Comments Add Comment

गोरखाबाट चार सय किलोमिटर पैदल हिँड्न लागेका मजदुरको उद्धार

८ वैशाख, गोरखा । पैदल हिँडेर घर जान कस्सिएका मजदुरको एक समूह आइतबार दिउँसो गोरखा सदरमुकाममा भेटिए ।

खुट्टामा चप्पल छ, पानीबाट आफू र सामान जोगाउन प्लास्टिक ओढेका छन् । लकडाउनको समयमा, न गासको ठेगान न बासको । तर मस्तिष्कमा आइरहेको घर र परिवारको सम्झनाले उनीहरुलाइ उर्जा दिइरहेको थियो ।

रुकुम, सुर्खेत, बाँकेलगायतका जिल्लाका उनीहरु गर्दै आएको काम रोकिएपछि घर जान लागेका हुन् । ‘यता काम पनि भएन, के खाने समस्या भयो,’ रुकुमका रेशम गिरीले भने, ‘गाउँमा खेतिपाती गर्ने सिजन शुरु भयो तर मान्छे छैन, यता काम नभएपछि घर जान हिँडेको हुँ ।’ करिव १६ दिनभित्र घर पुगिने उनको आशा छ ।

भीमसेन थापा गाउँपालिका स्थित वगुवाको नमूना वस्ती पुननिर्माणका लागि केही महिनाअघि मात्र उनीहरु गोरखा आएका हुन् । तर लकडाउनका कारण कामविहीन भएपछि बिहान बेलुकीको छाक टार्नै मुश्किल भयो ।

हिँडेर सुर्खेत जान निस्केका बिष्णुबहादुर थापालाई घरपरिवारको चिन्ताले सताएको छ । ‘घरमा बच्चा र श्रीमती छ, बच्चा चिल्लिएपछि एक्लो महिलाले के गर्ने ! आफू घरमा भए सानो बच्चाको जिगर बढ्छ,’ उनले भने ।

बाटोमा खान उनीहरुको झोलामा भुजा, बिस्कुट र चाउचाउ छ । साथमा पानीका बोत्तल पनि । बास कहाँ बस्ने टुंगो नभएको नेपालगञ्जका प्रेमबहादुर थापा बताउँछन् । ‘जहाँ रातपर्छ त्यतै प्रतीक्षालय वा पार्टी पौवा खोजेर सुत्छौं, चाउचाउ बिस्कुट खान्छौ, उज्यालो भएपछि फेरि लेफ राइट,’ उनले भने । उनले भने १० दिनमा घर पुग्ने आशा राखेका छन् ।

पैदल घर जान कस्सिएका उनीहरुलाई सामुदायिक सेवा केन्द्र गोरखा र जिल्ला प्रशासन कार्यालयको समन्वयमा आइतबार ट्रक चढाएर चितवन पठाइएको छ ।

उनीहरु सोमबार बिहान चितवनको नारायणगढ पुगेका छन् । ‘नारायणगढको पुल्चोकबाट वुटवल जाने टिपरमा चढेका छौं, अब त्यहाँ गएपछि केही व्यवस्था होला भन्ने आशा छ,’ उनीहरुले अनलाइनखबरलाई भने । १३ जनाको समूह रहेका उनीहरु दाङसम्म सँगै जाने बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment