Comments Add Comment

क्वारेन्टाइनमा राखिएकाहरूलाई वडाध्यक्षले छाडिदिए

७ वैशाख, गोरखा । शहीद लखन गाउँपालिकाको बैठकले अन्य जिल्लाबाट आएका व्यक्तिहरूलाई पनि अनिवार्य क्वारेन्टाइनमा राख्ने निर्णय गर्‍यो । तर, निर्णय भएको भोलिपल्टै क्वारेन्टाइनमा रहेकाहरूलाई वडाध्यक्षले छाडिदिएका छन् ।

वडा नम्वर ७ को शहीद स्मृति माविको क्वारेन्टाइनमा रहेका सात जनालाई वडा नम्बर ७ का वडाध्यक्ष शरण श्रेष्ठ र ८ का अध्यक्ष काशीनाथ अंगाईको अगुवाइमा छाडिएको छ ।

क्वारेन्टाइनमा रहेकामध्ये पाँच जना वैशाख ४ गते चितवनबाट गाउँ फर्केका थिए । साइकलबाट आउँदै गरेका उनीहरूलाई बाटोबाटै प्रहरीले नियन्त्रणमा लिएर क्वारेन्टाइन स्थलमा राखेको थियो । क्वारेन्टाइनमा रहेका बाँकी दुई जना शुक्रबार राति काठमाडौंबाट एम्बुलेन्स चढेर आएका थिए ।

सरकारले बाहिरबाट आउनेहरूलाई कम्तीमा १४ दिन क्वारेन्टाइनमा बस्न आग्रह गरिरहेको छ । तर, क्वारेन्टाइनमा बसेको दुई दिन बित्न नपाउँदै वडाध्यक्षहरूले छाडिदिएपछि विरोध भएको छ । सामाजिक सञ्जालमा विरोध भए पनि गाउँपालिकाले सहयोग नगरेपछि क्वारेन्टाइनमा रहेकाहरूलाई छाडिदिएको वडाध्यक्षहरू बताउँछन् ।

‘हाम्रो मान्छेहरूलाई जबर्जस्ती प्रहरी लगाएर समाउँदै क्वारेन्टाइनमा राख्यो भनेर नेकपाको जिम्मेवार मान्छेले नै विरोध गरे, सामाजिक सञ्जालमा चरित्र हत्या गर्ने खालका कुराहरू लेखिए,’ वडा नम्वर ८ का अध्यक्ष काशीनाथ अम्गाइले भने, ‘तर पनि गाउँपालिकाले हामीलाई सपोर्ट गरेन, अनि छाडिदिएका हौँ ।’

यस गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष नेकपाका हुन्  भने वडा नम्बर ७ र ८ का वडाध्यक्ष कांग्रेस हुन्।

उनीहरूलाई अनिवार्य रुपमा होम क्वारेन्टाइनमा बस्ने शर्तको कागज गराएर छाडिएको उनको भनाइ छ । उनीहरूको र्‍यापिड टेस्टमार्फत आइतबार कोरोना परीक्षण समेत गरिने उनले बताए ।

सामाजिक सञ्जालमा विरोध हुन थालेपछि क्वारेन्टाइनमा रहेकाहरूलाई छाडिएको वडा नम्वर ७ का अध्यक्ष शरण श्रेष्ठको तर्क छ। ‘हामीले जबर्जस्ती क्वारेन्टाइनमा राखेको जस्तो गरे, अनावश्यक आरोप लगाए, त्यति गर्दा पनि गाउँपालिकाले समर्थन गरेन, त्यसैले उनीहरूलाई होम क्वारेन्टाइन बस्न भनेका छौँ’ उनले भने ।

गाउँपालिकाका अध्यक्ष रमेश थापाले क्वारेन्टाइनमा रहेकाहरूलाई छाड्नु गैरजिम्मेवारीपन भएको बताए । सामाजिक सञ्जालमा कसैले केही भन्दैमा कोरोना भाइरस रोकथामका लागि चालिने कदम रोक्न नहुने उनको भनाइ छ ।

‘एउटा व्यक्तिले सामाजिक सञ्जालमा के लेखेको छ भनेर त्यसको आधारमा गाउँपालिकाले जिम्मा लिन सक्ने कुरा भएन,’ उनले भने, ‘मलाई पनि सामाजिक सञ्जालमा अनेक भनेर लेखेका छन् । तर, त्यसो गर्‍यो भन्दैमा उहाँहरू गैरजिम्मेवार बन्नुहुन्न थियो ।’

कसैले गाली गरेमा कारबाहीको कानुनी प्रक्रिया सुरु गर्न सकिने तर क्वारेन्टाइमा राखिएकाहरूलाई छाड्न नमिल्ने अध्यक्ष थापा बताउँछन् । छाडिएकाहरूको हकमा के गर्ने भन्ने विषयमा आइतबार छलफल गर्ने उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment