Comments Add Comment

भारतको नयाँ नियममा चीनको विरोध

८ वैशाख, काठमाडौं । भारत सरकारले प्रत्यक्ष वैदेशिक लगानीको विषयमा ल्याएको नयाँ नियमको चीनले विरोध गरेको छ । भारतमा रहेको चिनियाँ दूतावासले भारतले अहिले ल्याएको यो नियम व्यापार र लगानीमा उदारीकरणको सामान्य प्रचलनविरुद्ध रहेको बताएको छ ।

भारतले आफ्ना छिमेकी मुलुकबाट भित्रिने लगानीमा कडाइ गरेको छ । भारतले मुलुकका कम्पनीमा कुनै विदेशीले लगानी गर्न सरकारको अनुमति लिनु पर्ने नियम अघि सारेको छ । यससँगै स्वचालित मार्गबाट कुनै पनि विदेशी कम्पनीले भारतीय कम्पनीलाई किन्न सक्ने छैनन् । भारतका एक वरिष्ठ अधिकारीले यो संकटको अवस्थामा बाध्यताको फाइदा उठाउँदै कुनै विदेशी कम्पनीले आफ्ना कम्पनी किनेको हेर्न नचाहने भएकाले यस्तो निर्णय गरिएको बताएका छन् ।

यद्यपि यो नौलो नियम भने होइन । यसअघि नै भारतले बंगलादेश र पाकिस्तानमाथि यस्तो प्रतिबन्ध लगाएको थियो । अहिलेसम्म यो नियम चीन, भुटान, अफगानिस्तान, म्यानमार र नेपालको लागि भने थिएन । अहिले भारतले गरेको यो निर्णयलाई भारतमा चीनको लगानी रोक्ने उद्देश्यको रुपमा हेरिएको छ ।

१२ अप्रिलमा विपक्षी दल कांग्रेसका नेता राहुल गान्धीले सामाजिक सञ्जाल ट्वीटरमार्फत मुलुकमा विदेशी लगानीको विषयलाई लिएर लगानीको नियममा कडाइ गर्नुपर्ने बताएका थिए ।

उनले ट्वीट गर्दै लेखेका थिए – अर्थतन्त्रको अवस्था कमजोर भएकाले भारतीय कम्पनी कमजोर बन्ने र विदेशी कम्पनीले सहजै किन्न सक्ने भन्दै यो अवस्थामा कुनै पनि विदेशी कम्पनीलाई भारतीय कम्पनी किन्न दिन नहुने बताएका थिए । सोही सुझावको आधारमा शनिबार सरकारले यस्तो निर्णय गरेको थियो ।

स्रोत : बीबीसी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment