Comments Add Comment

लोकप्रिय बन्दै गुगल मिट, दैनिक २० लाख प्रयोगकर्ता थपिँदै

कोरोना भाइरसको लकडाउनका कारण पछिल्लो समय भिडियो कन्फ्रेन्सिङ प्लाटफर्महरु सर्वाधिक लोकप्रिय बनिरहेका छन् । साइबर सुरक्षासम्बन्धी कतिपय कमजोरीका बाबजुत भिडियो कन्फ्रेन्सिङ सर्भिस जुमले पछिल्लो समय धुम मच्चाइरहेको छ । सफलताको यो श्रेणीमा गुगलको नयाँ भिडियो कन्फ्रेन्सिङ प्लाटफर्म पनि जोडिएको छ ।

गुगलको भिडियो कन्फ्रेन्सिङ प्लाटफर्म गुगल मिटमा पछिल्ला केही हप्तादेखि दैनिक २० लाख नयाँ प्रयोगकर्ता जोडिइरहेका टन् ।

प्रयोगकर्ताको तीव्र वृद्धिसँगै बढ्दो चापलाई मध्यनजर गरी गुगल मिटको संरचना तथा क्षमतामा वृद्धि गरिएको गुगलले जनाएको छ । साथै प्रयोगकर्ताका सुरक्षा तथा गोपनीयताको सुरक्षालाई समेत प्राथमिकतामा राखिएको गुगलको भनाइ छ ।

गुगल क्लाउडको एसिया प्रशान्त क्षेत्रका नेटवर्किङ सुरक्षा विभागका प्रमुख मार्क जोन्सन भन्छन्, ‘गुगल मिटका प्रयोगकर्ताको संख्यामा जनवरीको तुलनामा २५ गुणाले वृद्धि भएको छ । अहिले दैनिक वृद्धिदर ६० प्रतिशतभन्दा धेरै छ । पछिल्ला केही हप्ता दैनिक २० लाख नयाँ प्रयोगकर्ता थपिएका छन्, जुन उल्लेखनीय वृद्धि हो ।’

कोभिड–१९ महामारीका कारण यो अभूतपूर्व अवस्थाको सिर्जना भएको भन्दै उनले प्रयोगकर्ताको संख्यामा भैरहेको तीव्र वृद्धिलाई धान्नका लागि गुगल मिटको संरचना तथा क्षमता पर्याप्त रहेको बताएका छन् ।

उनका अनुसार, अहिले गुगल मिटको प्लाटफर्ममा प्रयोगकर्ताहरुले भिडियो कलिङमा दैनिक २ अर्ब मिनेट बिताउने गरेका छन् ।

गुगल मिटको सुरक्षा तथा गोपनीयता नीतिमा सुधारका लागि निरन्तर कार्य गरिरहेको र प्रयोगकर्ताका गुनासाहरुको पनि सम्बोधन गर्ने गरिएको उनको भनाइ छ । साथै विश्वका विभिन्न कम्पनीहरु तथा शैक्षिक संस्थाहरुलाई कसरी सहयोग पुर्याउन सकिन्छ भन्ने बारेमा पनि विभिन्न निकायहरुसँग निरन्तर सम्पर्कमा रहेको उनले बताएका छन् ।

गुगल मिटमा हुने संवादका डाटाहरु इक्रिप्टेड हुने भएको हुँदा तेस्रो पक्षले हात पार्ने वा गोपनीयता भंग हुने जोखिम नरहेको उनको दाबी छ ।
एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment