Comments Add Comment

बढीघाट खोलाको पुल दोस्रोपटक पनि बन्दाबन्दै भत्कियो

४ वैशाख, तम्घास । गुल्मीको मुसिकोट नगरपालिकामा पर्ने बढीघाट खोलामा बन्दै गरेको पुल दोस्रोपटक पनि बन्दाबन्दै भत्किएको छ । सो पुल दोस्रोपटक बुधबार आएको बाढीले भत्किएको हो ।

गत वर्ष ढलान गर्ने बेलामा पनि यो पुल भत्किएको थियो । भत्किएको आठ महिनापछि पुनः बनाउन सुरु गरिएको थियो ।

तर, बुधबार साँझपख आएको बाढीले पुनः पुल भत्किएको मुसिकोट नगरपालिका प्रमुख सोमनाथ सापकोटाले जानकारी दिए ।

‘चैत ३० गते मात्र ढलाइ भएको थियो । बैशाख ३ गते आएको बाढीले तल लगाएको टेका बगाएपछि पुल नै भत्कियो,’ नगरप्रमुख सापकोटाले भने, ‘यही पुल अघिल्लो वर्ष बैशाख १ गते ढलाइ गर्ने बेलामा पनि भत्किएको थियो ।’

यस वर्ष फेरि गत माघ महिनाबाट काम सुरु गरिएको थियो । गत चैत १२ गते ढलाइ गर्ने कार्यक्रम थियो । तर, लकडाउनका कारण सो योजना स्थगित गरिएको थियो । त्यसपछि गृह मन्त्रालयको स्वीकृतिमा चैत ३० गते ढलाइ गरिएको थियो ।

यसपटक बाढीले फर्मा, फलामका पाइप, जेनेरेटर, ह्युम पाइप र ढलाइ बगाएकाले ठूलो क्षति पुगेको छ ।

वाइटी जय बुद्ध कन्ट्रक्सन प्रालिले यो पुल निर्माणको ठेक्का पाएको छ । ठेकेदारको लापरवाहीका कारण बाढीले पुलमा ठूलो क्षति पुगेको र निर्माण कार्यमा पनि ढिलाइ भइरहेको स्थानीयबासी बताउँछन् ।

५ करोड १७ लाख रुपैयाँ लागतमा बन्न लागेको यो पुल करिब ५८ मिटर लामो छ । तर पुलको बीचमा पिलर छैन ।

मुसिकोट नगरपालिका प्रमुख सापकोटालाई पनि बीचमा पिलर भएको भए पटक–पटक पुल भत्किदैनथ्यो कि भन्ने लाग्छ । उनी भन्छन्, ‘यो खोलो हेर्दा पुलको बीचमा एउटा पिलर पनि भएको भए राम्रो हुन्थ्यो भन्ने जो कोहीलाई लाग्छ । बीचमा पिलर भएको खोलोलाई डाइभर्ट गर्थ्यो कि ।’

यसको डिजाइन गर्ने इन्जिनियरहरुले भने बीचमा पिलर नचाहिने बरु ठेकदारले राम्रोसँग बनाउनु पर्ने बताउने गरेको सापकोटाले जानकारी दिए । ठेकदार पक्षले पनि बीचमा पिलर चाहिन्छ भनेको सापकोटाले बताए ।

सापकोटाले भने, ‘यो ठूलो खोलो हो, सामान्य होइन । त्यही भएर बीचमा पिलर चाहिन्छ भन्ने ठेकदार पक्षको भनाइ छ । हामी प्राविधिक नभए पनि त्यहाँको भूगोल हेर्दा हामीलाई पनि बीचमा पिलर चाहिन्छ भन्ने लाग्छ । जुनसुकै मान्छेलाई पनि त्यही लाग्छ । तर डिजाइन गर्नेले यो डिजाइन फेल होइन, ठेकदारको लापरवाही हो भन्छन् ।’

दर्लिङ भेगमा ठूलो पानी परेकाले बाढी आएको बताइएको छ । सो बाढीले अँधेरी खोलामा बन्दै गरेको पुलमा पनि क्षति पुर्याएको छ । त्यो पुलमा भने ढलाइ भइनसकेकाले सटरिङ मात्र बगाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment