Comments Add Comment

लकडाउनमा पनि माथिल्लो तामाकोसीमा धमाधम काम

ठाडो सुरुङमा १६३ मिटर पेनस्टक पाइप जोड्न बाँकी

७ वैशाख, काठमाडौं । विश्वभरी महामारीको रुपमा फैलिएको कोरोना भाइरसले विश्वको एक चौधाई जनसंख्या लकडाउनमा छ । कोरोना भाइरसको सम्भावित महामारीबाट बच्न नेपालमा पनि लकडाउन लागू  छ । कोरोना भइरहेको भय र त्रासकाबीचमा पनि आवश्यक सुरक्षात्मक उपाय अपनाएर स्वदेशी लगानीमा निर्धाणाधीन ४५६ मेगावाटको माथिल्लो तामाकोसी जलविद्युत आयोजनाको काम भने धमाधम भइरहेको छ ।

लक्ष्यअनुसार आगामी असारसम्म यो आयोजनाको काम सकिनुपर्ने हो । तर विभिन्न समस्याले कार्यतालिका प्रभावित हुने अवस्था भने सिर्जना भएको छ । आयोजना व्यवस्थापन, ठेकेदार कम्पनीका गरी दोलखाको गोंगरमा करिब एकहजार कर्मचारी र कामदार आयोजनाको निर्माणमा खटिएका छन् । लकडाउनअघि आयोजनास्थलमा रहेका कर्मचारी र कामदारलाई मात्रै संलग्न गराई सुरक्षात्मक उपाय अपनाएर काम भइरहेको छ ।

पाइप जडानका लागि सबैभन्दा जटिल मानिएको तल्लो ठाडो सुरुङमा ३१० मिटर पेनस्टक पाइप जडान भएको छ । बेन्डबाहेक तल्लो सुरुङको उचाइ ३६७ मिटर रहेकामा अव ५७ मिटर मात्रै पाइप जडान गर्न बाँकी छ ।

बेन्डहरुबाहेक माथिल्लो ठाडो सुरुङको उचाइ ३०५.५ मिटर रहेकोमा २०० मिटर पाइप जडान भएको छ । अब १०५.५ मिटर मात्रै पाइप जडान गर्न बाँकी रहेको छ । बेन्डहरुबाहेक तल्लो र माथिल्लो ठाडो सुरुङको उचाइ जम्मा ६७२.५ मिटर रहेकोमा अब १६२.५ मिटर पाइप जडान बाँकी रहेको आयोजनाले जनाएको छ ।

लकडाउनको समयमा पनि स्थानीय गाउँपालिका, प्रशासन र जनतासँग समन्वय गरी काम भइरहेको आयोजनाले जनाएको छ । भित्रका कामदारलाई बाहिर आउन नदिने र बाहिरबाट पनि नयाँ मान्छे जान नदिने गरी सुरक्षात्मक उपाय अवलम्बन गरिएको छ ।

लकडाउन अघि आयोजनास्थलमा रहेका कामदार र कर्मचारीहरुलाई मात्र संलग्न गराई सुरक्षात्मक उपाय अपनाएर काम सुरु गरिए पनि अब निर्माण सामग्री ढुवानीमा समस्या हुँदा आयोजना निर्माण प्रभावित हुनसक्ने देखिएको नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए ।

‘सरकारले तोकेको सुरक्षात्मक उपाय अपनाएर सिमेन्ट लिन जाँदासमेत फ्याट्री वरपरका स्थानीयले ट्रकलाई जान दिएका छैनन्, भारतमा पनि लकडाउन भएकाले त्यहाँबाट उपकरण ल्याउन पनि समस्या देखिएको छ, सबै पक्षसँग समन्वय गरी निर्माण प्रभावित हुन नदिन अधिकतम प्रयास गरिरहेका छौं’, माथिल्लो तामाकोसी हाइड्रोपावर लिमिटेडका अध्यक्षसमेत रहेका घिसिङले भने ।

उनले निर्माण सामग्री अभावमा काम केहीसमय स्थगित भएमा निर्माण कार्य पुनः सुरु गर्न ज्यादै कठीन हुने बताए । अत्यन्त संवेदनशील र जोखिमपूर्ण रहेको तल्लो र माथिल्लो ठाडो सुरुङमा पाइप राख्ने कार्यप्रगतिबाट उत्साहित भएको आयोजनास्थलमा मै रहेका वरिष्ठ इन्जिनियर विमल गुरुङले बताए ।

‘सिमेन्ट लगायत केही अत्यावश्यकीय केमिकल्सको अभाव भइरहेको छ, केही उपकरण भारतबाट ल्याउनु पर्ने र त्यहाँ समेत जारीे लकडाउनले फ्याक्ट्रीमा उपकरणको उत्पादन नै रोकिएको अवस्था छ,’ उनले भने ।

आगामी असारभित्र कम्तिमा पनि एउटा युनिटबाट -७६ मेगावाट) विद्युत् उत्पादन गर्ने कार्यतालिका बनाई काम भइरहेको आयोजना कोरोना भाइरस र त्यसबाट सिर्जित धेरे खालका समस्याका कारण आयोजनाको निर्माण केही पछि धकेलिने देखिएको छ । पहिलो युनिटबाट विद्युत् सुरु भएपछि बाँकी ५ युनिटबाट क्रमैसँग विद्युत् उत्पादन हुने छ ।

पेनस्टक पाइप आपूर्ति तथा जडानको (लट २) ठेक्का पाएको भारतीय कम्पनी टेक्स्म्याकोले काम गर्न ढिलाइ गरेपछि तल्लो ठाडो सुरुङमा पाइप जडानको जिम्मा इलेक्ट्रोमेकानिकल (लट ३)को ठेकेदार अष्ट्रियन कम्पनी एन्ड्रिज हाइड्रोलाई दिइएको छ ।

अपर तामाकोसी हाइड्रोपावर लिमिटेड, टेक्सम्याको र एन्डि्रजबीच २३ पुस २०७५मा आयोजनालाई थप वित्तीय भार नपर्ने गरी यो काम गर्न त्रिपक्षीय सम्झौता भएको थियो । माथिल्लो ठाडो सुरुङमा पाइप जडान भने टेक्स्म्याकोले नै गरिरहेको छ ।

आयोजनाको बाँध, इन्टेक र जलाशयमा पानी भरी प्राविधिक परीक्षण गत चैतमा नै सफलतापूर्वक सम्पन्न भइसकेको छ । विद्युत गृहका सम्पूर्ण उपकरणहरु जडान भई तयारी अवस्थामा रहेका छन् । प्रसारण लाइनको १२७ वटा टावर निर्माण र ४७ किलोमिटर टार टाङ्ने कार्य सम्पन्न भएको छ ।

२०७२ को विनाशकारी भूकम्प र त्यसपछिका पराकम्पन एवं बाढीपहिरोले पुर्याएको क्षति तथा अवरोध, मधेश आन्दोलनका कारण निर्माण समाग्री ढुवानी र इन्धन आपूर्तिमा आएको समस्या, डिजाइन परिवर्तन, हाइड्रोमेकानिकल (लट २) ठेकेदारको कमजोर कार्यसम्पादन लगायतले गर्दा आयोजनाको निर्माण ढिलाइ भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment