Comments Add Comment

प्रत्येक दिन बनोस् आमाको मुख हेर्ने दिन

हरेक महिलामा मातृत्वको चाहना हुन्छ र सन्तान जन्माउने क्रममा आमाले आफ्नो ज्यान दाउमा राख्छिन् । सन् २०१६ को नेपालको जनसांख्यिक तथा स्वास्थ्य सर्वेक्षण अनुसार नेपालमा प्रसूतिका क्रममा एक लाख जीवित शिशुको जन्ममा दुई सय ३९ आमाले ज्यान गुमाइरहेका छन् ।

नेपालका करिब ४१ प्रतिशत महिलाहरूले अझै पनि घरमै सुत्केरी गराउने गरेका छन् । यसले उनीहरूको स्वास्थ्य जोखिममा परेको छ ।

सर्वेक्षण अनुसार शिशु मृत्युदर प्रतिहजार जीवित जन्ममा ३२ जना र पाँच वर्षभन्दा मुनिको बाल मृत्युदरप्रति एक हजार जन्ममा ३९ रहेको छ । यो मृत्युदरले नेपालमा प्रत्येक २५ मध्ये एक बच्चाको पाँच वर्षको जन्मदिन मनाउन नपाउँदै मृत्यु हुने गरेको छ ।

प्रदेशका आधारमा हेर्दा पाँच वर्ष मुनिका बच्चाहरूको मृत्युदर प्रतिएक हजार जन्ममा २७ छ भने प्रदेश ७ मा ६९ छ । त्यस्तै, एस.एल.सी. वा सोमाथि शिक्षा हासिल गरेका आमाहरूबाट जन्मेका बच्चाहरू प्रतिएक हजारमा २१ को मृत्यु हुने गरेको तथा शिक्षा हासिल नगरेका आमाहरूबाट जन्मेका बच्चाहरू प्रतिएक हजारमा ६० को मृत्यु हुनेगरेको देखिएको छ । प्रसूतिको बेला शिशुको मृत्यु हुँदाको पीडा आमाको लागि सर्वाधिक अकल्पनीय हुन्छ । जति कस्ट र संघर्ष गर्नुपरे पनि सन्तानलाई बेहिसाब हार्दिकताका साथ हुर्काउने मुख्य भूमिका आमाकै हुन्छ ।

समाजको विधि–विधान विपरीत विनाबिहे आमा बनेर सगर्व सन्तान हुर्काउने कुमारी आमादेखि टेस्टट्युब विधिबाट बच्चा जन्माएर ममता वात्सल्यको तृष्णा मेट्ने आमाहरू पनि छन् । पैसा लिएर अरुको शिशु जन्माइदिने अप्राकृतिक आमा (सेरोगेट मदर) को अभ्यास पनि नेपालमा भित्रिसकेको छ । विदेशतिर त समलिंगी महिला र पुरुषले पनि बच्चा स्वीकार गरेर आमाबाबुको चाहना पूरा गर्ने कानुनी अधिकार समेत पाएका छन् । परिवारका भाउजु, फुपु र बुबाहरूले आमाको भूमिका निर्वाह गरेका नेपाली समाज पनि बदलिँदो जीवनशैलीका कारण त्यस्तो अभ्यासबाट टाढा नभएको अनुमान गर्न सकिन्छ ।

अब्राहम लिङ्कनले भनेका छन् ‘आमाको काखमा भएको मान्छे कहिले दुःखी हुँदैन ।’ एउटा सन्तानको लागि आमा प्रेम र विश्वासको बास्केट हो । प्रेम र विश्वासको बास्केटमा हिंसाले कुनै ठाउँ पाउँदैन । आमा आफैँमा एक महान् शब्द हुन् । अझ भनौँ आमा शब्दकोषको एक शब्दभन्दा बढी प्रेम र मायाकी पर्याय हुन् ।

निस्वार्थ मायाको पाठ सिकाउने आमाभन्दा ठूलो व्यक्ति संसारमै कोही हुँदैन । आमा धरती हुन् । किनभने आमाले धरतीले झैं सहनशील भएर छोराछोरीलाई पालनपोषणका साथ सुरक्षा प्रदान गर्छिन । आमाको महिमा अपरम्पार छ । आमालाई भगवानको जिउँदो रुप समेत भनिन्छ । आमाको त्याग, तपस्या एवं समर्पणकै कारण हामी सफल हुन्छौँ । आमाको मायालाई कसैसँग तुलना गर्न सकिँदैन ।

९ महिनासम्म आमाले हामीलाई पेटमा पाल्छिन । गर्भावस्था भरी वाकवाकी सहन्छिन । खुट्टा सुन्याइसुन्याई पेटको छाला तन्किउन्जेलसम्म बोक्छिन् । दुःख, पीडा, आँशु, पसिना र रोदन सहेर पनि हामीलाई केही नहोस् भन्ने चाहन्छिन् । सुत्दा कोल्टे परेर सुत्छिन्, पेटभित्र नानीले हानेको लात्तीले उनको भोक उड्छ ।

त्यसपछि मुटु फुट्नेगरी व्यथा सहेर हामीलाई जन्माउँछिन । उनी हाम्री नर्स बन्छिन् । छातीको दशधारा दूध चुसाएर हुर्काउँछिन्, उनी हाम्री भान्से बन्छिन् । धाइ बन्छिन्, पुलिस बनेर सुरक्षा दिन्छिन्, गुरुआमा बनेर कखरा सिकाउँछिन्, ड्राइभर बनेर घुमाउन लैजान्छिन्, प्रशंसक बनेर प्रशंसा गर्छिन्, हाम्रालागि संघर्ष गर्छिन्, हाम्रालागि अहोरात्र खट्छिन, डाक्टर बनेर स्वास्थ्यको ध्यान राख्छिन् ।

आमा ईश्वरको कृपा हुन् । विनामागेको पूजा हुन्, ‘दुआ’ हुन्, भाकल हुन् । आमा सधैँभरि जाँतो र कोल जस्तै घुम्दै गरिन्, आफूले सधैँ तीतामीठा कुरा सुन्दै गरिन् । कहिलेकाहीँ आमा उदास हुन्छिन्, बाबादेखि टाढा हुन्छिन् फेरि पनि बालबच्चाहरूको अझ नजिक हुन्छिन् । तर पनि यसको बदलामा हामीसँग केही माग्दिनन् । आमाले एउटा लक्ष्मण रेखा बनाइराखिन् । न कहिले मागिन् हिरामोती न कहिले मागिन् सुनचाँदी, न त कुनै चम्कने किरण । आमाले सधैँ चाहिनन् त्यो घरको खुसी, जुन घरमा थिए उनका लालाबाला ।

आज वैशाख कृष्णपक्षको औँसी यिनै महिमा बोकेकी आमाको मुख हेर्ने दिन अर्थात् मातृऔँसी । शास्त्रहरूमा आमालाई पिताभन्दा उच्च स्थानमा राखिएको पाइन्छ । यसदिन यसरी श्रद्धा, भक्ति, सम्मान र आदर गरिएकी आमालाई मनपर्ने खानेकुरा तथा उपहार दिई छोराछोरीहरूले आमाबाट शुभ आशीर्वाद ग्रहण गर्ने चलन छ ।

आमाप्रति विशेष भावयुक्त सम्मान गरिएको हुँदा यसदिनलाई मातातीर्थ औँसी भन्ने गरिन्छ । आज आमाबाट टाढा रहेका सन्तानहरू आमालाई भेट्न पुग्छन् । विभिन्न कारणले आमालाई भेट्न नपाएकाहरूले भने सञ्चारका साधनहरू मार्फत सम्झने गर्छन् भने आमा नभएकाहरूले पनि आमाको आत्माको शान्तिको कामना गर्दै आज श्राद्ध–तर्पण गरी मातृत्वको स्मरण गर्छन ।

सामाजिक सञ्जालमा कहिल्यै नसम्झिनेले पनि आजको दिन सम्झेको देखिन्छ । यसरी हेर्दा आमालाई सामाजिक सञ्जालका भित्ताहरूमा मात्रै सजाएर आमा सम्झिने भड्किलो प्रवृत्तिको विकास भएजस्तो पनि लाग्छ । तर, जे होस् कम्तीमा वर्षको एकदिन भएपनि आफ्नी आमा भए नभएको आभास त गराउँछ सामाजिक सञ्जालले ।

नियतिले आमासँग टाढिएर बसेकाहरूले आमालाई मनको भित्तामा सजाउने सुन्दर मनको विकास हुनुपर्छ । पछिल्लो समय यो एकदिन सानो पर्व भए पनि सम्बन्धलाई प्रगाढ बनाई हृदयको ममतालाई नजिक बनाउन सकेको चाहिँ पक्कै छ ।

सन्तानको खुसीका लागि आमाले आफ्नो खुसीको बलि दिएका उदाहरणहरू प्रशस्तै छन् । तर, बढ्दो पश्चिमीकरण र तिनका मूल्य–मान्यता अँगाल्ने होडमा धेरै घरका आमाहरू अवहेलनामा परिरहेका छन् । आफू सक्षम नबनुन्जेल काखमा लुटपुटिने र सक्षम बनिसकेपछि तिनै आमालाई साहाराविहीन बनाउने सन्तानहरू बढिरहेका छन । हाम्रै समाजमा पनि आमाहरू छोराबुहारीको दुव्र्यवहार सहेर बसिरहेका देखिन्छन् । छोराबुहारी आरामदायी सवारीमा हुइँकिरहँदा सडकका पेटीमा आँशु बगाउँदै बसेका आमाहरू हामीले देखेका छौँ ।

भाव विचारहरू व्यवहारमा भने लागु गर्न नसक्दा आफ्नै सन्तानबाट उपेक्षित बनेर सहाराविहीन भएका आमाहरू आज वृद्धाआश्रममा भेटिने गरेका छन् । प्राण जत्तिकै माया ममता दिएर हुर्काएका सन्तानले जब बुढेशकालमा वा अशक्त अवस्थामा अवहेलना गर्छन् । त्यतिबेला जुनसुकै आमाको पनि मन कुँडिन्छ । छोराछोरीको रेखदेख र स्याहार सुसारमा बुढ्यौली जीवन कटाउने मीठो सपनामा रहेका आमाहरूले सबैभन्दा दुःखको अनुभूति त्यतिबेला गर्छन् । जब आफ्नै सन्तानबाट अपेक्षित र बोझ बनेर बस्नुपर्छ । अचेल आमा आफ्नै श्रीमान् र सन्तानबाट हेलामा पर्न थालेकी छिन् ।

आमाहरूकै लागि भनेर विभिन्न गाउँशहरमा वृद्धाश्रमको योजना तथा भवन निर्माण हुँदैछन् । बुढेशकालमा साहारा चाहिने बेलामा आमालाई उही एक्लोपनको उपहार दिने संस्कार मौलाउँदै छ । धन सम्पत्तिको बलमा अर्काको भरमा आमाबाबुलाई छोड्दा घडीको समय अनुसार खाना त खुवाउलान्, तर भोकमा खान पाउने छैनन् । यसतर्फ पनि आमाका सन्तानहरूले सोच्नुपर्ने बेला आएको छ ।

समय त खोला न हो आफूले गरेका कुराहरू आफैँलाई फर्किने समय पनि आउँछ । बगेको समयमा आफ्नो दायित्वबाट विमुख हुनु भनेको मानव हुनुको औचित्य गुमाउनु हो । आमाको माया र उहाँले खुवाउनु भएको दुधको भारप्रति हामी वफादार र इमान्दार हुनु जरुरी छ ।

सबैलाई कर्तव्य र जिम्मेवारीको ज्ञान हुन सकोस्, एकदिन मात्र होइन हरेक दिन आमाबाबुको मुख हेर्ने दिन मनाउन सकियोस् । सन्तानकी श्रृष्टिकर्ता, ममताकी खानी, लाखौँ दुःखकष्ट सहेर सन्तानकै खुसीमा दत्तचित्त रहने सम्पूर्ण आमाहरूलाई नमन ।

(सीमा कृषि विकास बैङ्क खस्यौली शाखा बुटवलकी वरिष्ठ शाखा प्रवन्धक हुन्)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment