Comments Add Comment

कैलाली र कञ्चनपुरमा ५० शय्याका नयाँ अस्पताल निर्माण हुँदै

७ वैशाख, डोटी । कोरोना भाइरस (कोभिड-१९) का संक्रमितहरुको उपचारका लागि कैलाली र कञ्चनपुरमा कोरोना अस्पताल निर्माण कार्य सुरु भएको छ ।

५०/५० शय्याका ती कैलालीमा सेती प्रादेशिक अस्पताल र कञ्चनपुरमा महाकाली अस्पतालले सञ्चालन गर्ने प्रदेश सामाजिक विकास मन्त्रालयका सूचना अधिकारी हेमराज खड्काले जानकारी दिए ।

धनगढीमा अस्पतालको भवन निर्माणका लागि सम्झौता भइसकेको स्वास्थ्य कार्यालय कैलालीका प्रमुख लालबहादुर धामीले जानकारी दिए । उनले जिल्ला समन्वय समिति कैलालीको आवास गृहको खाली जग्गामा भवन निर्माण सुरु भएको बताए । एक महिनाभित्र काम सक्ने गरी किनारा कन्ट्रक्सनलाई भवन निर्माणको ठेक्का बताउँदै उनले दिन-रात काम भइरहेको जानकारी दिए ।

कञ्चनपुरको महेन्द्रनगरमा अस्पताल निर्माणका लागि डिपिन बिल्डर्स प्रालिले ठेक्का पाएको छ । महाकाली अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कृष्णदत्त जोशीका अनुसार सम्झौता प्रक्रिया अन्तिम चरणमा पुगेको आइतबारदेखि नै निर्माण कार्य सुरु हुनेछ । उनले महाकाली अस्पतालकै परिसरमा भवन निर्माण गर्ने बताए ।

कोरोना भाइरस (कोभिड-१९) का संक्रमितलाई राख्न एक भवनमा ५० कोठाहरू हुनेछन् । प्रदेशमा कोरोना भाइरस (कोभिड-१९) का संक्रमितको संख्या धेरै भए नयाँ निर्माण गरिने अस्पतालमा राख्ने तयारीमा प्रदेश सरकार छ । नयाँ निर्माण हुने आइसोलेसन भवन प्रि-फ्याव प्रविधिमा निर्माण गर्न सम्झौता भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment