Comments Add Comment

संक्रमितसँगै क्वारेन्टाइनमा बसेकालाई परीक्षणबिनै घर पठाइयो

३ वैशाख, रौतहट । कोरोना भाइरस (कोभिड-१९) को संक्रमण देखिएका इशनाथ नगरपालिका–५, मोतीपुरका १९ वर्षीय युवकसँगै क्वारेन्टाइनमा बसेका ११ जनालाई परीक्षण नै नगरी घर पठाएको पाइएको छ ।

चैत १६ गते भारतको नयाँ दिल्लीबाट आएर जनता माध्यमिक विद्यालयमा रहेको क्वारेन्टाइनमा बसेका युवकमा कोरोना संक्रमण भएको सोमबार पुष्टि भएको थियो । उनको सम्पर्कमा आएकाहरूको खोजी गरी परीक्षण गर्न जनकपुरको ल्याबबाट प्रादेशिक टोली रौतहट आइपुगेको छ ।

टोलीले संक्रमितसँग सम्पर्कमा आएका व्यक्तिहरूको स्वाब परीक्षणको काम सुरु भएको इशनाथ नगरपालिकाका स्वास्थ्य संयोजक इसराजुल खानले बताए । संक्रमण पुष्टि भएकै दिन परिवारका सदस्य, क्वारेन्टाइनमा बसेकाहरु, स्वास्थ्यकर्मी र सुरक्षाकर्मी गरी ३५ जनाको र्‍यापिड टेस्ट गरिएको थियो । र्‍यापिड टेस्टको नतिजा नेगेटिभ आएको भए पनि पीसीआर विधिबाट पुनः परीक्षणका लागि थ्रोट स्वाब संकलन गरिएको छ ।

संक्रमित युवक बसेकै क्वारेन्टाइनबाट चैत २७ गते घर फर्किएका ११ जनालाई पनि थ्रोट स्वाब संकलनका लागि बोलाइएको छ । १४ दिन क्वारेन्टाइनमा बसेका उनीहरुलाई परीक्षण नै नगरी घर पठाइएको थियो । इशनाथ नगरपालिकका निमित्त प्रशासकीय प्रमुख नन्दकिशोर गुप्ताले भने ‘त्यो बेला परीक्षण गर्ने किट र चिकित्सक नै थिएनन् ।’

कोरोना पोजेटिभ भएको युवकको घरमा रहेका आमाबुबा, दुई भाइ र एक बहिनीलाई क्वारेन्टाइनमा राखिएको छ । संक्रमित युवकको नारायणी अस्पताल, वीरगञ्जमा उपचार भइरहेको प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment