Comments Add Comment

देवदह नगरले शुरु गर्‍यो कृषि एम्बुलेन्स

८ वैशाख, बुटवल । लकडाउनको समयमा कृषि उपज बिक्रीका लागि रुपन्देहीको देवदह नगरपालिकाले कृषि एम्बुलेन्स सञ्चालन गरेको छ । भूमि व्यवस्था कृषि तथा सहकारीमन्त्री आरती पौडेल र देवदह नगरप्रमुख हिराबहादुर खत्रीले सोमबार कृषि एम्बुलेन्सको संयुक्त रुपमा शुभारम्भ गरे ।

कृषि ज्ञान केन्द्र तथा पशु सेवा विज्ञ केन्द्रमा रहेका पिक अप भ्यान र मन्त्रालय मातहतका कार्यलयहरुले अनुदानको रुपमा उपलब्ध गराएका पिक अप भ्यानलाई कृषि एम्बुलेन्सको रुपमा प्रयोग गरिएको हो ।

किसानले उत्पादन गरेको कृषि उपज बिक्री गरी उपभोक्तालाई सहज बनाउन कृषि एम्बुलेन्स सञ्चालनमा ल्याएको देवदह नगरपालिकाका नगर प्रमुख हिराबहादुर खत्रीले बताए ।

देवदहमा कृषि एम्बुलेन्स सञ्चालनबाट किसानहरु पनि खुशी भएका छन् । कृषक शेरबहादुर क्षेत्रीले भने, ‘घोडाहा तरकारी पकेट एरिया हो, लकडाउनमा उत्पादन भएका तरकारी खेर जाने अवस्था थियो, अब अन्य क्षेत्रको तरकारी आउन दिनुहुँदैन हामी आफैं बेच्छौं ।’

प्रदेशको कृषि पकेट क्षेत्र मानिएको देवदह–९ को घोडाहामा उत्पादित तरकारीहरुले बजार नपाउने अवस्थाको अन्त्य हुने कृषक रेनुका मगरको भनाइ छ । प्रदेश ५ का १२ जिल्लामा ४४ वटा कृषि एम्बुलेन्सले अहिले सेवा दिइरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment