Comments Add Comment

…अनि उनी मुस्कुराए

मनका कुरा चुनावताका नेतालाई साँच्या'छु

७ वैशाख, पोखरा । सेती किनारमा शव जलाउन घाट बनाइएको छ । नाम हो, शान्ति घाट । घाटमा पुगेका मलामी बस्न मिल्ने गरी एउटा प्रतीक्षालय बनाइएको छ ।

त्यहीँ वृद्धा खोक्दै सुतिरहेकी छिन् । तन्ना ओडेर सुतेकी उनको सिरानी छेउ प्लास्टिकमा अलिकति चामल देखिन्छ । अलिक पर छन्, कुच्चिएका क्यान बियरका बट्टाहरू।

यो धादिङका घर भई हाल पोखरा बसेर प्लास्टिक तथा फलामका टुक्रा बटुल्दै जीवनयापन गर्ने लोकबहादुर गुरुङको परिवार हो। यही प्रतीक्षालयमा लोकबहादुर दम्पतिले महिनौं बिताएका छन् । त्यसैमाथि पछिल्लो तीन दिन भोकै ।

गुरुङकी श्रीमती बिरामी छिन् । अस्पताल त लगेका थिए, तर उपचार भएन । ‘न डाक्टरले जाँच्न माने । न थप उपचार गर्न पैसा नै बाँकी रह्यो,’ भुइँमा पल्टिएकी श्रीमतीतिर हेर्दै उनले भने, ‘अहिले त झन् बोल्न नि नसक्ने भा’छे ।’

उनका अनुसार छोराछोरी गाउँमै छन् । हेर्न छोडेपछि केही वर्षअघि उनीहरू पोखरा आएका हुन् । बुढ्यौलीले छोइसकेकाले अरु काम गर्न गाह्रो भएपछि प्लास्टिक बटुल्ने काम थाले । दिनभर बटुल्यो, बेच्यो । र, त्यसैले जीविका चलायो ।

तर, उनीहरूले कहिल्यै नसोचेको लकडाउन भयो । उनीहरू जहाँ छन्, त्यहीँ ‘लक’ भए । साँचेको सामान सकियो । श्रीमती बिरामी भइन् । आपत् झनै मडारिएर आयो । ‘भोकै पर्न थालेपछि घर जाने भनेर हिँडेरै तालचोकसम्म पुगेका थियौँ, तर पुलिसले फर्काइदियो,’ उनले भने, ‘घर जान पाएको भए उनले अलिक सन्तोक पाउँथी कि !’

तालचोकबाट त फर्किए, तर बासस्थानमा खाना थिएन । श्रीमतीलाई प्रतीक्षालयमा छोडेर उनी चामल माग्न हिँडे । केहीले एक प्लास्टिक चामल दिए । त्यही चामलको भात पकाएर ३ दिनपछि खाना खाए । ‘बुढीले खाइनन् । अलिकति बच्यो, त्यसलाई साँझका लागि राख्याछु,’ थालको भात देखाउँदै उनले भने ।
उनी आपतको बेला कुनै पनि ठाउँबाट आफूलाई राहत नपाएपछि मुमुर्रिरहेका थिए । भन्दै थिए, ‘सरकार हाम्रो होइन रै’छ । चुनावको बेला हात जोड्दै आउँलान् । त्यतिबेला के भन्ने मनमा कुरा साँचेर राख्या’छु ।’

अनि उनी मुस्कुराए…

लकडाउनका कारण जीवनयापन गर्न गाह्रो भएका र विपन्नहरुले राहत नपाएको गुनासो आएपछि पोखरा महानगरले ‘क्विक रेस्पोन्स’ टोली गठन गरेको छ ।

लोकबहादुरबारे सूचना पाएपछि आइतबार दिउँसो क्विक रेस्पोन्स टोली प्रतीक्षालयमा पुग्दा उनी श्रीमतीलाई स्याहार गर्दै थिए । महानगरले उनलाई त्यहाँ पुगेर १२ किलो चामल, दाल, नुन लगायतका ‘प्याकेज’ राहत दियो ।

राहतमा पाएको बोरालाई काँधमा हाले । सायद उनलाई विश्वास नलागेको हुनसक्छ । अनि मुस्कुराउँदै भने, ‘यत्ति भएपछि बाँचिन्छ कि भन्ने लाग्यो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment