Comments Add Comment

चीनले बनाउँदैछ १ लाख दर्शक अट्ने विश्वकै ठूलो रंगशाला (भिडियोसहित)

चीनको ग्वान्झाउमा विश्वकै सबैभन्दा ठूलो रंगशाला बन्ने भएको छ । चिनियाँ फुटबल लिगको ८ पटकको च्याम्पियन क्लब ग्वान्झाउ एभरग्राण्डेले १ लाखभन्दा धेरै दर्शक क्षमताको फुटबल रंगशाला बनाउन लागेको हो ।

विश्वको सबैभन्दा ठूलो यो फुटबल रंगशालाको निर्माण सन् २०२२ मा सम्पन्न गर्ने योजना रहेको छ ।

कमलको फूल आकारमा डिजाइन गरिएको यो रंगशालाको निर्माण लागत १ अर्ब ७० करोड अमेरिकी डलर रहेको छ । गत बिहीबारदेखि यो रंगशालाको निर्माण कार्य सुरु भएको छ । यो रंगशालाको डिजाइन चर्चित अमेरिकी डिजाइनर हसन सइदले गरेका हुन् । फूलको सहर भनेर चिनिने ग्वान्झाउ सहरको प्रतीकको रूपमा यो रंगशाला रहने बताइएको छ ।

रियलस्टेट कम्पनी एभरग्रान्डेले गत हप्ता गरेको पत्रकार सम्मेलनमा उक्त सर्वाधिक ठूलो रंगशालाका अतिरिक्त चीनका अन्य भागमा ८० हजारदेखि १ लाख दर्शक क्षमतासम्मका ३ देखि ५ वटासम्म रंगशाला बनाउने जनाएको थियो । यो कीर्तिमानी रंगशालालाई विश्वको चर्चित ल्याण्डमार्कको रूपमा विकास गर्ने र चिनियाँ फुटबल विश्वव्यापी बनेको सन्देश दिइने एभरग्राण्डेले जनाएको छ ।

स्मरणरहोस् चीनले सन् २०२१ को क्लब विश्वकप फुटबल तथा सन् २०२३ को एसिया कप फुटबलको आयोजना गर्दैछ ।

सन् २०२१ को गृष्मयाममा क्लब विश्वकपको आयोजना हुनेछ । तथापि, कोरोना भाइरस महामारीका कारण युरोपियन च्याम्पियनसीप तथा कोपा अमेरिका फुटबल प्रतियोगिताको मिति सरेका कारण क्लब विश्वकप निर्धारित समयमा हुने नहुने अनिश्चित बनेको छ ।

स्मरण रहोस् अहिले स्पेनिस क्लब बार्सिलोनाको होमग्राउण्डको रुपमा रहेको क्याम्पनोउ रंगशाला विश्वको सबैभन्दा ठूलो रंगशालाको रुपमा रहेको छ । यो रंगशालामा ९९ हजार ३५४ दर्शक अट्दछन् ।

एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment