Comments Add Comment

१३ औं साग पुरस्कार : गौरिकालाई ६२ लाख, फुटबल खेललाई २ करोड

४ वैशाख, काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा पदक जित्ने खेलाडीले सरकारले घोषणा गरेको पुरस्कार रकम पाउन थालेका छन् ।

युवा तथा खेलकुद मन्त्रालयले राष्ट्रिय खेलकुद परिषदले उपलब्ध गराएको विवरण बमोजिम ४३५ खेलाडीको लागि १९ करोड ५३ लाख रकम कोष तथा लेखा नियन्त्रक कार्यलय (कोलेनिका) मार्फत खेलाडीको बैंक खातामा पठाइएको विज्ञप्तिमार्फत नै जानकारी दिएको छ ।

बिहीबार तेक्वान्दोका सञ्जीवकुमार ओझाको खातामा बुधबार पुरस्कार रकम पुगेको छ । राखेपका राष्ट्रिय टिम तयारी समितिका प्रमुख महेन्द्रकुमार राईले एभरेष्ट बैंकमा खाता हुनेको रकम बुधबारै गएको र अन्य खेलाडीको खातामा बिहिबार रकम जम्मा हुने बताए ।

केही खेलाडीको पूर्ण विवरण नमिलेको र कोलेनिकाको सर्भरले काम नगरेकोले रकम पठाउन ढिलाई भएको राईले बताए ।

कसले कति पाउँछन् पुरस्कार रकम ?

१३ औं सागमा व्यक्तिगत इभेन्टतर्फ स्वर्ण जित्नेले ९ लाख पाउनेछन् भने रजत जित्नेले ६ लाख र कास्य जित्नेले ३ लाख रुपैयाँ पाउनेछन् । यस्तै टिम इभेन्टतर्फ स्वर्ण जित्नेले ६ लाख, रजत जित्नेले ४ लाख र कास्य जित्नेले २ लाख पाउनेछन् ।

युवा तथा खेलकुद मन्त्रालयले जारी गरेको पुरस्कार तथा सम्मान कार्यविधि २०७२ अनुसार १३ औं सागमा सर्वाधिक ४ स्वर्णसहित ९ पदक जितेकी पौडीकी गौरिका सिंहले सर्वाधिक रकम पाउने भएकी छन् । ४ स्वर्ण २ रजत र ३ कास्य जितेकी पौडीकी गौरिका सिंहले ६२ लाख पाउनेछिन् ।

गौरिकाले ४ स्वर्णको ११ लाखका दरले ४४ लाख, व्यक्तिगत दुई रजतको ६ लाखका दरले १२ लाख र टिम इभेन्टमा ३ रजत जितेवापत २ लाखका दरले ६ लाख गरी कूल ६२ लाख पाउने भएकी हुन् ।

यस्तै २–२ स्वर्ण जितेका करातेका मन्डेकाजी श्रेष्ठ, तेक्वान्दोकी आयशा शाक्य र गल्फका सुवास तामाङले २२–२२ लाख रुपैयाँ पाउनेछन् । तीनै जनाले व्यक्तिगत र टिम इभेन्टमा एक–एक स्वर्ण जितेका थिए ।

व्यक्तिगत स्वर्ण जित्नेले ९ लाख र टिम इभेन्टमा स्वर्ण जित्नेले ६ लाख रुपैयाँ पाउने नियम अनुसार तीन जनाले १५ लाख पाउनुपर्ने हो । तर प्रधानमन्त्रीले नै पुरस्कार घोषणा गर्दा एक भन्दा बढी स्वर्ण जित्नेले ११ लाखका दरले पाउने घोषणा गरेकाले अब २ स्वर्ण जित्नेले पनि २२ लाख नै पाउने १३ औं साग सचिवालय प्रमुख कमल खनालले जानकारी दिए ।

खेलतर्फ भने फुटबलले सर्वाधिक पुरस्कार पाउने भएको छ । १३ औं सागमा यू २३ पुरुष फुटबलले स्वर्ण र महिला फुटबलले रजत जितेको थियो । दुवै टोलीमा २०–२० जना सदस्य छन् । पुरुष टिमले कूल १ करोड २० लाख र महिला टिमले ८० लाख पाउनेछन् । महिला र पुरुषतर्फ गरी फुटबल खेलले कुलमा दुई करोड रुपैयाँ पुरस्कार पाउनेछ ।

खेलाडीको लागि रकम निकास भएपछि सागमा पदक जित्ने प्रशिक्षक सहायक प्रशिक्षकहरुको पुरस्कार रकम भने केही समयपछि मात्र बैंक खातामा पठाइने भएको छ । अहिले केही प्रशिक्षकको पेश्की रकम फर्छ्यौट बाँकी रहेकोले उनीहरुको पुरस्कार केही ढिलो हुने राखेप सदस्य सचिव रमेश सिलवालले बताएका थिए ।

प्रधानमन्त्री सागमा स्वर्ण जित्ने प्रशिक्षकले पनि नगद ५ लाख पुरस्कार पाउने घोषणा गरेका थिए । पुरस्कारसम्बन्धी संशोधित कार्यविधिअनुसार सागमा स्वर्ण जित्ने खेलको मुख्य प्रशिक्षकले ५ लाख, रजत जित्ने खेलको प्रशिक्षकले ३ र कास्य जित्ने खेलको प्रशिक्षकले २ लाख रुपैयाँ पाउनेछन् । त्यस्तै सहायक प्रशिक्षकमा स्वर्ण जित्नेकोले ३ लाख, रजत जित्नेकोले २ लाख र कास्य जित्नेकोले एक लाख रुपैयाँ पाउनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment