Comments Add Comment

कोरोनाको त्रासमा रामराज्य ! सडकमा छरिएका ५ सयका नोट कसैले टिपेनन्

कोरोना भाइरसको महामारीले मानिसमा त्रास मात्र पैदा गरेको छैन, नैतिकता तथा इमान्दारीमा पनि वृद्धि गरेछ । हुन त मान्छेलाई आफ्नो ज्यानभन्दा ठूलो माया कसैको लाग्दैन । आफ्नो ज्यानका अगाडि पैसाको मूल्य त शून्य हुँदोरहेछ ।

भारतमा हालै एउटा यस्तो घटना भएको छ, जसले मान्छेको मनमा कोरोनाले कस्तो त्रास सिर्जना गरेको छ भन्ने देखाएको मात्र छैन, मान्छेले आफ्नो ज्यान जोगाउनका लागि पैसालाई समेत लात मार्दोरहेछ भन्ने देखिएको छ ।

घटना भारतको नयाँदिल्ली स्थित लरेन्स रोडको हो । स्थानीय बस्तीको एक सडक किनारामा पाँच सय भारुका केही नोटहरू यत्रतत्र छरिएका थिए । अरू समयमा हुँदो हो त ५ सय भारु मात्र होइन, पाँच रूपैयाँ भारु रकम फेला परे पनि मानिसहरूले टपक्कै टिपिहाल्थे होलान् । तर, योपटक सडकमा यत्रतत्र छरिएका पाँच सय भारुका नोटहरू टिप्ने हिम्मत कसैले गरेनन् ।

सडकमा ती नोटहरू देख्नेहरूले पैसा टिप्नुको साटो उल्टै कोही मानिसले कोरोना भाइरस फैलाउनका लागि त्यसरी नोट छरेको हुनसक्ने अड्कल काटे । त्यसपछि स्थानीय बासिन्दाले पुलिसलाई खबर गरे । पुलिस आएर सडकमा रहेका नोटहरू स्यानिटाइज गर्यो र खाममा हालेर पुलिस चौकी लग्यो ।

सडकमा पाँच सय भारुका नोट छरिएको घटनाको रहस्यको खुलासा तबमात्र भयो जब एकजना महिला ती नोटहरू आफ्नो भएको भन्दै पुलिस चौकी पुगिन्।

आफूले एटिएम कार्डबाट रकम निकालेर ती नोटहरूलाई स्यानिटाइजरले धोइपखाली गरी बाल्कोनीमा सुकाउनका लागि राखेको बेला हावाले उडाएर नोटहरू सडकमा खसालेको उनले बताइन् ।

पेसाले शिक्षिका रहेकी ती महिलाले बैङ्कबाट १० हजार भारु निकालेको र त्यसरी निकालेका २० वटा पाँच सय भारुका नोट धोइपखाली गरेर सुकाउन राखेको बेला केही नोट हावाले उडाएको रहेछ भनेर पुलिससमक्ष बयान दिइन् । प्रहरीले उनलाई बैङ्कबाट निकालेका अन्य नोटहरू ल्याउनका लागि आग्रह गर्‍यो । त्यसपछि उनले आफूले बैङ्कबाट निकालेका अन्य नोटहरू देखाइन् । सडकमा भेटिएका र उनीसँग भएका नोटको नम्बर एउटै सिरिजको भएको पाइएपछि प्रहरीले फेला परेका नोटहरू उनकै रहेको ठहर गर्दै उनलाई फिर्ता गरेको छ ।

पुलिस अधिकारीहरूले घटनाको विवरण सुनाउँदै सडकमा छरिएका पाँच सय भारुका नोटहरू कसैले नटिपेको र घटनास्थलमा ती नोटहरू कसैको भए दाबी गर्न स्थानीय बासिन्दाहरूलाई अनुरोध गर्दा समेत कसैले दाबी नगर्दा आफूहरूलाई साँच्चिकै रामराज्य आएजस्तो अनुभूति भएको बताए ।

एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment