Comments Add Comment

अफ्रिकामा औलोबाट मृत्यु हुनेको संख्या दोब्बर पुग्न सक्छ : डब्ल्यूएचओ

१२ वैशाख, काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले कोरोना भाइरस (कोभिड–१९) को महामारी चलिरहेको समयमा अफ्रिकामा औलोबाट मृत्यु हुनेको संख्या दोब्बर पुग्न सक्ने बताएको छ । अहिले महामारीको कारण औलो नियन्त्रणको काम प्रभावित भएकाले अफ्रिकामा यस वर्ष औलोबाट मृत्यु हुनेको संख्या सात लाख ६९ हजार पुग्न सक्ने डब्ल्यूएचओले बताएको छ ।

बिहीबारसम्मको तथ्यांकमा अफ्रिकामा यो भाइरसबाट संक्रमित हुनेको संख्या २६ हजार नाघिसकेको छ । अहिलेसम्म यो भाइरसका सात हजार संक्रमित निको पनि भइसकेका छन् भने एक हजार दुई सय ५० जनाको मृत्यु भइसकेको छ । मिडिया ब्रिफिङको क्रममा डब्ल्यूएचओको अफ्रिकाकी क्षेत्रीय निर्देशक मात्सिडिसो मोएटीले सबै मुलुकहरुलाई कोरोना भाइरसको महामारी नियन्त्रणका लागि औलो नियन्त्रणको कार्यक्रम पनि सँगसँगै अघि बढाउन आग्रह गरिन् ।

डब्ल्यूएचओको प्रक्षेपण अनुसारको औलो रोगबाट मृत्यु हुनेको संख्या यो क्षेत्रको लागि सन् २००० यताकै उच्च हुनेछ । सन् २०१८ मा अफ्रिकामा यो भाइरसका २१ करोड ३० लाख मानिस संक्रमित भएका थिए भने तीन लाख ६० हजार जना मानिसको यसको कारण मृत्यु भएको हो । मृत्यु हुनेको यो संख्या विश्वभर औलोबाट मृत्यु हुनेको ९० प्रतिशत हो ।

डब्ल्यूएचओका अनुसार विश्वभर फैलिएको कोभिड–१९ को महामारीको कारण अहिले औलोविरुद्धको औषधिको पहुँचमा ७५ प्रतिशत कमी आइसकेको छ ।यसले विशेषगरी पाँच वर्षभन्दा मुनिका बालबालिकाहरु बढी प्रभावित हुन सक्ने डब्ल्यूएचओले बताएको छ । सन् २०१८ मा औलोबाट मृत्यु हुनेमा दुई तिहाइभन्दा बढी पाँच वर्षमुनिका बालबालिका थिए ।

महामारीको कारण अहिले औलो नियन्त्रणको लागि झुल वितरण गर्न नसकिएकाले यो रोगबाट मृत्यु हुनेको संख्यामा उल्लेख्य वृद्धि हुन सक्ने बताइएको हो ।

स्रोत : अल जा जीरा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment