Comments Add Comment

लकडाउनको मौका छोपेर धमाधम वन कटान

फाइल तस्वीर

महोत्तरी । लकडाउनको बेलामा वन सम्पदा मास्ने क्रम बढेको छ ।

चैत ११ यता कटान गरिएका १३० क्युबी फिट साल (साखु) डिभिजन वन कार्यालय महोत्तरीले बरामद गरेको छ । पछिल्लोपटक बर्दिवास नगरपालिका–११ खयरमारामा लुकाइछिपाइ राखिएको १०० क्यूवी साखुका गिण्डा बरामद गरिएको डिभिजन प्रमुख हेमन्तप्रसाद साहले जानकारी दिए ।

बरामद काठ यसै साता काटिएका रुखको भएको साहको भनाइ छ ।

‘हामीले बर्दिवास–११ का बिल्टु ठाकुरको घर र नजिकैको आँप बगैँचाबाट १०० क्यूवी फिट साखुका गिण्डा बिहीबार बरामद गरेका छौं,’ साहले भने, ‘यसअघि गत चैत मध्यताका ३० क्यूवी फिट साखुका गिण्डा बरामद गरिएको थियो ।’

यसैगरी लकडाउन अवधिभित्रै साखुका छ इञ्च मोटा र चारफिट चौडा फलेक ३० थान बरामद गरिएको कार्यालयले जनाएको छ । त्यस्ता फलेक चोरेर ओसार्न प्रयोग गरिएका दुई मोटरसाइकल, एक टेम्पु र २४ साइकलसमेत बरामद गरिएको साहले बताउनुभयो । टोलीले वनमा चोरी कटान गर्नेहरुले काटेका रुखको पहिचान गरिएको जनाएको छ ।

लकडाउन अवधिमै वनमा डढेलो लगाउने क्रम पनि ह्वात्तै बढेको छ । पछिल्लो समयमा वन क्षेत्रमा रुख काट्ने, डढेलो लगाउने र वन्यजन्तुको चोरी शिकार गर्ने क्रम बढेपछि यसै साता तीनवटा टोली बनाएर सघन वन गस्ती परिचालित गरिएको कार्यालयले जनाएको छ ।

‘वनमा जताततै डढेलो बढेको छ, यसले मानवीय क्षतिसँगै बहुमूल्य काठ हुने बिरुवा डढेर ठुटा भएका छन्,’ साहले भने, ‘पछिल्लो लकडाउन अवधिभित्रै २०० हेक्टरमा लागेको डढेलो निभाउन सक्यौँ ।’

अहिले डढेलो नियन्त्रणका लागि विशेष तालिम लिएका वन सुरक्षा सैनिक तैनाथ गरिएको उनको भनाइ छ । गत बुधबारमात्र बर्दिवास–१० को खयरमारास्थित सरस्वती सामुदायिक वनमा लागेको डढेलोले त्यहीँकै ७० वर्षीय हर्कबहादुर वाइवाको ज्यान गएको घटना स्मरण गर्दै साहले डढेलो रोक्न स्थानीय पहलकदमी बढ्नुपर्नेमा जोड दिए ।

महोत्तरीका प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीले वन, नदी, पहाडी शृङ्खलाको सुरक्षाका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी र सशस्त्र वन रक्षकको संयुक्त सुरक्षा टोली परिचालित गरिएको बताए । प्राकृतिक सम्पदामाथि हुने आक्रमण, अतिक्रमण र कटान तथा उत्खनन रोक्न सम्बन्धित स्थानीय तहको पहलकदमी बढ्न जरुरी भएको खत्रीको थप भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment