Comments Add Comment

आमाको पाउ छोउँ कि सासूको ?

बच्चैदेखि म साह्रै चञ्चले र जिद्दी स्वभावकी थिएँ । या भनौं मैले भनेका कुरा हुनैपर्ने हठी स्वभावमा म सिद्ध थिएँ । आमाले मलाई ती सबै बानी छोड्न अक्सर गाली गर्दै सम्झाउनुहुन्थ्यो जसलाई मेरो बालमस्तिष्कले सही ढंगले ग्रहण गर्न त्यसबखत असमर्थ रह्यो । अहिले ती अतितका बिस्कुन केलाउँदा निर्मम हाँसो हाँस्न बाध्य हुन्छु ।

मलाई नराम्रो लागेको, म दुखी भएको र मलाई रिस उठेको कुरा सबैभन्दा पहिले आमाले महसुस गरिहाल्नुहुन्छ। म पछि परिवारमा एउटा सानो भाइ छ । मेरो भाइ सानै हुँदा बाबा विदेश जानुभयो । तत्पश्चात हामीलाई असाध्यै माया गर्ने हजुरबुबाले पनि संसार छोडेर जानुभयो । त्यस घटनापछि हामी काठमाडौं बस्न थाल्यौं ।

मेरी आमाले बुबा-आमाको कर्तव्य निर्वाह गरी साह्रै दुःखको साथ हामी दिदीभाइ राम्रो पर्वरिसका साथ हुर्काउनुभयो । धेरै कठिन घडीहरुमा सहजै हाँसीहाँसी हामीलाई हुर्काउनुभयो । आफूभित्र खड्किएका कष्ट र श्रीमानबाट भौतिक दुरिमा रहँदाका असह्य पीडाहरु हामीलाई महसुस हुन दिनु भएन ।

मैले पनि धेरै पीडाहरू आफूभित्र लुकाएर कहिले आमालाई थप पीडा थपिदिने अमर्यादित हर्कत गरिनँ । सायद आमाले गरेका अनगिन्ती दुःख-संघर्ष देखेर पनि होला, ‘म आज धेरै महिला दिदीबहिनीहरूको कुरा सजिलै बुझ्ने तथा त्यसलाई सहि ढङ्गले महसुस गर्नसक्ने भाकी छु ।’

अझै याद छन् ती दिनहरू, बिहानै आमाले जबरजस्ती उठाएर खाटका छेउमा पानी राखिदिनुहुन्थ्यो अनि फ्रेस भएर हतार-हतार किचनतिर लम्किन्थें । आमाले भ्याइनभ्याइ एकपछि अर्को काम गर्दै हामीलाई तयार गरेर स्कुल पुर्‍याउनुहुन्थ्यो । म निकै अटेरी र मनमोजी थिएँ । बेलुकी पनि आमाले नभनेसम्म आफैं पढ्न हतपत बस्दिनथेँ । मेरो उही पुरानो बानी देखेर आमा आजित हुनुहुन्थ्यो । उहाँ गाली गर्दै सम्झाउनुहुन्थ्यो । म लाढिन्थें, रिसाउँथें र रुन्थें पनि । आज आएर बुझ्दै छु, हो आमा जस्तो अरू कोही हुँदैन रहेछ । अझ मेरी आमा त देवी नै हुन् । सबैका आमा देवी हुन्छन् । यो अकाट्य सत्य पनि हो ।

ती दिनहरूलाई केलाएर सम्झँदा झल्यास्स हुन्छु, स्कुल जाँदा मलाई कपालमा तेल हालेको फिटिक्क मन नपर्ने तर आमालाई मेरो कपालमा अलिकति भए पनि बासना आउँछ भनेर अमलाको तेल हालेर कपाल अनिवार्य रुपमा कोरिबाटी गरिदिनुपर्ने ।

कहिलेकाहीँ त रुँदै-रुँदै स्कुल पनि गएको सम्झन्छु । सधैँजसो खाजा र नास्ता बोकेर ब्रेक टाइममा स्कुलको गेटबाहिर पर्खंदै सयौं बच्चाहरुबीच मलाई नदेखुन्जेल निर्निमेष म आउने कक्षाकोठातिरै बेचैनी हेराइ हेर्नुहुन्थ्यो । उसैगरी बेलुकीपख स्कुल छुट्टी भैसकेपछि पनि मेरी आमाका एकजोर आँखा मेरो पर्खाइमा अनयासै बेचैन हुन्थे ।

मलाई अर्को मन नपर्ने आमाको बानी भनेको नुहाउनेबित्तिकै घाममा राखेर तातो तोरीको तेलले शरीर मसाज गर्दै कान, कपाल र शरीरभरि छपक्कै तेल लगाइदिनुपर्ने । आजसम्म पनि आमा त्यही पुरानो बानी उसैगरी पालन गर्दै आउनुभएको छ । र, म अझसम्म पनि उसैगरी तेल नलगाउन अनुरोध गर्छु । अन्त्यमा हार मेरै हुन्छ र जित आमाको ममताको हुन्छ । यस्ता धेरै कुराहरू छन् जुन लेख्न बसेँ भने एक मात्र हैन, दर्जनौं ठेलीका पुस्तकहरुमा पनि व्यक्त गरेर सकिन्न ।

आमाको ममताको प्रसंगमा एउटा कथा प्रचलित छ । पौराणिक कालको देवपत्तन नगरमा सगुरी र निगुरी नामका दुई नारी बस्थे । अचानक एउटीको छोरो हरायो, अर्कीले भेट्टाई । सगुरी र निगुरी नामका ती दुई नारी एउटा छोराको बीचमा आए । उक्त छोरालाई दुवैले आफ्नै सन्तान भएको दाबी गरे ।

अब न्यायका लागि न्यायाधीश अर्थात राजा कहाँ जानुपर्ने भयो । उक्त मुद्दा फैसलाका लागि आफूकहाँ आउँदा राजा स्वयंलाई पनि फसाद पर्‍यो । के गर्ने, कसो गर्ने ? भन्ने लामो अलमलपछि राजाले एउटा निष्कर्षमा पुग्दै दुवैसँग प्रश्न गरे- अब यो बालकलाई अचानोमा राखेर बीचबाट चिरेर दुई भाग लगाई एक-एक भाग बाँडिदिन्छु ।’

राजाको यस्तो बचन सुन्नेबित्तिकै सगुरीको ममता उर्लिएर आयो । उनले भनिन्-बरू मलाई मेरो छोरा चाहिँदैन, उसलाई नकाट्नू । तर निगुरी बालकको आधा शरीर भए पनि स्वीकार गर्न तयार भइन् । यसबाट राजाले उक्त सन्तान सगुरीको नै भएको थाहा पाए ।

यो कथनले आमाको ममता, स्नेह, त्याग गर्न सक्ने शक्ति तथा अगाध प्रेमलाई स्पष्ट पार्छ । भलै यस कथाले आमाको ममताको खुलेर वकालत गर्न केही हद असमर्थ होला तर सैद्धान्तिक दृष्टिकोणबाट हेर्दा आमाको ममतालाई न्यायोचित भने गरेको छ ।

आमाको कुरा गर्दा एउटा प्रख्यात हिन्दी भनाइ छुटाउन मिल्दैन-

‘नारी निंदा मत करो नारी नर की खान, नारी से पैदा हुए तुलसी सुर खुमान’ अर्थात् नारी जातिको निन्दा कहिल्यै नगर्नू, उनीहरूको अवहेलना पनि नगर्नू किनभने नारी भनेका पुरुषका स्रोत हुन् ।

तुलसीदास, सुरदासजस्ता विद्वानहरु पनि नारीकै कोखबाट जन्मिएका हुन् । नारी अर्थात् आमाको महिमालाई वेद, पुराण र बाइबलजस्ता प्रसिद्ध धर्मशास्त्रमा उच्चस्थानमा राखेर व्याख्या गरिएको छ ।

जन्मदाता एवं पालनकर्ता भएका कारण पूज्यहरूमा पनि अति पूज्य जनक तथा पिता कहलाउँछन् । जन्मदाताभन्दा अन्नदाता पिता श्रेष्ठ मानिन्छन्। त्यसभन्दा सय गुणा श्रेष्ठ एवं वन्दनीय माता हुन्छिन् किनभने उनी सन्तानलाई गर्भधारण तथा पोषण प्रदान गर्छिन् भन्ने कुरा ब्रह्मवैवर्त पुराणमा समेत उल्लेख छ ।

‘कुपुत्रो जायेत क्वचिदपि कुमाता न भवति’ भनिएकाले तीनै लोकमा आमा समान दोस्रो गुरु कोही छैन् । नारी मातृदेवता हुन् । शास्त्रमा आमाको गौरव गुरुभन्दा दस लाख, आचार्यभन्दा लाख तथा पिताभन्दा हजार गुणा बढी हुने कुरा बताइएको छ ।

बच्चामा आमाको मुख हेर्ने दिन उल्टै मलाई टीका लगाइदिएर, आशिष दिँदै दक्षिणा दिनुहुन्थ्यो । त्यही दक्षिणा थोरै भयो भनेर आमासँग फेरि झगडा गरेर माग्थेँ। आमासँग पैसा हुन्थ्यो-हुन्थेन तर केही नभनीकन अरू पैसा हातमा हाँसीहाँसी थमाइदिनुहुन्थ्यो । मेरो आमा मलाई कति माया गर्नुहुन्छ त्यो म भन्न सक्दिनँ तर आफूभन्दा चाहिँ धेरै गर्नुहुन्छ भन्ने म आत्मविश्वासपूर्वक भन्नसक्छु ।

वैशाख कृष्ण औंसीका दिन हिन्दू संस्कृतिमा आमाको मुख हेर्ने दिनका रूपमा परिचित छ । यो दिनलाई अर्को शब्दमा मातृऔंसी, मातृदिवस, मातातीर्थ औंसी आदि पनि भनिन्छ । उक्त दिन आफूलाई जन्म दिने आमाको मुख हेर्न छोराछोरीहरू आमा भएको ठाउँमा गएर आफ्नो शक्ति अनुसारका खाद्यपदार्थ खुवाउनुका साथै उपहार दिएर आमालाई प्रसन्न तुल्याउँछन् । नौ महिनासम्म शिशुलाई गर्भमा धारण गरेर जन्मदिने आमा वास्तवमै महान् छिन् । र, यो कुरा लाखौं पटक लेखे पनि त्यो अर्थहीन हुनजान्छ । किनभने, आमाको वर्णन कलमले कापिमा गरेर सकिन्न ।

हृदयको पानामा ममताको लयले प्रेमको धुन बजाएर मात्र आमाको महिमागान गाउन सकिन्छ । आफ्नो सम्पूर्ण छाप शिशुमा दिएर आमाले जानी-नजानी सन्तानको सृष्टि गरेकी हुन्छिन् । जन्मपछि पनि शिशुको हेरचाह गरेर पूर्ण मनुष्य निर्माण गर्ने आमाभन्दा पूजनीय संसारमा कोही हुँदैनन् ।

आमाको गुणगान शब्दमा व्यक्त हुन कदापि सक्दैन । यसका लागि भावनात्मक एवं आत्मिक भाषाको आवश्यकता हुन्छ किनभने आमा जगद्धात्री जगत जननीकी साकार स्वरूप हुन् । यस्ती आमाको त्याग, तपस्या एवं बलिदानबाट नै सृष्टिले निरन्तरता पाएको छ । आमाविना सृष्टि असम्भवप्राय छ । अतः सन्तानले आमाप्रति सधैं उदार हुनुपर्छ । आमाको उपकाररूपी ऋण कसैगरे पनि तिर्न सकिँदैन तथापि आमाप्रति हार्दिक श्रद्धा प्रकट गरेर केही मात्रामा भए पनि मातृऋणको बोझ हलुका गर्न सकिन्छ ।

आज आमासँग टिक-टक बनाउने दिन अर्थात् आमाको मुख हेर्ने दिन अहिले कोरोनाको कहरले गर्दा धेरै मान्छेहरूले आफ्नो आमाको मुख भिडियो कल मार्फत मात्र हेरेर शुभकामना दिनुपर्ने बाध्यता छ । सुन्दा समेत धेरै दु:ख लाग्छ, अवस्था निकै कठिन पनि भइसकेको छ ।

आमालाई आजको दिनमा उपहार दिन सायद नै यो संसारमा केही होला, सायद नै मैले जीवनभरि कमाएर पनि आमाको चरणमा राखिदिएँ भने उहाँले मलाई दिएको ममता र गुणको ऋण तिर्न सकुँला मनमनै बाचा गरेँ, एकदिन तिमीले गर्व गर्नलायक उदाहरण छोरी हुनेछु ।

बन्द कोठाभित्रको बत्ती बन्द गरेर, मैले प्रस्टसँग देख्न सक्ने आफूभित्रको अन्धकार अनि सपनाका फिक्का रङहरुमा मेरी आमाले रङ्गीन सपना र प्रकाश छरिदिइन् । म ती हरेक सपना पूरा गर्ने सफल प्रयत्नमा लाग्नेछु ।

आज आमाको खुट्टा छुन खोज्दै गर्दा अब विवाह गरेर सासुको छुनु भनेर मलाई फेरि जीवनको अर्को पाटो देखाउनुभयो । अर्को दायित्व र कर्तव्यबोध गराइदिनुभयो । आमाको त्यो वाक्यांशले म केहीबेर भावविह्वल भए । कसरी आफ्नो मुटुमा ढुङ्गा राखेर आफूभन्दा प्यारो सन्तानलाई अरुको बनाउन सक्नुभएको ! यो यथार्थको अर्को पाटो हो । र, त्यही पथमा आफू हुँदै आफ्ना सन्तानलाई पनि हिँडाउन एउटी आमा विवश छिन् ।

संस्कृतमा आमा बुझाउने ‘माता’ शब्द अत्यन्त प्रिय मात्र होइन कर्णप्रिय पनि छ । ‘मा’ भन्नाले शरीरको धारण गर्ने माताको महत्तालाई बुझाउँछ ।’ यस्तै ‘आपदि मातैव शरणम्’ अर्थात् आपतका बखत माताको सम्झना गरिन्छ । कतै लडियो वा ठक्कर लाग्यो भने हाम्रो मुखबाट ‘ऐया ! आमा’ भन्ने वाक्यांश निस्किहाल्छ ।

अझ भनौं अप्ठ्यारो परिस्थितिमा मुखबाट निस्कने पहिलो शब्द नै ‘आमा’ हो । ‘मात्रा सम नास्ति शरीर पोषणम्’ अर्थात् प्राणीका लागि माताले जस्तो हेरचाह र पोषण प्रदान गर्ने अरु कोही हुँदैनन् । मानिसमा मात्र नभै अन्य प्राणीमा पनि आमाको भूमिका प्रसंशनीय छ ।

एउटा बच्चाले जन्मलिने बित्तिकै पहिलो भाव आमा प्रकट गर्छ, जसलाई उसका अवचेतन र अवयबहरुबाट बैज्ञानिक प्रयोगले पुष्टिसमेत गरिसकेको छ । मलाई पनि यो कुरामा गर्व छ कि मैले पनि जन्मपश्चात पहिलो भाव ‘आमा’ व्यक्त गरेकी थिएँ । मेरो जीवन एक अर्थमा सार्थक पनि भएको महसुस म गरिरहेकी छु ।

अर्को एउटा दर्शन दिएर म यी कलमसँग प्रार्थना गर्छु- मेरो कारणले अन्जानमा पनि बुबा आमालाई दुःख नहोस् । मेरो कापिँरहेको हातले यति मात्र लेख्नसकेँ । हुन पनि मलाई लेख्न आउँदैन, बनावटी लेखेर आमाप्रति छल गर्न म सक्दिनँ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment