Comments Add Comment

चीनबाट ५० हजार थान पीपीई आसामले कसरी भित्र्यायो ?

चीनबाट सीधै पीपीई किन्ने भारतको पहिलो राज्य बन्यो आसाम

आसामका स्वास्थ्यमन्त्री हिमान्त विश्व शर्मा । पृष्ठभूमिमा चीनबाट पीपीई ल्याएर आएको कार्गो जहाज । फोटो : ट्वीटर

५ बैशाख, काठमाडौं । भारतमा लकडाउन जारी रहेको बेला आसाम राज्यले चीनबाट ५० हजार थान पर्सनल प्रोटेक्टिभ इक्विपमेन्ट (पीपीई) हवाईमार्गबाट भित्राएको छ ।

चीनको ग्वाङ्झाओबाट ब्लुडार्ट कार्गो कम्पनीको विमान पीपीई ल्याएर गुवाहाटीस्थित गोपीनाथ बोरदोलोई अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएको थियो ।

विदेशबाट पीपीई लगायतका सामग्री ल्याउने भारतको पहिलो राज्य बनेको छ । आसामका स्वास्थ्यमन्त्री हिमन्त विश्व शर्माले ब्लुडार्ट कम्पनीको जहाजलाई पृष्ठभूमिमा राखेर खिचिएको आफ्नो फोटो सार्वजनिक गर्दै चीनबाट स्वास्थ्यसँग सम्बन्धित सामग्री ल्याएको जानकारी दिएका थिए ।


उनले ट्वीटरमा लेखेका थिए, ‘खुसीको एक अर्को ठूलो कारण । जीवनलाई पहिलो प्राथमिकतामा राखेर हामीले ग्वाङझाओ, चीनबाट ५० हजार पीपीई किट आयात गरेर हामी खुसी छौं । यो हाम्रा डाक्टर र नर्सहरुलाई ठूलो हौसला हो ।’

भारतका अन्य राज्यहरुले कोरोनाविरुद्ध लड्न स्वास्थ्य सामग्री अभाव रहेको भनिरहेको बेला आसामले छिमेकी चीनबाट यति धेरै स्वास्थ्य सामाग्री भित्राएको भन्दै जनस्तरबाट प्रशंसा भइरहेको छ ।

आसाममा ३४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ, जसमध्ये पाँच जना उपचारपछि निको भइसकेका छन् भने एक जना बिरामीको मृत्यु भएको छ ।

सुरुवाती चरणमा आसाममा पीपीईको चरम अभाव थियो । अहिले डेढ लाख पीपीई स्टक रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

आसामलाई यो उपलब्धी कसरी सम्भव भयो ?आसामका प्रतिष्ठित उद्यमी अभिजित बरुआ भन्छन्, ‘सरकारसँग ई–कमर्सदेखि लिएर ट्रेडिङ कम्पनीसम्म दुवैतर्फ सम्पर्क हुन्छ । यो भन्दा  ठूलो कुरा त कोरोनाको महामारीसँग जुध्नका लागि सरकारका अधिकारीहरु कति गम्भीरतापूर्वक सक्रिय छन् र कति छिटो निर्णय लिन सक्छन् भन्ने कुरा हो । आसामले तत्परता देखायो । नत्र त कुनै पनि कुरा खरिद गर्नुअघि सरकारी प्रक्रिया पुर्याउनुपर्ने जटिलतामा फसेर निर्णय लिन सकिँदैन । देशमा कोरोना भाइरसका कारण सिर्जित समस्याका बेला साहसिक निर्णय पनि लिनुपर्छ । तर, सबैले यस्तो गर्न सक्दैनन् ।’

चीनबाट ल्याइएका कतिपय स्वास्थ्य सामग्रीको गुणस्तरमा प्रश्न उठ्ने गरेको छ । विश्वका कतिपय देशले चिनियाँ किट फिर्ता पठाइदिएको र नेपालमा पनि डब्लुएचओले मान्यता नदिएका किट आयात भएका समाचार सार्वजनिक भएका छन् ।

यस्तो बेलामा चीनबाट आसामले ल्याएका पीपीई किट वितरण गर्नुअघि जाँच गर्नु आवश्यक होला ? बीबीसीको यो प्रश्नको जवाफमा आसामका उद्यमी बरुवा भन्छन्, ‘चीनको सामान हो भन्दैमा गुणस्तर नराम्रो हुन्छ भन्नु हुँदैन । तर कत्तिको गुणस्तरीय सामान हो भनेर बुझ्न यसको मूल्य पनि हेर्नुपर्छ । सरकारको उद्देश्य कोरोनाविरुद्ध अग्रपंक्तिमा खटिनेहरुलाई सुरक्षित राख्नु हो । त्यसैले गुणस्तर परीक्षण पनि जरुरी छ । किनभने खरिद गर्नेलाई पनि नराम्रो डिल भएको थाहा हुँदैन ।’

तर, आसामका स्वास्थ्यमन्त्री शर्मा भन्छन्, भारत सरकार र अन्य धेरै देशहरुले चीनबाटै स्वास्थ्य सामग्री खरिद गरिरहेका छन् । हामीले पनि त्यसै गर्यौं । सीधै चीनबाट स्वास्थ्य सामग्री खरिद गर्ने आसाम भारतको पहिलो राज्य हो ।’

कोरोना भाइरस परीक्षणका लागि चीनले बिहीबार भारतलाई ६ लाख ५० हजार टेस्टिङ किट पठाएको छ । ५ लाख ५० हजार र्यापिड एन्टिबडी डायग्नोस्टिक किट र एक लाख आरएनए एक्सट्रक्सन किट चीनले भारत पठाएको हो ।

आसामका स्वास्थ्य एवम् परिवार कल्याण विभागका मुख्य सचिव समीर कुमार सिन्हाले बीबीसीलाई भनेका छन्, चीनबाट आएको ५० हजारर पीपीई किटसमेत गरेर अब आसामसँग करिब डेढ लाख स्टक छ ।

मुख्य सचिव सिन्हाले भनेका छन्, ‘पहिले हामीसँग निकै थोरै पीपीई किट थियो । हाम्रा डाक्टर, नर्स, प्यारामेडिकल स्टाफ सबैलाई पीपीई आवश्यक छ । अस्पतालमा काम गर्नेहरुको पहिलो प्रश्न नै हामीलाई पीपीई किट छ कि छैन ? भन्ने हुन्थ्यो । तर कहाँबाट ल्याउने, कसरी ल्याउने, जनता, चिकित्सक, स्वास्थ्यकर्मीलाई कसरी आश्वस्त पार्ने भन्ने चुनौती थियो ।’

उनी भन्छन्, ‘सरसफाइमा खटिने कर्मचारीहरुलाई पनि पीपीई आवश्यक थियो । पीपीई एकपटक प्रयोग गरेपछि त्यसलाई फ्याक्नुपर्छ । त्यसैले हामीलाई यसको आवश्यकता धेरै थियो । कोरोना भाइरसविरुद्धको लडाइँ जित्नका लागि सबैभन्दा अगाडि खटिने स्वास्थ्कर्मीको सुरक्षा र उनीहरुलाई तालिम दुवै चिज एकदमै जरुरी छ । यदि उनीहरुको मनमा बिरामीको सेवा गर्ने डर भएन भने धेरै व्यक्तिको ज्यान जोगिन्छ । अहिले हाम्रा चिकित्सक, स्वास्थ्यकर्मी र सफाइकर्मीहरुलाई पीपीई किटको व्यवस्था गरिएको छ । अब उनीहरु नडराइकन बिरामीको सेवा गर्न सक्छन् ।’

चीनको व्यापारिक केन्द्र ग्वाङझाओको धेरैपटक भ्रमण गरेका र त्यहाँको चिकित्सा उपकरणको ब्यापारबारे जानकार अभिजित भुइया भन्छन्, ‘सरकारका लागि यस प्रकारको खरिद कुनै अप्ठ्यारो काम होइन । त्यसका लागि केही तयारी भने पहिल्यैदेखि गर्नुपर्छ । आसामले कोमार्फत् चीनबाट पीपीई खरिद गर्यो मलाई थाहा छैन । तर केही खरिदका लागि चीन र भारत दुवैतर्फ केही व्यवसायी हुन्छन् । उनीहरुले यस काममा सहयोग गर्छन् । राज्य सरकारको सम्पर्क व्यक्ति निश्चितरुपमा छ । यद्यपि यो समय निकै संकटपूर्ण छ । त्यसैले भारत सरकारले पनि धेरै मद्दत गरेको छ । किनभने चीनबाट कुनै सामान भारत ल्याइयो भने भन्सार पासदेखि लिएर ढुवानी जस्ता धेरै प्रकारका अनुमति लिनुपर्दछ ।’

चीनबाट ल्याइएका पीपीईको गुणस्तरको विषयमा भुइया भन्छन्, स्वास्थ्यमन्त्री आफैंले यी सबै काम गरेकाले गुणस्तर खराब हुने सम्भवना एकदमै कम छ । कुनै पनि उत्पादनको क्वालिटी चेक गर्ने सामान्य प्रक्रिया हुन्छ । यसका साथै कुनै उत्पादन कन्टेनरमा लोड गर्नुअघि पनि सुरुमा देखाइएको स्याम्पलसँग दाँजेर गुणस्तर जाँच  गरिन्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment