाका अध्यक्ष तिमिल्सिनाले लकडाउनको पूर्ण पालना गर्न र रोग नलुकाउन समेत आह्वान गरेका छन् ।

विदेशबाट आएर लुकेर बस्ने, रोगको संक्रमणको लक्षण देखिँदा पनि अस्पताल नजाने जस्ता प्रवृति नदेखाउन सबैमा उनले आह्वान गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment